भारतीय कुटनीतिक नोट बारे परराष्ट्र मन्त्रालयको मौनता



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा भारतले कूटनीतिक नोट पठाएको पाइएको छ ।यद्यपि यस विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा बोलेको छैन ।

राष्ट्रियसभा अन्तर्गततको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण विडारीले भारतको कूटनीतिक नोट आएको बताउनुभयो । नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले असार १० गते कूटनीतिक नोट पठाएको उहाँले जानकारी दिनुभयो ।

भारतले कूटनीतिक नोट पठाएको विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा बोलेको छैन ।यद्यपि नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले सार्वजनिक रुपमा नेपालको दाबीलाई अस्वीकार गर्ने बताउँदै आएका छन् ।

यसअघि नोभेम्बर २०१९ मा भारतले जारी गरेको नक्सामा नेपाली भूभाग परेको भन्दै नेपालले विरोध गरेको थियो । कूटनीतिक नोट पठाउनुका साथै दुई पटक वार्ताको प्रस्ताव पनि गरेको थियो, तर भारत तयार भएन ।

प्रतिक्रिया दिनुहोस्