नेकपामा गुटबन्दीको सलह र स्वार्थको महामारी



  •  रमेश भट्टराई ‘सहृदयी’

क्रुर शासक हिटलरले एकपटक एउटा कुखुरोआफ्नो सभामा लिएर आएछन् । त्यस कुखुराका प्वाँखलाई उनले एक–एक गर्दै उखेलेर प्वाँखविहीन पारिदिएछन् । त्यसपछि उड्न नसक्ने त्यो कुखुरोलाई हलमा छोडिदिएर चारो छर्दै बिस्तारै अघि बढेछन् । त्यो बिचरा कुखुरो चारो खाँदै हिटलरको पछि–पछि लागेछ ।यो दृश्य सभामा उपस्थित सबैले देखिरहेका थिए । त्यसपछि हिटलरले सभालाई सम्बोधन गर्दै भनेछन्, ‘जनता भनेका पनि यस्तै हुन् । अलिकति लोभ देखाइदिएपछि सबै कर्तुतलाई बिर्सेर पछि लाग्न थालिहाल्छन् ।’ प्रश्न उठ्छ– के हामी पनि त्यही कुखुरोजस्तै जनता त होइनौँ?

कुरा राजनीतिगत रङ्गमञ्चको हो । सत्तारुढ दलनेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र व्यक्तिगत इगो साँध्नका लागि चलेको स्वार्थको लडाइँले देशको स्वाभिमानमा नै आँच आउने सम्भावना बढेको छ । पार्टी फुटाउने र कुर्सी जोगाउने रणमा अहिले कृषकलाई सलहले पीडा दिएजस्तै कार्यकर्तामा धार्नी–बिसौलीको बहस चलेको छ ।

एकातिर कोरोना महामारीले उब्जाएको समस्या छ भने अर्कातिर सलहले बाँच्ने आधार कृषि नै धराशायी बनाइरहँदा भोकमरी सिर्जना गर्ने देखिँदैछ । यताराजनीतिक स्वार्थको सलहले यी संवेदनशील विषयलाई सङ्क्रमित तुल्याइरहेका छन् ।यदि सत्तारुढ दलका शीर्ष नेताका बीचको दोहोरीलाई शान्त पार्दै मध्यमार्ग खोज्नेको हार भयो भने शत्रुता साँधेर रमिता हेर्न चाहनेलाई फाइदा पुग्ला ।

कोरोनाको भय जत्तिकै राजनीतिक सरगर्मीमा पार्टी फुटाउने, प्रधानमन्त्रीले राजीनामा दिने हुँदै वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनेसम्मका विचार–बाढीले यसअघि पनि दुई–चारदिन तहल्का मच्चाइदिएकै हुन् । त्यतिखेर नयाँ नक्साको निर्माणको राष्ट्रिय स्वाभिमान जोडिएको विषयले त्यो आन्तरिक किचलोलाई छायामा पारिदिएको हो ।

नेकपाले मिल्यौँ भने पनि आशङ्काको तुष पटक–पटक धुवाएकै छ ।कहिले चर्को बन्छ त कहिले भित्रभित्र गुमराहमा हुन्छ । त्यो मनोवैज्ञानिक कुण्ठाले निकास पाउन सकेन भने सो विष्फोट हुँदा सलहको भन्दा बढ्ता जोखिम हुनेछ । महामारीभन्दा बढी दुःखदायी हुनेछ, तब अर्को नयाँ नेतृत्वले अड्डा जमाउनेछ ।

अहिले फेरि अर्कै रूपबाट सङ्क्रमणको लक्षण देखिन थालेको छ । पार्टीलाई एकताबद्ध तुल्याउने, वामदेव गौतमलाई उचित समयमा प्रतिनिधिसभाको सदस्यमा लैजानेदेखि पार्टीको सल्लाहअनुसार सरकारलाई चलाउने विषयमा समेत यसअघि छलफल गरिए । आखिर, गुटको हुन्डरी रोकिँदै–बल्झिँदै देखिइरहेको छ ।

यतिखेरसत्ताको जुत्ता उत्तरतिर छ अनि खुट्टाचाहिँ दक्षिणतिर ।भारतका सञ्चारमाध्यमले बडो खुशीका साथ लेखिरहेका छन्, ‘भारतलाई खुशीको कुरा, प्रचण्ड प्रधानमन्त्री बन्ने…’ इत्यादि । आखिर यो आन्तरिक किचलोबाट देशले विकासको काममा चिन्ता गर्ने समय नै पाएन । कहिले मिलेजस्तो हुन्छ र क्षणिक युद्धविरामजस्तो लाग्छ । बेला–बेला राजनीतिक विश्लेषकहरूलाई समेत सोच्न बाध्य तुल्याइदिएको देखिन्छ ।

तन मिलेजस्तो बनाएर मन नमिलेसम्म यो विषयमा शङ्काको काँडाले घोचिरहेकै छ । तर यो विषय विगतदेखि नै भुसको आगो भएर धुवाइरहेको छ । अहिले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालका बीचको गठजोडबाट अर्को शिरा देखिएको छ ।

