नेपालको परिवेशमा अबको शिक्षा



  • कमला रेग्मी

विश्वभर कोरोना भाइरसले पारेको विभिन्न प्रकृतिका प्रभावमध्ये शिक्षा क्षेत्रमा आफ्नै किसिमको अन्योलता छ । शिक्षा क्षेत्र धेरै भीडभाड र जमघट हुने ठाउँ हो । परिणामतः सरकारले रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ लाई आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गर्ने निर्णय गरिसकेको छ । वर्तमानमा भोगिरहेको अवस्था र आगामी दिनमा पनि आउन सक्ने सङ्कटअनुरूप शैक्षिक प्रविधिलाई कसरी विकास गर्ने भन्ने एउटा बहस शुरु भएको छ । नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा भनिए जसरी नै मुलुकलाई इन्टरनेटको पहुँचमा विस्तार गर्ने कुरा प्राथमिकतामा राख्नु अबको बाध्यात्मक आवश्यकता बनेको छ । यदि यसो भएमा अनलाइन शिक्षाका विषयमा आज भएका बहस स्वतः व्यावहारिक बन्न पुग्छन् । यसका विपरीत अहिलेकै अवस्थामा नेपालको परिवेशलाई हेक्का नै नराखीपूर्वाधारविहीन अवस्थामा आएका विकल्प सबै निरर्थक हुने शङ्का पनि उत्तिकै छ ।

अनलाइन कक्षा: हात्तीको देखाउने दाँत
एसईई शुरु हुने दिनबाट नै बन्दाबन्दीको अवस्थापश्चात् ५ लाख बढी विद्यार्थी परीक्षाको पर्खाइमा रहेका छन् भने अन्य लाखाँै विद्यार्थी घरमा बस्न बाध्य छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो तथ्याङ्कअनुसार ३५ हजारभन्दा बढी सामुदायिक विद्यालय रहेका छन् । हालैको एउटा अध्ययनअनुसार तिनीहरूमध्ये ६ प्रतिशत सामुदायिक विद्यालयमा मात्र इन्टरनेटको सुविधा छ । सरकारको अघिल्लो वर्षको योजनाबमोजिम प्रायः माध्यमिक तहसम्म सञ्चालन भएका विद्यालयमा इन्टरनेट सञ्जाल जडान गरिएका छन् तर यहाँ विद्यालयमा भन्दा पनि कति घर–परिवारसँग इन्टरनेट छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

ग्रामीण दूरदराजमा मोबाइलमा नेटवर्क नआएर डाँडातिर दगुर्नुुपर्छ । यसका लागि स्थानीय सरकारले उचित प्रबन्ध गर्न सक्छ । कतिपय ग्रामीण भेगमा सम्भव हुने भए गाउँलाई बन्द गराएर, आवतजावतको अवस्थालाई रोकेर विद्यालय खोल्न सकिएला पनि । इटालीको एउटा शहरले आफ्नो क्षेत्रमा कसैलाई आउन नदिने र बाहिर जान नदिने गरी सबैको स्वास्थ्य परीक्षण गरेजसरीव्यवस्था गरेमा केही सम्भव होला । अत्यन्तै विकट गाउँमा विद्यालय सञ्चालनमा समस्या नहोला तर यो पूर्ण जोखिमरहित र स्वस्थ वातावरणमैत्री हुनुपर्छ ।

दूरदराजको अवस्था र गरिबीको प्रताडनाका बाबजुद विद्यार्थी तथा अभिभावकमा मनोवैज्ञानिक असर देखिन थालेको पनि छ । भारत र नेपालमा पनि आत्महत्याका घटनालाई अनलाइन कक्षाको असरले बढायो भने त्यो गम्भीर विषय हो । शिक्षा प्रणालीलाई सुचारु गर्न सरकार, अभिभावक र विद्यार्थीले के कसरी भूमिका निर्वाह गर्न सक्लान् र स्थानअनुरूप कसरी विकल्पको छनोट गर्न थाल्ने भन्ने विषय अबको आवश्यकता हुनुपर्छ ।

