फर्केको क्रिकेटमा खुशीयाली धेरै बेर भएन



लन्डन, (एजेन्सी)

इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको पहिलो टेस्टमार्फत् विश्वमा क्रिकेट फर्केको छ । कोरोनाभाइरसको कारण क्रिकेट करिब ४ महिना स्थगित भएको थियो । क्रिकेट फर्केको खुशीयाली पनि धेरै बेर टिक्न सकेन । साउथाम्पटनमा वर्षा भएपछि पहिलो दिन १७.४ ओभरको मात्र खेल हुन सक्यो । त्यतिबेलासम्म इंग्ल्यान्डको एक विकेट गुमाएर ३५ रन बनाएको थियो । इंग्ल्यान्ड टिमले यसलाई निरासजनक समेत भनेको थियो ।

खेल बन्द रंगशालामा खेलिएको थियो । कोरोना भाइरसको कारण तापक्रम जाँच गरियो भने सावधानी पनि अपनाइएको थियो । इंग्ल्यान्डको कप्तानी बेन स्टोक्सले गरेका हुन् । नियमित कप्तान जोए रुट उनकी श्रीमतीले बच्चा जन्माएकी हुँदा साथ दिन गएका थिए । यसैले उनको स्थानमा स्टोक्सलाई कप्तानी जिम्मा दिइएको हो ।

खेल तीन घण्टा ढिलो शुरु भएको थियो । खेल हुन अघि सबै खेलाडी र पदाधिकारीहरुले कोरोनाभाइरसको कारण निधन भएका तथा वेस्ट इन्डिजका दिग्गज खेलाडी सर एभर्टन वीकेसको सम्झनामा मौनधारण गरेका थिए । यस्तै ब्ल्याक लाइभ्स म्याटर अभियानका लागि समेत उनीहरुले एक घुँडा टेकेर समर्थन गरेका थिए ।

इंग्ल्यान्डको तर्फबाट घरेलु खेलाडी डोम सिब्लीले डेब्यु गरेका थिए । तर उनी चौथो बलमै वेस्ट इन्डिजका बलर शेनोन गेब्रियलको बलमा बोल्ड भए । उनको डेब्यु खेल शून्यमै सीमित भएको थियो । यसपछि भने रोरी बन्र्स र जोए डेनलीले क्रिज सम्हाले । बन्र्स २० रनमा र डेनली १४ रनमा नटआउट रहेका छन् । वर्षा र उज्यालो कम भएको हुँदा खेल चिया समयपछि पनि खेल हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्