यस अवस्थामाप्रधानमन्त्रीले एकलौटी दम्भ र लोभ गर्नु दुवै कुरा गलत हुन सक्छ । साथै अर्काेतिरबाट छिर्के लगाएर लडाएरै सत्ता कब्जा गर्छु भन्ने पनि देशको हितमा आधारित होइन । यो परिवेश मध्यविन्दुको सहमतिबाहेकको विकल्प रोजिँदा सीमा समस्याको हल तथा महामारीको भयावह अवस्थाले निम्त्याउने सङ्कटको समाधानदुवै जटिल परिवेशको समाधानमा बाधक हुनेछ ।

यदि पार्टी फुटाउने र खेमा जुटाउने खेल चल्यो भने त्यो कालकुट विष शमन गर्न नसक्ने गरी बाम राजनीतिको बाधक बन्नेछ । जसरी १० वर्षसम्म जङ्गलमा बसेर युद्ध लडी सत्तामा पुगेको माओवादी पार्टी आज मौरीका राना छुट्टिएजसरी स्वार्थको लालसामा छुट्टिएका छन्, नेकपाको हबिगत त्यही नहोला भन्नै सकिँदैन ।

आज माओवादीले बोकेको सिद्धान्तका पाना पनि त धुजा–धुजा भएर नच्यात्तिएको भन्ने छ र ?अतः यो प्रजातान्त्रिक व्यवस्था हो । जनअभिमतलाई अब एकछाक भातमा किन्छु, लठ्ठी देखाएर लिन्छु भन्नु मूर्खता हुनेछ । यो लडाइँ झीनो स्वार्थको धागोमा अडिएको हो भन्ने कुरामा जनता अब लाटा छैनन्, बुझ्छन् । जनअभिमतलाई कति समय गुमराहमा राख्ने भन्ने मात्रै कुरा हो । प्रचण्ड–नेपाल पक्षको भेलाले ‘ओली’ भनेर एक व्यक्ति होइन यो समयलाई हेरेर सहमतिकै बाटोमा पार्टीको एकतामा हैँस्टे गर्नु आवश्यक छ । ओली पक्षले हुकुमी शैली होइन, सहकार्यको बाटो रोज्नैपर्छ ।

यदि यसो नभएमा के हुन्छ ?
अहिले एक हिसाबले गति लिइरहेको विकासका काममा बाधा हुन्छ । भारतले कब्जा गरेको भूमिलाई फिर्ता गर्नेदेखि कोरोना महामारीले धराशायी बनाएको अर्थतन्त्रको सुधारको खाँचो छ । बाढी, पहिरो, डुबानका लागि पूर्वसचेतना संयन्त्रको विषयलाई आगो लागेपछि कुवा खन्ने प्रवृत्तिमा कर्मकाण्ड गर्नु अमानवीय हुनेछ ।

वास्तवमायोजनाको निरन्तरतामा उही नौमहिने सरकारजसरी नै काम सिक्दासिक्दै अर्को चुनाव आउने अवस्था रहन्छ । राजनीतिक अस्थिरताको अर्को दिशाबाट आन्तरिक द्वन्द्व गर्ने खेमा बनिरहन्छ र जनतामा सरकारप्रतिको वितृष्णा पैदा हुन्छ । परिणामतः ठूलो भाग खाने दाउको लडाइँका बीचमा तेस्रो शक्ति जन्मनेमा सम्भावना पनि उत्तिकै रहन्छ । यो विधि पनि केवल नेताको सत्ता स्वार्थको लडाइँमा सीमित हुनेछ । यो देशको हितका बारेमा उस्तो प्रभावपरकहुँदैन ।

देशको आर्थिक स्थितिनराम्रोसँग ओरालो लागेको जटिल अवस्थामा त पक्ष–प्रतिपक्ष एक हुनुपथ्र्यो । आपैmँभित्र नै झगडा गरेर ‘साँढेको जुधाइ बाच्छाको मिचाइ’मा जनतालाई पिसोल्ट्याउने यो विपरीत दिशाले देशलाई अधोगतितिर लैजान्छ ।अहिलेको अवस्थामा ‘प्रधानमन्त्रीले मदन जयन्तीमा भारतविरुद्ध अभिव्यक्ति दिनुभयो’ भनेर अध्यक्ष प्रचण्डले भन्नुले आफूभित्रको कुरालाई अरूसामु पोल लगाएकोजस्तो देखियो ।

घरको लडाइँमा छिमेकीलाई उचाल्ने सोचले राष्ट्रिय स्वार्थको संज्ञा पाउन सक्दैन । घरको कुरालाई बखेडा बनाउनुले नेताको हाइटलाई बढाउन सक्दैन । यसले राष्ट्रिय स्वाधीनतामा आँच पु¥याउँछ । यो विषय ओली पक्ष या प्रचण्ड पक्षको होइन, जनताको संवेदनशील अवस्थामा पर्ने असरको पक्षमा हो ।खेमाबन्दी राजनीतिको सबैभन्दा बढी घातक विषय हो । प्रधानमन्त्रीले अध्यक्ष पद छोड्ने र एउटै जिम्मेवारी सम्हाल्ने भनेर मिलाएसम्म उत्तम विकल्प हुन सक्छ । किनकि, यदि प्रधानमन्त्री नै फेरेर अर्को जो–कोही बने पनि सत्ताको सांगठनिक संरचना बदल्दा नवनियुक्तका लागि भन्दै देशले अर्को धनराशि खर्च गरिरहनुपर्छ ।

