वेस्टइन्डिजले ‘ब्ल्याक लाईभ्स म्याटर’ लगाएर खेल्ने



लन्डन,एजेन्सी ।

वेस्टइन्डीज क्रिकेट टिमले इंग्ल्यान्डविरुद्ध हुने ३ वटा टेस्ट सिरिज मा ‘ब्ल्याक लिभ्स म्यातर’ लोगो भएको टि–शर्ट लगाएर खेल्ने भएका छन् ।इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले यसका लागि स्वीकृति पनि दिएको छ । कोरोना भाईरसका महामारीबीच करिब ३ महिनापछि हुन लागेको यस प्रतियोगितासँगै अन्तर्राष्ट्रिय क्रिकेटले पुनरागमन गर्दैछ । पहिलो टेस्ट ८ जुलाईमा इंग्ल्यान्डको साउथह्याम्पटन खेलिनेछ ।

केहि समयअघि अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी हिरासतमा मृत्यु भएपश्चात् संसारभर रंगभेद विरोधी प्रदर्शन शुरू भएको हो । त्यसपश्चात् फुटबल र क्रिकेट लगायत अन्य खेल जगतका खेलाडीहरुले पनि ‘ब्ल्याक लिभ्स म्यातर’ अभियानलाई समर्थन गर्दैै आइरहेका छन् । क्रिकेटमा वेस्टइन्डीजका कप्तान जेसन होल्डर, डेरेन सामी, क्रिस गेल र ड्वेन ब्राभोले रंगभेदविरुद्ध आवाज उठाएका छन् । त्यसलाई आईसीसीले पनि साथ दिएका छन् ।

जेसन होल्डरले यसलाई क्रिकेट इतिहासको ठूलो परिवर्तन हुने बताएका छन् । उनले क्रिकेट वेबसाइट क्रिक इन्फोलाई भने,–‘‘हाम्रो मान्यता छ, यसविरुद्ध सशक्त आवाज उठाउनु हाम्रो कर्तव्य हो । सबैले जागरुकताको लागि मद्दत गर्नुपर्छ । यो खेल, क्रिकेट र वेस्टइन्डीज टिमको इतिहासमा सबैभन्दा ठूलो परिवर्तन हो । हामीले इंग्ल्यान्डमा टेस्ट सिरिज खेल्छौं, तर यसका साथै विश्वभर चलिरहेको समानता र न्यायको लडाईमा पनि साथ दिन्छौ ।’’

ब्ल्याक लिभ्स म्यातर लोगोलाई ग्राफिक्स डिजाइनर अलीशा होसनाले तयार पारेका हुन् । ठीक यस्तै प्रकारको लोगो इंग्लिश प्रिमियर लीग फुटबलमा पनि प्रयोग गरिएको थियो । लीगको सबै २० टिमका खेलाडीले उक्त लोगो भएको टि–शर्ट लगाएर म्याच खेलेका थिए ।

होल्डरले हरेक सिरिजमा पहिलो एन्टी–रेसिज्मलाई लिएर जागरुकता अभियान चल्नुपर्ने बताएका छन् । होल्डरले भने,– ‘‘नस्लवादलाई पनि क्रिकेटमा डोपिंग र म्याच फिक्सिंग जस्तै गम्भीरताका साथ लिनुपर्छ । टिमहरुलाई कुनै पनि सिरिजअघि एन्टी–डोपिंग र एन्टी–करप्सनका साथै एन्टी–रेसिज्मलाई लिएर जागरूक गर्न सेमिनार शुरू गर्नुपर्छ । मैले कुनै नस्लीय भेदभावको अनुभव गरेको छैन, तर मैले आफ्नो आसपास यस्तो सुनेको र देखेको छु । मलाई लाग्दैन कि नस्लवाद कुनै पनि प्रकारले डोपिंग र भ्रष्टाचारभन्दा फरक छ । यसको लागि अलग्गै जरिवाना लगाईनु पर्छ ।’’

इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) को गभर्निंग बडीको एन्टी–रेसिज्म कोड मुताविक कुनै खेलाडी तेस्रो पटक दोषी पाइएमा आजीवन प्रतिबन्ध लाग्न सक्छ । पहिलो पटक गल्तीका लागि ४ टेस्ट वा ८ म्याच प्रतिबन्ध हुनसक्ने उल्लेख छ ।गत वर्ष पाकिस्तानी टिमका कप्तान सरफराज अहमदले दक्षिण अफ्रीकाका अलराउन्डर एन्डिले फेहुलक्वायोलाई नस्लवादी विषयमा टिप्पणी गरेका थिए । त्यसपछि सरफराजले ४ म्याच प्रतिबन्ध झेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्