विज्ञहरूले जे–जति विकल्प दिनुभए पनि यो शिक्षाभन्दा पनि बढी स्वास्थ्यमै गम्भीर हुनुपर्ने समय हो । जहाँसम्म एसईईलगायतका रोकिएका परीक्षाका बारेमा कुरा आइरहेका छन्, त्यो पनि भनिएजस्तो सहज देखिँदैन ।

पाठ्यक्रम विकास केन्द्रको प्राविधिक सहयोगमा टेलिभिजनबाट कक्षाहरू सञ्चालन त भइरहेका छन् तर टेलिभिजनको पहुँचमा आधाभन्दा बढी विद्यार्थी छैनन् । कतिपय विद्यार्थीसँग बन्दाबन्दीसँगै गाँउतिर छन् । इन्टरनेट छैन । इन्टरनेट चल्ने मोबाइल छैन अनि इन्टरनेट भएर पनि यो प्रविधिलाई चलाउने सीप छैन भने कसरी नेपालमा अनलाइन शिक्षा सम्भव हुन्छ र ? यो नेपालको वास्तविकता हो ।

यसर्थ सबैको पहुँचभन्दा बाहिर रहेको यो तरिका हात्तीको देखाउने दाँत मात्र हुन्छ । हाम्रो नेपालमा घाँटी हेरी हाड निल्ने गरी योजना बन्नुको साटो देखावटीरूपमा मात्रै यो अनलाइन कक्षा सञ्चालन भएको देखिन्छ । जसले सञ्चालन गरिरहेका छन्, त्यहाँ पनि शतप्रतिशत सहभागिता रहेको देखिँदैन ।

यसले विद्यार्थी र अभिभावकमा अनावश्यक बोझ र तनावलाई प्रश्रय दिएको देखिन्छ । अनलाइन, टेलिभिजन शिक्षा प्रभावकारी प्रविधि त हो तर सीमित वर्ग, क्षेत्र र भूगोलमा मात्र आधारित हुँदा यसले लक्षित वर्ग समेट्न सक्दैन । फलतः हुनेखाने र हुँदा खानेको खाडल गहिरो बन्छ ।

विद्यालय खोल्नु कति जायज ?
सरकारले श्रावण २६ गतेदेखि ३२ गतेसम्ममा विद्यालय तथा कलेजहरू सञ्चालन गर्ने भन्ने चरणगत योजनालाई पेस गरेको छ । अहिले निजी विद्यालयहरूले स्कुलहरू खोलेर पढाइ सुचारु गर्ने कुरा गरिरहेकै अवस्थामा जिम्मेवार भएर मनोवैज्ञानिक र प्राविधिक समस्यालाई सोच्नु आवश्यक छ । तर, यी सबै योजना हाम्रो मुलुकको कोरोना सङ्क्रमणको अवस्थामा आधारित हुनेमा दुई मत छैन ।

चाहे विद्यालयमा सेनेटाइजर राखियोस्, माक्स लगाउन भनियोस्, या त थर्मल गन लगाएरै पठाउन भनियोस्, के जीवनको सुरक्षाको प्रत्याभूति दिने क्षमता कुनै विद्यालयसँग, कुनै व्यक्तिसँग छ ? यदि कुनै विद्यालयमा कोही विद्यार्थी सङ्क्रमित भयो भने त्यसको परिणाम कस्तो हुन्छ ? त्यसपछिको जिम्मेवार को हुन्छ ?