कोरोना भाइरसभन्दा खरोरूपमा नेकपाभित्रको हुँडलिएको भाइरसको अन्त्य नभए त्यसले राष्ट्रहितलाई नै बलि दिन्छ । यसअघि नै प्रधानमन्त्री ओलीको अध्यादेशको आगमन, विरोध र गमनलगायतका घटना र विवाद हुँदै सत्तारुढ दल नेकपाले साँच्चै रणबाट गाण्डिव फालेको हो त ? यो प्रश्न हिजोदेखिकै हो । मदन–आश्रित स्मृति दिवसको अवसर पारेर २०७५ सालमा नै एकताको बिगुल बजाइएको हो । यसमा जनताले बामशक्ति र बामसत्तासँग परिवर्तनको निकै बढी आशा गरेकै हो ।

जनताका लागि लडाइँ कि कुर्सीका लागि ?
बिचरा विपन्नले रोगका कारणभन्दा भोकका कारण जीवनमरणमा भविष्यसँग तर्सिनुपरेको छ । यता सत्तारुढ दलमा गुटबन्दीको भाइरस पोजेटिभ भएपछि विकास र समृद्धिका कुरा, जनताका संवेदनासमेत लकडाउनको कोठरीमा बन्द छन् । सत्तादाउपेचको सिँगौरीमा परेर जनता ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भएका छन् ।सत्तामा जो पुगोस्, जो जसले नेतृत्व गरोस्, आखिर जनताको चाहना सुख, शान्ति, रोजगारको अवसर हो, समृद्धि हो ।

कमसेकम गुटभित्र रहेर पनि एकजुटमा मन मिले राम्रो कुरा हो । यदि नेकपाले गुटको राजनीतिमा भुसको आगो झोसेर तिक्तता राखिरहन्छ भने नेपालमा बाम राजनीति शायद अफापसिद्ध हुन्छ । संसदीय गणितको जोडघटाउमा दौडधुप गर्नेभन्दा समन्वयको उत्तम बाटोबाट जनस्वार्थतिर लम्किए कमसेकम पार्टी रहन्छ । पार्टी रहे अवसर रहन्छन् । गुटको झोला बोकेर हिँड्ने हो भने १२ वर्ष द्वन्द्व गरेपछि सत्तास्वार्थ र लोलुपताले टुक्रा–टुक्रा भएर अरूसँग टाँस्सिँदै अस्तित्व जोगाइरहनुपरेको यथार्थलाई बोध गर्नु आवश्यक छ । आखिर राजनीतिभित्र जनअभिमत पनि यही धारबाट खण्डित भइरहेको पनि छ ।

नेकपाले मिल्यौँ भने पनि आशङ्काको तुष पटक–पटक धुवाएकै छ ।कहिले चर्को बन्छ त कहिले भित्रभित्र गुमराहमा हुन्छ । त्यो मनोवैज्ञानिक कुण्ठाले निकास पाउन सकेन भने सो विष्फोट हुँदा सलहको भन्दा बढ्ता जोखिम हुनेछ । महामारीभन्दा बढी दुःखदायी हुनेछ, तब अर्को नयाँ नेतृत्वले अड्डा जमाउनेछ ।

आखिर पदीय बाँडफाँडको मध्यविन्दुमा आएर अन्तरविरोधको रापले पोलिरहेकै छ । के यो लडाइँ जनताको स्वार्थका लागि हो त ? नितान्त होइन, यो लडाइँ भागवण्डाको लोलुपता मात्रै हो । त्यसो हो भने जनताको चाहनाभन्दा ठूलो सत्तास्वार्थ नै त रहेछ । अर्काे कुरा, यदि नेताले कुर्सीका लागि जे पनि गर्छ भने जनताले त्यस्ता नेतृत्वलाई कसरी विश्वास गर्ने ? प्रश्न यहाँ छ ।

अतः जनताले गुटको राजनीतिमा क्षणिक स्वार्थ बोकेर साथ दिनुले पनि राजनीतिक खेमाले चर्को रूप लिएको छ । यो गुटबन्दीको सलहलाई पोजेटिभ बनाउने कि नबनाउने भन्ने कुरामा सबैभन्दा ठूलो हात त जनताको हो । नयाँ पुस्ताले त कमसेकम राष्ट्रिय स्वार्थको राजनीति सिकौँ न । यो संक्रमणवादी सोचलाई छोडेर स्वच्छ छवि बोकौँ । देशका निम्ति लडौँ अनि देश बनाऔँ ।

प्रतिक्रिया दिनुहोस्