मकै पड्किएझैं पड्किए चिम



Pear Light Explosion Fragile Light Bulb

न्युज अफ नेपाल, हेटौंडा ।

नेपाल विद्युत् प्राधिकरणसमक्ष पटकपटक गरिएको आग्रह सुनुवाइ नगरिँदा शनिबार बेलुका हेटौंडा–४ को बुद्धपथ क्षेत्रका कम्तिमा ६ सय घरका विद्युत् चिम मकै पड्किएझैं पड्किएका छन् ।

बेलुका करिब साढे ९ बजे विद्युत् हाइभोल्टेजका कारण उक्त क्षेत्रका घरहरुका विद्युत् उपकरणमा क्षति पुगेको हो । घनाबस्ती रहेको उक्त क्षेत्रमा घरका टिभी, फ्रिज, चिम र पंखालगायत उपकरणमा क्षति पुगेको स्थानीय सुजन बिडारीले बताउनुभयो । विद्युत् लाइन आएको करिब १५ मिनेटसम्म पनि हाइभोल्टेजले गर्दा चिम पड्किएको आवाज सुनिएको उहाँले बताउनुभयो ।

उक्त घटनापछि पीडित स्थानीय सडकमा उत्रिएका थिए । विद्युत् लाइन गएपछि मर्मतका लागि आएका प्राधिकरणका प्राविधिकलाई नयाँ ट्रान्सफर्मर परिवर्तन नगरेसम्म मर्मत कार्य गर्न नदिने आक्रोश पोख्दै फिर्ता पठाएका थिए । स्थानीयले आइतबार विहानसम्म नयाँ ट्रान्फर्मर परिवर्तन नगरे सडकमा उत्रिएर विरोध प्रदर्शन र चक्काजाम गर्ने चेतावनी दिएका छन् । यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी प्राधिकरणले नै लिनुपर्ने चेतावनी पनि स्थानीयले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्