रुसोको अवधारणाले ‘प्रकृतितर्पm फर्क’ भन्ने मान्यता राख्छ ।यसरी हेर्दा शहरलाई प्राकृतिक परिवेशको समस्या हो भने गाउँमा अनलाइन कक्षाको कुरा समस्या हो । घरमा बसेर विद्यार्थीहरू बर्बाद भए मात्र भन्ने कि घरमा के–के सिके, स्वतन्त्र हुँदा संसारका के–के कुरा जाने–बुझे भन्ने विषय प्रमुख हो ।

हामी एकातिर विद्यालयको चौघेराको शिक्षा मात्रै सर्वोपरि होइन भन्दै छौँ, अर्कोतिर बाह्रै महिनाको बाह्रै घण्टा विद्यालयभित्र कोच्याएर सिकाउनुपर्छ भन्ने अडानबाट हट्न हिच्किचाउँदै पनि छौँ । अब शिक्षामा सोच र तरिका दुवै बदल्नु पनि आवश्यक छ । अब जहाँ जे छ,त्यही स्थानीय आवश्यकताका आधारमा शिक्षालाई जोड्नु बुद्धिमानी हुन्छ । यो कार्यलाई गाउँपालिकास्तरीय विकासको योजनामा गाँस्न सकिन्छ ।

अर्को कोणबाट हेरौँ, सामाजिक दूरी कायम गरेर विद्यालय खोल्नुपर्छ भन्ने बहस कति सान्दर्भिक छ ?कोभिड–१९ महामारी उत्कर्षमा पुगेको बेला निजी विद्यालय सञ्चालकहरूलाई स्कुल खुलाउन हतारो हुनुका पछाडि आर्थिक मेसो टार्ने प्रपञ्च मात्रै हो ।विद्यालय तथा कलेजलाई अन्तिम अवस्थामा मात्रै खोल्नुपर्छ भन्ने कुरा नै जायज हुन्छ ।

हाम्रो पहिलो आवश्यकता के हो ?ज्ञान सिक्नलाई जोखिम मोल्ने किबाँचेपछि ज्ञान सिक्ने ?पहिलो कुरा त अभिभावकले कसरी आफ्ना छोराछोरीलाई विद्यालय पठाऊलान्? दोस्रो, यदि विद्यार्थी विद्यालयमा गइहाले भने पनि उनीहरुचञ्चल हुन्छन् । कक्षामा सामाजिक दूरी कायम गरेर पढाउने कुरा त ‘स्वतन्त्र चरीलाई पिँजडामा बन्द गरेर खुशी छ’ भन्नु जस्तो मात्रै हुन्छ ।

बरु विद्यार्थीको हात–हातमा पुस्तक पु¥याउनुपर्छ भनेर गाउँपालिका, वडास्तरीय सक्रियता बढाऔँ । घर–घरायसी काम सिकाउने तरिकालाई खोजौँ । अहिलेको देखिएको सबैभन्दा ठूलो समस्या भनेको इन्टरनेटको पहुँच नभएका क्षेत्र र विपन्न वर्गका परिवारमा नै हो । त्यसो भए यतिखेर सकेसम्म सामाजिक संस्कार र पारिवारिक भाइचाराका सन्देश पढाऔँ । अग्रजका अनुभवमा रम्न सिकाऔँ । हजुरबाबाट नातिले सिक्ने हिजोको ज्ञानको पुस्तान्तरणको आदतको जनचेतना जगाऔँ ।

घरका कुरा सिकाऔँ
अनलाइन कक्षाले राज्य साझा हो भन्ने अवधारणामा समेत प्रश्न उठाउनेछ । यसबाट इन्टरनेटको पहुँच भित्र र बाहिर डिजिटल प्रयोग गर्ने र नगर्ने बीचको वर्ग, समुदाय, क्षेत्र र भूगोलमा बस्नेहरूको बीचको नतिजामा समेत फरक उपलब्धि आउँदा दीर्घकालीन असर रहने देखिन्छ । विभिन्न सञ्चारमाध्यमबाट जनचेतना अभिवृद्धि गरी सोचाइमा थोरै भए पनि सकारात्मक ऊर्जा उत्पन्न हुन सक्छ । यसबाट बालमस्तिष्कमा थोरै भए पनि कोरोनाको त्रास कम हुन सक्छ । बरु यो समयलाई बालबालिकाले उनीहरूको जीवनमा गरेर खान सक्षम बनाउने तथा गुणात्मक विकास गर्ने गरी उपयोग गर्नु बढी प्रभावकारी हुन सक्छ । यसअन्तर्गत निम्न कार्य गराउन सकिन्छ

