फागुनमा निफ



कोरोना संक्रमण जोखिमका कारण लगाइएको लकडाउन केही खुकुलो भएको छ। यही अवसर पारेर नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण आगामी फागुन महिनामा आयोजना गर्ने घोषणा गरेको छ।

प्रतिष्ठानका अध्यक्ष केपी पाठकका अनुसार आगामी फागुन १२ देखि १६ गतेसम्म काठमाडौंमा यो फेस्टिभल आयोजना गरिनेछ। यसका लागि आवेदन खुलेको उनले जानकारी गराए। फेस्टिभलमा सहभागिता जनाउन जुलाई १ देखि नोभेम्बर ३० सम्म आवेदन दिनुपर्नेछ। विश्वका कथाहरूको कथ्य उत्सव भन्ने नाराका साथ फिल्म संस्कृतिको विकास गर्ने उद्देश्यसहित शुरू भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई समावेश गरिने निर्णय गरिएको उनले जनाए।

कोभिड १९ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वाेत्कृष्ट फिचर फिल्मलाई १ हजार ५ सय अमेरिकी डलर राशीसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ भने जुरीका तर्फबाट अवार्ड पनि प्रदान गरिनेछ।

त्यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बागमती अर्वाड प्रदान गरिनेछ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार र सर्ट मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्ट र डकुमेन्ट्री फिल्मले १५ अमेरिकी डलर र फिचर फिल्मले २० डलर आवेदन शुल्क तिर्नुपर्नेछ। यसैगरी महामारीको विषयमा बनेका फिल्मले १० डलर तिरेर सहभागिता जनाउन सक्नेछन्। नेपाली प्रतिस्पर्धाअन्तर्गत आवेदन दिन भने कुनै शुल्क नलाग्ने पाठकले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्