रिजल्ट नआउँदै कक्षा ११ को भर्ना ?

‘सूचना निकाल्दा मिडियालाई सोध्नुपर्ने ?’



  • ईश्वरराज ढकाल, काठमाडौं

माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित हुने अनिश्चित भइरहेका बेला राजधानीलगायत देशका केही माध्यमिक विद्यालयलले प्रि–अनलाइन रजिस्ट्रेसनको नाममा कक्षा ११ को भर्ना प्रक्रिया शुरू गरेका छन् ।

राजधानीका कहलिएका जिरो प्लस टु र केही माविले आफ्नो वेबसाइटमा अनलाइन प्रि–रजिस्ट्रेसन शुरू गरिसकेका छन् । परीक्षाफल प्रकाशित नहुँदै भर्ना प्रक्रिया शुरू गर्न मिल्छ त ? भन्ने प्रश्नमा अधिकांश विद्यालय सञ्चालकले भने कति विद्यार्थीले फारम भर्छन् भन्ने विषयको मूल्याङ्कन मात्र भएको दाबी गरेका छन् । राजधानीका अधिकांश नाम चलेका माविले अनलाइन भर्ना आह्वान गरेका छन् । परीक्षाफल प्रकाशित नभई भर्ना लिन नहुने सरकारी मान्यतालाई बिर्संदै मनपरीरूपमा भर्ना थालेका छन् ।

पछिल्लो समय तीन महिनाको विभिन्न शुल्कसहित १ लाख रुपियाँभन्दा बढी शुल्क बुझाउन अभिभावकलाई दवाब दिने ललितपुर खुमलटारको प्रिमियर स्कुलले कक्षा ११ का लागि प्रि–रजिस्ट्रेसन खुला गरेको छ । प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुलको नाममा वेबसाइटमा फारम र फेसबुकमा विज्ञापन गरेको छ ।

विशेष गरी राजधानीका ठूला भनिएका र राजनीतिक पहँुच बोकेका विद्यालयले प्रि–अनलाइन रजिस्ट्रेसन खुला गरेका छन् । बत्तीसपुतलीको गोल्डेनगेट, बागबजारको केएमसी, कोटेश्वरको सीसीआरसी, कमलादीको युनिग्लोबलगायतका विद्यालयले अनलाइन रजिस्ट्रेसन खुला गरेका छन् ।

सीसीआरसीले ई–सर्भिसबाट १ सय २५ रुपियाँ तिरेर फारम लिनसमेत सूचना जारी गरेको छ । उपत्यकामा कोरोना संक्रमण बढिरहेको अवस्थामा दूरदराज र घरमा बसेर तनाव झेलिरहेका विद्यार्थी अनलाइन रजिस्ट्रेसन गर्नुपर्ने व्यवस्थाले गर्दा थप तनाव पुगेको छ ।

कोभिड–१९ को संक्रमण देखिनासाथ सरकारले माग गरेको अवस्थामा ५ हजार कक्षाकोठामा क्वारेन्टाइन बनाउन दिने वचन दिएको हिसानले हालसम्म एउटा कोठा पनि दिन सकेको छैन ।

सरकारलाई कक्षाकोठा दिएर सहयोग गर्न नसक्ने र कक्षा १२ को कक्षा शुरू गर्न नसक्ने विद्यालयले विद्यार्थी संकलन गरेर आर्थिक अवस्था धराशयी भएका अभिभावकसँग दाम कमाउन भर्ना प्रक्रिया शुरू गरेका छन् ।

भर्ना प्रक्रिया शुरू गरेपछि राजधानीका दुई महानगपालिका शिक्षा शाखाले तत्काल अनलाइन रजिस्टे«सन रोक्न आग्रह गर्ने भएका छन् । काठमाडौं महानगरपालका शिक्षा शाखा प्रमुख मोती खनालले मनपरीरूपमा अनलाइन रजिस्ट्रेसन खुला गरेर भर्ना प्रक्रिया शुरू गर्ने विद्यालयमाथि कारबाही गर्ने बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डमा दर्ता भएको आधारमा सञ्चालित भएका जिरो प्लस टु र १–१२ तह सञ्चालन गरिरहेका विद्यालयले मनपरी अनलाइन रजिस्ट्रेसनका बारेमा कामपाले गम्भीर छलफल गर्ने विभागले जनाएको छ । परीक्षाफल प्रकाशित नहँुदै अनलाइन रजिस्ट्रेन खुला गरेको विषयमा राष्ट्रिय परीक्षा बोर्डले कामपा शिक्षा विभागलाई जानकारी गराएको थियो ।

नयाँ शिक्षा ऐन नआएको अवस्थामा यस्ता विद्यालयलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा निर्णय गर्न समस्या भएको खनालको भनाइ छ । उहाँले कसैले उजुुरी दिए लिखित स्पष्टीकरण सोधेर कारबाही गर्ने बताउनुभयो ।

ललितपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्र क्षत्रीले अनलाइन रजिस्ट्रेसन खुला गरेको विषयमा महानगरमा उजुरी आएको बताउँदै यस विषयमा छानबिन भइरहेको बताउनुभयो । उहाँले केही विद्यालयलाई अनलाइन रजिस्ट्रेसन खुला नगर्न निर्देशन दिइसकेको बताउनुभयो ।

अहिले हाम्रो काम त लकडाउनको समयमा विद्यालयले शुल्क माग गरेको र ठूला माविले कक्षा ११ को अनलाइन रजिस्ट्रेसन खुला गरेको उजुरी आउने गरेको बताउनुभयो ।

सरकारले विसं २०७६ सालको एसईई परीक्षा खारेज गरी विद्यालयलाई नै अन्तिम मूल्याङ्कन गरी शिक्षा समन्वय इकाइमा पठाउने र इकाइले विद्यार्थीको प्राप्ताङ्क प्रमाणित गरी बोर्डमा पठाउने तथा बोर्डले अक्षराङ्क प्रणालीमा परीक्षाफल प्रकाशित गर्ने व्यवस्था गरेको छ । बोर्डले साउनको दोस्रो साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहँदा राजधानीका केही विद्यालयले अनलाइन रजिस्ट्रेसन गरी भित्रभित्रै भर्ना प्रक्रिया थालेका छन् ।

१–१२ सञ्चालन भएका केही विद्यालयले त आफ्नै विद्यालयका १२ कक्षासम्म पढ्नैपर्ने गरी उर्दी जारी गरेको छ । केही जिरो प्लस टुले अनलाइन रजिस्ट्रेसन गरी परीक्षाफल प्रकाशित हुनुअघि नै भर्ना गरिसक्ने योजना बनाएका छन् ।

बोर्डको परीक्षाफलको प्रतीक्षामा रहेका केही विद्यालयले अनलाइन वा अन्य कुनै माध्यमबाट प्राप्ताङ्क अनाएसम्म भर्ना प्रक्रिया शुरू नगर्ने अडानमा छन् । हिसानका अध्यक्ष रहनुभएका रमेश सिलवालले भने आफूले कुनै गल्ती नगरेको र अनलाइन रजिस्ट्रेसनको सूचना नहटाउने जिकिर गर्नुभएको छ ।

रमेश सिलवाल-  
अध्यक्ष , हिसान

‘सूचना निकाल्दा मिडियालाई सोध्नुपर्ने ?’

हिसानका अध्यक्ष रमेश सिलवालले कहाँबाट कति विद्यार्थी आउन सक्छन् भन्ने उद्देश्यले आफ्नो वेबसाइटमा अनलाइन रजिस्ट्रेसन खुला गरेको बताउनुभयो ।

हिसानका पदाधिकारी र अन्य सदस्यलाई सरकार वा स्थानीय तहले निर्णय नगरेसम्म भर्ना प्रक्रिया शुरू नगर्न सल्लाह दिनुपर्ने अध्यक्ष सिलवालले नियमविपरीत अनलाइन रजिस्ट्रेसन खुला गर्नुभएको छ ।

तपाईं हिसानको अध्यक्ष, अहिले नै भर्ना प्रक्रियाको नाममा अनलाइन रजिस्ट्रेसन खुला गर्न आवश्यक छ त ? भन्ने प्रश्नमा ‘हामीले कस्तो विज्ञापन राख्ने ? भन्ने विषयमा मिडियालाई सोध्नुपर्छ ?’ भन्ने जवाफ दिनुभयो ।

गोल्डेनगेटले कहिले पनि विद्यार्थीको फोटो राखेर विज्ञापन नगरेको बताउने हिसान अध्यक्ष सिलवालले अनलाइन रजिस्ट्रेसनको सूचना जारी गर्दा पूर्वविद्यार्थी नवाज अन्सारीको नाम फोटो राख्नुभएको छ ।

विद्यार्थी लोभ्याउनकै लागि उहाँले आईओएम र बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका २०७६ सालको टपर विद्यार्थीको फोटो राखेर विज्ञापन गर्नुभएको छ । यसअघि सो उमाविले विज्ञापन गर्दा कहिले पनि विद्यार्थीको फोटो राख्ने गरेको थिएन ।

उहाँले भन्नुभयो– ‘भर्ना खुला गरेको सूचना जारी गर्दा त कहिले पनि विद्यार्थीको फोटो राखिनँ । तर, अहिले अनलाइन रजिस्ट्रेसन गर्दा विद्यार्थीको फोटो राखिएको छ ।’

उहाँले कस्तो नियम छ भन्ने विषयमा नसिकाउन आग्रह गर्दै भन्नुभयो– ‘हामीले भर्ना खुला गरेको होइन यस्तो सूचना राख्दा हुनै फरक पदैन ।’ हिसानका अन्य पदाधिकारीको भनाइ भने फरक छ । सरकारले निर्णय नगरेसम्म कुनै किसिमको अनलाइनमार्फत प्रि–रजिस्ट्रेसनको सूचना जारी गर्नुहुँदैन । अधिकांश सञ्चालकले अध्यक्षले नै नियम उल्लंघन गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्