कोरोनालाई पछारे भारत र कुवेतबाट आएकाले



म्याग्दी, (नेस)

हिमाली जिल्ला म्याग्दीमा थप पाँच जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । भारत तथा कुवेतबाट आएर बेनीको क्वारेन्टाइनमा रहेका पाँच जना आइसोलेसन अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

डिस्चार्ज हुनेहरूमा बेनी नगरपालिका–२ ज्यामरुककोटका २६ वर्षीया एक महिला र रघुगंगा गाउँपालिका–३ राखुपिप्लेका ३३ वर्षीय एक जना पुरुष रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

यसै गरी पश्चिम म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँका २० वर्षीय पुरुष, मंगला–३ र ४ बराङ्जाका २६ वर्षीय तथा २३ वर्षीय पुरुष पनि डिस्चार्ज भएको उहाँले बताउनुभयो ।

तीमध्ये बेनपा–२ ज्यामरुककोटका २६ वर्षीया महिला यसअघि कुवेत र मंगला तथा रघुगंगा गाउँपालिकाका चार जना पुरुष भारतबाट म्याग्दी आएर बेनीको क्वारेन्टाइनमा बसेका थिए । यसै बीच पछिल्लो तथ्याङ्कअनुसार म्याग्दीका तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

साउदी अरबबाट म्याग्दी आएका रघुगंगा–२ र ३ राखुभगवतीका २७ वर्षीय तथा राखुपिप्लेका ४७ वर्षीय पुरुष तथा भारतबाट आएका मंगला–१ कुहुँका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो । संक्रमण पुष्टि भएका तीनै जनालाई अहिले बेनीमा रहेको आइसोलेसन कक्षमा भर्ना गरेर राखिएको छ ।

म्याग्दी जिल्लामा कोरोना संक्रमितको सङ्ख्या १९ पुगेकोमा १४ जना पुरुष र ५ जना महिला रहेका छन् भने तीमध्ये १० जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । अहिले आइसोलेसनमा ९ जना रहेका छन् भने बेनीका तीनवटा क्वारेन्टाइनमा कुल १ सय ४५ जना रहेको कोभिड–१९ कमान्ड पोस्टका सदस्य सुरत केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्