५१.७ प्रतिशत टोकियोवासी ओलम्पिकको विरोधमा



टोकियो,एजेन्सी ।

कोरोना भाइरस महामारीका कारण २०२१ मा सारिएको ग्रीष्मकालीन ओलम्पिक रद्द गर्दा उपयुक्त हुने अधिकांश टोकियोवासीको मत रहेको एउटा सर्वेक्षणले देखाएको छ । टोकियो सहरमा बसोबास गर्ने ५१.७ प्रतिशत जनताले आगामी वर्षका लागि सारिएको ओलम्पिक प्रतियोगिता नै नहोस् भन्ने चाहना ब्यक्त गरेका छन् ।

जापानी मिडियाले गरेको एक सर्वेक्षण अनुसार, कोरोना भाइरसका कारण अधिकांश टोकियोवासीले २०२१ मा पनि ओलम्पिक नहोस् भन्ने चाहना ब्यक्त गरेको बताइएको छ ।

जापानको क्योडो न्यूज र टोकियो एमएक्स टेलिभिजनले आगामी वर्षको लागि तय गरिएको टोकियो ओलम्पिक आयोजनालाई लिएर २६ देखि २८ जूनसम्म सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षण अनुसार, टोकियोका ५१।७ प्रतिशत जनताले ओलम्पिक आयोजना नहोस् भन्ने पक्षमा मत राखेको बताइएको छ ।

उनीहरुले प्रतियोगिताको मिति पुनः सारियोस् अथवा रद्द नै होस् भन्ने चाहना समेत ब्यक्त गरेका छन् । त्यस्तै, ४६।३ प्रतिशत जनताले भने ओलम्पिक भएको हेर्ने चाहेको बताएका छन् ।

सर्वेक्षणको नतिजा :

५१.७ % : ओलम्पिक आयोजनाको विपक्षमा ।
४६.३ % : ओलम्पिक आयोजनाको पक्षमा ।
२ % : कुनै प्रतिक्रिया नदिएका ।

ओलम्पिक नहोस् भन्ने चाहना ब्यक्त गर्ने ५१।७ प्रतिशत मध्येबाट २७।७ प्रतिशत जनताले ओलम्पिक रद्द नै हुदाँ उपयुक्त हुने बताएका छन् । त्यसैमध्येका २४ प्रतिशत जनताले भने पुनः स्थगित होस् भन्ने चाहना ब्यक्त गरेका छन् । यसै वर्षको २३ जुलाईमा आयोजना हुनुपर्ने ओलम्पिक गएको मार्चमा आगामी वर्ष हुने गरी सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्