सलह



नारायण खनाल, मालारानी-३,अर्घाखाँची

(कविता)

देशको ढुकुटी
रित्याइरहेकोछ
राष्ट्रियता र स्वाभिमानमा
प्वाल पारिरहेको छ
किसानको बाली
सिख्रै पारिरहेको छ
रुप फरक
नियत एक
नेपाल असफल बनाउने
कुचेष्टा बोकी मडारिरहेको छ।

कहिले
भ्रष्ट बनेर गन्हाउँछ
कहिले
कथित बुहारी बनेर रन्थनाउँछ
कहिले
अंगिकृत भनेर दन्दनाउँछ
कहिले
फटयांग्रो बनेर
खेतबारीमा छाउँछ
कहिले
रअ बनेर
मृत्युु ओकल्छ
कहिले
छिमेकी बनेर
साँध ओखल्छ चेलीको अस्मिता लुट्न चिचिला निमोठ्छ
रुप मात्रै फरक
नियत एक
निरन्तर नेपाल दुखाउने
महादौडमा सहभागी बन्छ।

गिद्ध बनेर
देश लुछ्न
फटयांग्रो बनेर
बाली सक्न
परजीवी बनेर
पसिना चुस्न
विस्तारवादको गुलाम बनी
सत्ता प्राप्तिको लालसामा डुवि
देश झुकाउन
स्वाभिमान दुखाउन
साँच्चै
आतुर छ सलह
रुप फरक
नियत एक
निरन्तर
नेपाल असफल बनाउने
कुचेष्टा पूरा गर्न ।

सधै
सफल बन्न सफल ,सलह
अहिले
असारे विकास सँगै
कागजमा दौडिरहेको छ
राष्ट्रको ढुकुटीमा
पौडिरहेको छ
विस्तारवादको आदेश पूरा गर्न
सत्ता पल्टाउने खेलमा
लागिरहेको छ
अनि
लागिपरिरहेको छ बाली सखाप पारि
किसानहरुलाई भोकै मार्न ।

जमिनमा किसानहरु
आगो बालेर धुवाँ
बनाइरहेका छन्
थाल ठटाइरहेका छन्
चिच्याइरहेका छन्
तर सलह
आकाशमा रम्छ
धानको ब्याड खोज्छ
मकैको बोट रोज्छ
अनि ,डाँकाहरु जस्तै
आँखा अगाडि
सिख्रै पारिदिन्छ बाली
गरीबको रगत पसिनामा रम्ने
मेरो देशका
शासकहरुले जस्तै
उच्च ओहदाका कर्मचारीले जस्तै
नेता मन्त्रीले जस्तै
चरी बिचरीको
प्राण लिने
बाजहरुले जस्तै ।

प्रतिक्रिया दिनुहोस्