  •  बालबालिकालाई घरको काम सिक्न अभिप्रेरित गर्ने
  •  खाना पकाउनेदेखि कृषिजन्य क्रियाकलापमा संलग्न गराउने
  •  कृषिमा प्रयोग हुने उपयोगी सामग्रीहरूको निर्माणमा उत्प्रेरित गर्ने
  •  खेतबारीदेखि करेसाबारीसम्ममा रमेर सिर्जनात्मक काम गर्न लगाउने
  • गाईबस्नु चराउन, घाँस–दाउराको जीवनसमेतको ज्ञानमा भिजाएर प्रकृतिलाई माया र सम्मान गर्न उत्प्रेरित गर्ने
  •  आफ्नो चाडपर्व, धर्म, भाषा, संस्कृति, भेषभूषा आदिको सम्मान गर्न सिकाउने
  •  विद्यालयबाट सिक्ने शिक्षा मात्र पूर्ण ज्ञान नभएर जीवनबाट प्राप्त गरिने ज्ञान, सीप, व्यवहार, राम्रो आनीबानीलगायत सबै सिकाइलाई शिक्षासँग सामीप्य गराउने
  • आयुर्वेदजन्य औषधिज्ञानको शिक्षा सिकाउने आदि ।

कोरोना महामारीको असर कतिसम्म पर्छ भन्ने कुनै यकिन हुन नसक्दा विशेष गरेर स्नातकोत्तर तह र सोभन्दा माथिका लागि अनलाइन कक्षा एउटा विकल्प हुन सक्छ । स्नातक तथा माध्यमिक तहसम्मलाई रेडियो शिक्षा बढी प्रभावकारी हुन सक्ला । साना कक्षाका विद्यार्थीका लागि अहिले अभिभावक पनि घरमा हुनुहुन्छ र विद्यार्थी पनि घरमै छन् । उनीहरूलाई त घरमै सिकाउन–पढाउन सकिन्छ ।

हिजोको शिक्षामा हजुरबाले धूलो माटोलाई पिरामा राखेर छेस्काले क–ख, क–का, अ–आ, १–२ आदि आधारभूत कुरा सिकाइसकेपछि विद्यालय जाने चलन थियो भने आज यो कुरालाई किन नअपनाउने ? यो सम्भव पनि त छ । बालबच्चात प्रायः कार्टुनमै झुम्मिरहन्छन् । अब नेपाल सरकारले उपयोगी सन्देशप्रद कार्टुनलाई मात्रै युट्युबमा राख्ने गरी प्रबन्ध गरे कमसेकम बालबच्चाले आँखा बिगार्ने थिएनन् कि भन्ने पनि हो ।

अहिले आधारभूत तह (१–८) मा मात्रै नभएर माध्यमिक (९–१२) का विद्यार्थीहरू पनि पढाइ सीपमा कमजोर देखिन्छन् । बरु यी स्तरका विद्यार्थीलाई अभिभावक र शिक्षकको समन्वयबाट पठन–सीपमा अभ्यस्त बनाउने अभियान चलाउने हो भने यो एउटा राम्रो आधार हुन सक्ला । विद्यार्थीको आफ्नो रुचि र क्षमताअनुरूप कलात्मक अनि अन्तर्निहित क्षमतालाई भरपूररूपमा बाहिर निकाल्नुपर्ने समय हो । यस अवस्थामा इन्टरनेटको पहुँचमा हुनेहरूले मोबाइल र युट्युबबाट सकारात्मक कुरा सिकून् भनेर प्रेरित गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्