युवाको पहलमा गाउँमा सडक निर्माण



बैतडी, (नेस)

बैतडीको डिलाशैनी गाउँपालिकाका केही युवाको पहलमा गाउँमा सडक निर्माण भइरहेको छ । गोकुलेश्वरदेखि मठैराज जोड्ने सडक निर्माणमा युवा जुटेका हुन् ।

सडक निर्माणका लागि कतैबाट सहयोग नपाएपछि आफूहरूले श्रमदानमा सडक निर्माण गरेको सडक निर्माणको नेतृत्व गरिरहेका सन्तोषप्रकाश जोशीले बताउनुभयो । स्थानीयको श्रमदानमा डोजर लगाएर ५ किलोमिटर सडक निर्माण भइरहेको छ ।

गोकुलेश्वर सेरादेखि मठैराजसम्म सडक जोड्ने उद्देश्यले जनश्रमदानमा सडक निर्माण भइरहेको विद्यार्थी नेता गोविन्द गिरीले बतउनुभयो । डिलाशैनी गाउँपालिकाको केन्द्र तोकिएको ठाउँमा सडक, विद्युत्को पहुँच नहुँदा गाउँपालिकाको सम्पर्क कार्यालय खोलिएको छ । त्यसैले जनश्रमदानमा सडक निर्माण गरिरहेको उहाँले बतानुभयो ।

अहिले पनि सडक निर्माणको काम भइरहेको र यो सडकले डिलाशैनी गाउँपालिका वडा नं ४, ५, ६ र ७ का स्थानीय लाभान्वित हुने स्थानीय समाजसेवी सुरेश श्रेष्ठले बताउनुभयो । डिलाशैनी गाउँपालिकाको केन्द्रका विषयमा समेत विवाद हुँदा आन्दोलन हुँदै आएको छ ।

गाउँपालिकाले परामर्शदाता छनोट गरेर गाउँपालिकाको केन्द्र ३ नम्बरमै उपयुक्त हुने प्रतिवेदन दिएपछि वडा नं ५, ६ र ७ का स्थानीय आन्दोलित बनेका हुन् ।

अहिले बनिरहेको सडक गाउँसभाको पहिलो बैठकले गाउँपालिकाको केन्द्र निर्धारण गरेको ठाउँमा पुग्न लागेको सडक निर्माण नेतृत्व गरिरहेका युवा सन्तोष जोशीले बताउनुभयो । उहाँले सडक निर्माणमा स्वैच्छिक सहयोग गर्नेले सहयोग गर्न सकून भनेर बैंक खाता खोलिएको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्