इतिहासदेखि अहिलेसम्म ठगिएका ‘लाहुरे’



लाहुरेहरू विशेष परिस्थितिमा बाध्यतावश भर्ती भएर विदेशमा बस्नुपरेको हुनाले उनीहरूको नेपाली नागरिकतालाई नेपाल सरकारले निरन्तरता दिनुपर्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका हौँ । भूपूहरूको हकहितको लागि नेपालमा भूपूसम्बन्धी मन्त्रालय नै गठन हुनुपर्छ भन्ने हाम्रो माग यथावत् नै छ । भूपूहरूलाई सशक्तीकरण गर्नको लागि पार्टी र राज्यमा प्रतिनिधित्व गराउनुपर्छ भन्ने मान्यताअनुसार पार्टीमा पदाधिकारी तहमा भूपूलाई अनिवार्य गरेका छौं र विगतमा संविधानसभामा भूपू परिवारको सदस्यलाई सभासद पनि बनायौँ ।

तर काग्रेस–कम्युनिस्टले भूपूलाई आफ्नो भ्रातृ संगठनमा राख्ने तर आफू सत्तामा गएपछि कुनै भूपूको माग र समस्या समाधान नगरिदिने, बरू महाधिवेशन तथा सम्मेलनहरूमा भूपूलाई व्यवस्थापन समितिमा राखिदिएर झन्डा, ब्यानर, मञ्च, खाना, पानी, कुर्सी, टेबल तयार पार्ने काममा खटाएको देखिन्छ । भूपूहरूलाई पदाधिकारी तथा प्रतिनिधिको परिचयपत्र देला भन्दा त स्वयंसेवकको बिल्ला भिडाइदिन्छन् ।

तर अबका लाहुरेहरू सचेत छन् । बचेका बाँकी जिन्दगी प्रतिष्ठा र स्वाभिमानको लागि खपत गर्न चाहन्छन् । कोइराला, ओली, दाहालहरूले त लाहुरेलाई सोझा–सीधा ठाने–ठाने, अझ यादव–ठाकुर, महन्तहरूले पनि लाहुरेलाई उल्लु बनाउन खोज्दै छन् । सम्बन्धित ठाउँमा चाहिँ पहल नगरिदिने तर भूपूको भावना भजाउन सडकमा मात्र बोलिटोपल्ने पाल्सी कर्मले लाहुरे भूपूहरूको सही सम्मान र कदर हुन सक्दैन ।

नागरिकता विधेयक तयार बनाउने निकाय भनेको संसद्को ‘राज्य व्यवस्था तथा सुशासन समिति’ हो, जहाँ कसले कसरी नागरिकता पाउने भन्ने कुराको छलफल हुन्छ । यहाँ छलफल र बहस भएपछि विधेयक तयार पारेर संसद्मा पेस गरिन्छ र पास गरिन्छ । यो राज्य व्यवस्था तथा सुशासन समितिमा जनता समाजवादी पार्टीका राजेन्द्र महतो, राजकिशोर यादव र राजेन्द्र श्रेष्ठ पनि छन् । तर कुरा राख्नुपर्ने यो समितिमा उनीहरूले भूपू लाहुरेहरूको नेपाली नागरिकताको निरन्तरताबारे एक शब्द पनि खर्चेका छैनन् ।

उनीहरूले किमार्थ कुनै पनि कुरा राखेनन् र छलफलको लागि वातावरण पनि बनाएनन्, बरू पूरा ध्यानचाहिँ भारतीय बुहारी महिलामा केन्द्रित गरियो । समितिमा कसले के बोल्यो भन्ने कुराको रेकर्ड अहिले पनि हेर्न सकिन्छ ।

तर सडकमा कार्यकर्ताहरूलाई लाहुरेबारे ब्यानर बोक्न लगाउने । यदि भूपू लाहुरेहरूको कदर यादवले गर्न चाहेको हो भने आफ्नो पार्टीको पदाधिकारी पदमा तथा समानुपातिकबाट भए पनि सांसद बनाउन तयार छन् ? लाहुरेले विदेशमा संगठन धानिदेओस् र लेभी पठाइदेओस् भन्ने लक्ष्य मात्र लिने हो भने दुःखद कुरा हो ।

यसलाई ‘पोलिटिक्स अफ आइरोनी’ भनिन्छ । बाहिर जे हुन्छ त्यो भित्र हुन्न । बाबुराम भट्टराईको राजनीतिक लाइन नै यही हो । आफूले चाहेअनुसारको संविधान आफैंले हतारमा बनाउने र अहिले यो भएन र त्यो भएन भन्नु एक खेल नै हो ।

बाहिर बोलिदिँदैमा भित्री आफ्नो स्वार्थ वर्चश्वमा परिवर्तन आउने होइन, बरू बाहिर वाहवाही आर्जन हुन्छ भन्ने मान्यता यो राजनीतिक लाइनको हुन्छ । कुनै कसाहीले बच्चा पाठोलाई प्रेम गर्नु र त्यसको पालनपोषण गर्नुको अन्तिम निचोड के हो ? घिच्रो निचोड्नु !
– बलदीप प्रभाश्वर चामलिङ
बुद्धिजीवी विभाग प्रमुख, राष्ट्रिय जनमुक्ति पार्टी ।

प्रतिक्रिया दिनुहोस्