इन्जाममले भने– बीसीसीआई बलियो छ



इस्लामावाद, (एजेन्सी)

पाकिस्तानी पूर्वकप्तान इन्जामम उल हकले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)माथि नियन्त्रण रहेको बताएका छन् । यदि यसै वर्ष टी–२० विश्व कप क्रिकेटको सट्टा इन्डियन प्रिमियर लिग (आईपीएल) भयो भने आईसीसीमाथि प्रश्न तेर्सिने पनि हकले बताए । विश्वमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण टी–२० विश्वकप क्रिकेट नहुने सम्भावना बढिरहेको छ ।

सो प्रतियोगिता अस्टे«लियामा अक्टोबरमा आयोजना हुनुपर्ने हो । यस्तै मार्चमा हुनुपर्ने आईपीएल कोरोनाको कारण अनिश्चित्कालका लागि स्थगित गरिएको छ । बीसीसीआईले विश्वकप नभएमा यसको सट्टामा आईपीएल आयोजना गराउने सोचिरहेको छ । विश्वकपको निर्णय आईसीसीले लिनेछ ।

इन्जामम उल हकले बताए– ‘बीसीसीआई धेरै नै बलियो बोर्ड हो । आईसीसीमा यसको नियन्त्रण पनि बलियो छ । यदि अस्टे«लिया क्रिकेट बोर्डले कोरोनाको सट्टा टी–२० विश्वकप गराउन सक्दैन भने त्यो स्थिति हेरेर यसलाई सही निर्णय मान्न सकिन्छ । तर यही दौरान आईपीएल आयोजना गराउन आईसीसीले अनुमति दिएमा त्यसमा प्रश्न उठ्न सक्छ ।’

इन्जामम उल हकले आईसीसीले यस्तो निजी प्रतियोगिताको लागि अनुमति दिन नहुने बताएका छन् । उनले भने– ‘आईसीसीले अन्तर्राष्ट्रिय प्रतियोगिताको साटो निजी लिगलाई अनुमति दिन मिल्दैन । यसले युवा खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताभन्दा निजी प्रतियोगितामा बढी चासो लिनेछन् ।’

इन्जाममले कोरोनाको हालको अवस्था हेरेर अन्य देशमा समेत आयोजना गर्न नसक्ने बताएका छन् । उनले सहभागी १६ देशमध्ये कही पनि प्रतियोगिता आयोजना सहज नहुने बताए । पाकिस्तानले १९९२ को विश्वकप जित्दा उनी टिमका महŒवपूर्ण खेलाडी थिए ।

प्रतिक्रिया दिनुहोस्