भीडको साक्षी बन्दै प्रहरी, नियम तोड्दै सरकार नेतृत्वकै कार्यकर्ता



नेपाल समाचारपत्र, हेटौंडा

गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ । मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गर्ने गृह प्रशासनले चेतावनी दिएको हो ।

कोरोना संक्रमणको खतरा रहेको र हाल लकडाउन पूर्णरूपमा नखुलेर व्यवस्थित मात्र गरिएको भन्दै सरकारले ‘जरुरी कामबाहेक घरबाहिर ननिस्कन, निस्कँदा अनिवार्यरूपमा मास्क लगाउन, एक–अर्काबीच कम्तीमा २ मिटर सामाजिक दूरी कायम गर्न’ भनेको छ । यही तथ्यलाई मनन गर्दै कोरोना महामारीका कारण स्वास्थ्य मन्त्रालयले ‘भीडभाड नगर्न र भीडमा नजान’ सार्वजनिकरूपमा आग्रह गर्दै आएको छ ।

भीड नियन्त्रणका लागि प्रहरी तैनाथ पनि गरिएको छ । तर, हेटौंडाका प्रहरी पछिल्लो समय भीडको साक्षी बनेर बसिरहेका छन् । नियन्त्रणमा लिऔं त प्रधानमन्त्रीको समर्थनमा गरिएको प्रदर्शन, नलिऔं त भीड रोक्न सरकारले नै दिएको निर्देशन अवज्ञा हुने ।

सोमबार हेटौंडा बजारमा प्रदर्शन गरिरहेका युवा प्रधानमन्त्रीको समर्थनमा थिए । पार्टीभित्र राजीनामाको दबाब बढेपछि प्रम केपी ओली समर्थक हेटौंडा बजारका विभिन्न ठाउँका सडकमा उत्रिएका थिए । जब कि, महामारीकै कारण यसरी भीडभाड नगर्न सरकारले नै भनिरहेको छ ।

सोमबार र मंगलबार भएका प्रदर्शनका सहभागीले सामाजिक दूरी कायम गरेनन् । सरकारले एकातर्फ २५ जनाभन्दा बढीलाई एकैठाउँमा भेला नहुन भनेको छ भने अर्कोतिर सरकारकै समर्थनमा त्योभन्दा बढीको भीड देखिन थालेको छ ।

यसले गर्दा प्रहरीलाई अप्ठ्यारो परेको त छ नै, संक्रमणको जोखिमसमेत बढाइरहेको छ । विरोध र समर्थनमा शान्तिपूर्णरूपमा प्रदर्शन गर्न पाइने अधिकार संविधानले सुनिश्चित गरेको छ । तर, हाल यसरी प्रदर्शन गर्ने समय अनुकूल हो कि होइन भन्नेतर्फ सरकारकै नेतृत्व गरिरहेका पार्टी कार्यकर्ताले हेक्का राखेको पाइँदैन ।

वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारी विरोध कार्यक्रममा नियमित खटिँदै आउनुभएको छ । जारी लकडाउन अवधिभर विरोधका कम्तीमा २५÷३० वटा कार्यक्रम भएको उहाँले बताउनुभयो ।

सोमबार प्रधानमन्त्रीको समर्थनमा भएको कार्यक्रममा पार्टीका सयौं कार्यकर्ताको उपस्थिति रहेको उहाँले बताउनुभयो । रुकुमका नवराज विकको घटनालाई लिएर हेटौंडामा १५ वटासम्म कार्यक्रम भएको भण्डारी बताउनुहुन्छ । सुस्मिता केसी हत्या काण्डको विषयलाई लिएर सातवटासम्म कार्यक्रम भएको उहाँले बताउनुभयो ।

मंगलबार पूर्वमाओवादी नेता–कार्यकर्ताले नेकपा मकवानपुर पार्टी कार्यालय घेराउ गर्दा पनि खासै सामाजिक दूरी कायम नगरेको उहाँले दाबी गर्नुभयो । लकडाउन अवधिभर स्वतन्त्र युवाले गरेको सरकार विरोधी प्रदर्शन र अन्य केही कार्यक्रममा मात्र सामाजिक दूरी कायम भएको प्रनि भण्डारीले जानकारी गराउनुभयो ।

भीड नियन्त्रणमा चुके शान्तिसुरक्षा कायम गर्न नसकेको अपजस प्रहरीले मात्र खेप्नुपर्दैन, सरकारकै आलोचना हुन्छ । यही कारण प्रहरीले भीड नियन्त्रणलाई प्राथमिकता दिएर टोली खटाउने गरेको छ ।

‘सरकारकै समर्थनमा उत्रने भन्दैमा बल प्रयोग नहुने भन्ने हुन्न’, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन पाठकले भन्नुभयो– ‘कुनै बेला विरोधमा उत्रिएको भीडले अराजक रूप लिन सक्छ । त्यसलाई मध्यनजर गर्दै हामी कानुनको अधिनमा रहेर कारबाही गर्ने गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्