कोरोनाबाट नाट्य क्षेत्र प्रभावित



कोरोना सक्रमणबाट हुने कोभिड–१९ का कारण कला साहित्यको क्षेत्रमा रंगमञ्च सबैभन्दा बढी प्रभावित भएको सन्दर्भमा विभिन्न मागसहित नेपालका सक्रिय नाट्य संस्थाले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसमक्ष ध्यानाकर्षणपत्र बुझाएका छन्।

नेपाली रंगमञ्च सदैव अभिभावकत्वविहीन अवस्थाबाट गुज्रिरहेको सन्दर्भ केलाउँदै प्रतिष्ठानलाई अभिभावकत्व ग्रहण गर्न आग्रहसहित नेपाल भरका नाटकघरसहितका नाट्य संस्थाको अगुवाइमा ९ बुँदे मागसहित संयुक्त ध्यानाकर्षण पत्र प्रतिष्ठानका उपकुलपति हरिहर शर्मासमक्ष बुझाइएको हो।

ध्यानाकर्षण पत्रमा कोरोना महामारीको समयमा स्वतन्त्र नाट्य संस्थाहरूले नेपाली रंगमञ्चको प्राप्ति जोगाउन अनेकन प्रयासहरू गरिरहे पनि सरकारको कानुनीरूपमै गठन हुने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बेवास्ता गरेको गुनासोसमेत गरिएको छ।

वर्तमान समयमा रंगकर्मीहरू संकटबाट गुज्रिरहेकाले पलायन हुने अवस्थामा समेत पुग्दै गरेको उल्लेख गर्दै तत्काल यसतर्फ सचेत हुन प्रतिष्ठानलाई रंगकर्मीहरूले आग्रह गरेका छन्।

नेपालभरका ५० भन्दा बढी सक्रिय नाट्य संस्थाको संयुक्त ध्यानाकर्षण पत्रमा तत्काल राहतमुखी र सिर्जनात्मक कार्यक्रमको पहल गर्न, देशभरको रंगकर्मीहरूको तथ्यांक राख्न, स्वतन्त्र रंगकर्मीको पक्षमा नीति तथा कार्यक्रम ल्याउन, बजेटमा स्वतन्त्र रंगकर्मप्रति सम्बोधन गर्न पहल गर्न, स्थानीय तहसम्म रंगमञ्चको स्पष्ट भूमिका कायम राख्न माग गरिएको छ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै उपकुलपति हरिहर शर्माले आफ्नो समयदेखि नै नेपाली रंगमञ्चले यस्ता विविध समस्या भोग्दै आएपनि अहिलेसम्म समस्या समाधान र सम्बोधन हुन नसकेको स्वीकार्दै ध्यानकर्षण पत्रको स्वागत गरे।

शर्माले यो महामारीबाट रंगकर्मीहरू निकै प्रभावित भएको भन्दै यसको समाधानको उपाय खोजी भइरहेको जनाए। ध्यानाकर्षण पत्रका बुँदाहरू अध्ययन गरी पहलको थालनी गर्ने उनको भनाइ थियो।

ध्यानाकर्षण पत्र बुझाउन थिएटर हबको संयोजनमा देशभरका सक्रिय नाट्य संस्थाहरूको सहभागिता र समर्थनमा काठमाडौंमा रहेका नाटकघरसहितको नाट्य संस्थाका प्रतिनिधि तथा स्वतन्त्र रंगकर्मीहरू बिहीबार प्रतिष्ठान पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्