चट्याङबाट ५ को मृत्यु  

मृतक परिवारलाई एक–एक लाख राहत उपलब्ध गराउने प्रदेश २ सरकारको घोषणा



 गोकुल घोरसाइने, बारा

वर्षासँगै परेको चट्याङले बाराका दुई छुट्टाछुट्टै स्थानमा ४ महिलाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

जिल्लाको कलैया उपमहानगरपालिका र फेटा गाउँपलिकामा बिहीबार बिहान परेको चट्याङ लागेर खेतमा धान रोप्दै गरेका महिलाहरूको मृत्यु भएको हो ।

चट्याङबाट धान रोपिरहेका कलैया उपमहानगरपालिका–१२ सीतपुरकी ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले दिएका जानकारी अनुसार चट्याङ लागेर गम्भीर घाइते भएकी महतो र खातुनलाई उपचारका लागि कलैया अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

उक्त स्थानमा परेको चट्याङबाट स्थानीय मरियाम खातुन घाइते भएकी छिन् । त्यसै गरी सोही समयमा परेको चट्याङ लागेर फेटा गाउँपालिका–१ त्रिवेणीस्थित खेतमा धान रोपिरहेका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपतिदेवी महतोको पनि मृत्यु भएको छ ।

उनीहरू दुवै एकै परिवारका सदस्य भएको तर नाता नखुलेको प्रहरीले बताएको छ । घटनास्थल कलैया–वीरगन्ज सडकको दक्षिणतर्फ एउटै रेन्जमा पर्दछ । दुवै घटनाको दूरी करिव ३ किलोमिटर रहेको डीएसपी मिश्रले जानकारी दिनुभयो ।

चट्याङबाट फेटा गाउँपालिका–१ कै बच्वा देवी, राजपति देवी, कान्ति देवी, उमा देवी, लीलावती देवी, शोषिता देवी र सिला देवी घाइते भएको र उपचारका लागि सबैलाई वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको डीएसपी मिश्रले जानकारी दिनुभयो ।

यसैबीच प्रदेश २ सरकारले बारमा चट्याङबाट मृत्यु भएका परिवारलाई राहतस्वरूप १–१ लाखको दरले रकम उपलब्ध गराउने भएको छ ।

प्रदेश–२ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले समाजिक सञ्जालमार्फत सो बारेमा जानकारी दिनुभएको छ । मन्त्री सोनलले आफ्नो फेसबुक वालमा मृतक परिवारलाई प्रदेश सरकारले १ लाखका दरले राहत दिने निर्णय गरेको बताउनुभएको छ । त्यसै गरी घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च पनि प्रदेश सरकारले नै बेहोर्ने मन्त्री सोनलले जनाउनुभयो ।

यता सर्लाहीको बाग्मती नगरपालिका–१० शंकरपुरमा बिहीबार बिहान चट्याङ लागेर एक जनाको ज्यान गएको छ । खेतमा धान रोप्दै गर्दा चट्याङ लागेर स्थानीय १८ वर्षीय छोटु पासवानको ज्यान गएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्