तीन दशकपछि फर्कियो लिभरपुलको साख



कविरस शर्मा ।

कुरा २८ अप्रिल १९९० को हो । फुटबलप्रेमीको नजर इंग्लिश फुटबल लिगको शीर्ष डिभिजनको दुई म्याचमा थियो । पहिलो म्याच एस्टन भिल्लाविरुद्ध नर्विच सिटी र दोस्रो लिभरपुलविरुद्ध क्विन्स पार्क रेन्जर्स । ती दुवै म्याचको नतिजाले इंग्लिश फुटबलको लिगको नयाँ च्याम्पियनको निर्णय हुने पक्का थियो । म्याच अघिसम्म लिभरपुल शीर्ष स्थानमा थियो भने एस्टन भिल्ला दोस्रो स्थानमा । दुवै टोलीबीच मात्र २ अंकको भिन्नता थियो ।

एस्टनले नर्विचसँग बराबरी खेल्दै समान एक–एक अंक बाँड्यो । अर्कोतिर, लिभरपुलले क्विन्स पार्क रेन्जर्सलाई २–१ ले हराउँदै स्पष्ट तीन अंक बटुल्यो । जितमात्र होईन, ४ अंकको अग्रता बनाउँदै लिभरपुल इंग्लिश लिग च्याम्पियन नै बन्यो । १ सय वर्ष पुरानो इंग्लिश फुटबल लिगमा लिभरपुलको त्यो १८औं लिग उपाधि थियो । त्यतिबेला लिभरपुलपछि सर्वाधिक लिग उपाधि जित्ने सूचीको दोस्रो स्थानमा आर्सेनल र एभर्टन मात्रै थिए । ती दुई क्लबले समान ९र९ पटक उपाधि जितेका थिए । लिगका अन्य बाँकी टिमहरु त लिभरपुलको दाँजोमा टाढा–टाढा सम्म पनि थिएन ।

समय त्यस्तो पनि थियो की १९७५ देखि १९९० बीच प्रत्येक दोस्रो वर्ष लिभरपुल नै लिग च्याम्पियन बन्ने गर्थे । त्यसक्रममा लिभरपुलले ब्याक टू ब्याक ट्रफी पनि जितेका थिए । जसमध्ये सन् १९८२ देखि १९८४ सम्म त लिभरपुल लगातार तीन पटक च्याम्पियन बनेर उपाधिमाथि ह्याट्रिक नै गर्न सफल रहे । त्यो त्यस्तो समय थियो जतिबेला लिभरपुलले १५ वर्षमा १० पटक उपाधि उचालेका थिए ।

त्यतिबेला टिममा केनी डल्गिश र इयान रश जस्ता फरवार्ड, फिल नील जस्ता डिफेन्डर र बब पेस्ले जस्ता म्यानेजर थिए । केनी डल्गिश १९७७–९० का बीच टिमका फरवार्ड रहे । उनले ५ सय १५ म्याचमा १ सय ७२ गोल गरेका थिए । त्यसक्रममा लिभरपुल ६ पटक लिग च्याम्पियन बनेको थियो । त्यस्तै, १९८०–१९९६ बीच खेलेको इयान रशले ६ सय ६० म्याचमा ३ सय ४६ गोल गर्दै लिभरपुललाई ५ पटक लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । १९७४–१९८५ बीच डिफेन्डर फिल नीलले पनि आफ्नो दमदार रक्षात्मक कुशलताको बलमा क्लबलाई ८ पटक लिग उपाधि दिलाएका थिए । त्यस्तै, १९७४–१९८३ सम्म क्लबका म्यानेजर रहेका बब प्रिस्लेको भागमा पनि ६ वटा लिग उपाधि परेको थियो । यी सबै नामहरू लिभरपुलको अल टाइम ग्रेट लिस्टमा सूचीकृत छन् । सन् १९९० भन्दा केही अघि र केही पछि ती नामुद खेलाडीहरु बिदा भएपछि लिभरपुलको विनिंग ट्रयाक पनि रोकियो । त्यसबीच स्टीभेन जेरार्ड जस्ता कुशल खेलाडी नआएका होइनन्, तर क्लबलाई लिग च्याम्पियन भने बनाउन सकेन ।

२५ जुन २०२० अर्थात् हिजो राति चेल्सीले म्यानचेस्टर सिटीलाई २–१ गोलअन्तरले हराएसँगै लिभरपुलले ३० दशक लामो इंग्लिश लिग च्याम्पियनको उपाधि खडेरी पनि समाप्त पार्‍यो । उक्त पराजयपछि ६३ अंक सहित सिटी दोस्रो बन्दा ८६ अंक जोडेको लिभरपुल च्याम्पियन बन्यो । गत सिजन पनि उत्कृष्ट प्रदर्शन गरेको लिभरपुल म्यानचेस्टर सिटीभन्दा एक अंकले पछि पर्दै उपाधि चुम्नबाट चुकेका थिए । कोरोना भाइरसका कारण लिग स्थगित हुनुअघि नै ११ खेल बाँकी रहँदा लिभरपुलले २२ अंकको अग्रता लिइसकेको थियो । यदी लिग नै रद्द गरिएको भएपनि लिभरपुल नै च्याम्पियन बन्ने निश्चित थियो ।

लिभरपुलले लिग जित्नु पछाडि प्रशिक्षक जर्जेन क्लोपको उत्कृष्ट रणनीतिले काम गरेको थियो । सन् २०१५ को अक्टोबर ८ मा क्लोप जर्मन क्लब बोरुसिया डर्टमण्डबाट लिभरपुलमा तीन वर्षका लागि अनुबन्धित भए । बोरुसिया डर्टमण्डमा दुई वटा ला लिगा उपाधि, जर्मन कप र सुपर कपको उपाधि जितेका क्लोपले बोरुसिया डर्टमण्डलाई च्याम्पियन्स लिगको फाइनलमा पनि पुर्‍याएका थिए । क्लोपको प्रशिक्षणमा लिभरपुलले पनि युरोपियन क्लब च्याम्पियनसिपको दुई वटा फाइनल खेल्नुका साथै २०१६ मा युरोपा लिगको फाइनल पनि पुगेको थियो । अघिल्लो सिजन एक अंकले इंग्लिस प्रिमियर लिगको उपाधि गुमाएका भएपनि लिभरपुलले च्याम्पियन्स लिगको उपाधि भने जित्यो । त्यसअघि लिभरपुलले २००५ मा मात्र च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

३० वर्षभित्र लिभरपुलले १० जना प्रशिक्षक परिवर्तन गर्‍यो । रोनी मोरान, ग्रिम साउनेस, रोय इभान्स, जेरार्ड हुलियर, राफेल बेनिटेज, रोय हुड्सन, केन्नी ड्याङलिस र ब्रेण्डन रोजर्सलाई प्रशिक्षकमा नियुक्त गरेका थिए । तीमध्ये राफेल बेनिटेजले भने सन् २००५ को च्याम्पियन्स लिग जिताए पनि प्रिमियर लिग भने जिताउन सकेनन् । लिभरपुल एक दशकअघि सम्म इंग्लिस फुटबलको सर्वाधिक सफल टिम थियो । सबैभन्दा धेरै युरोपेली लिग जितेको क्लब पनि लिभरपुल नै थियो भने इंग्ल्याण्डको शीर्ष डिभिजन पनि सबैभन्दा बढी लिभरपुलले नै जितेको थियो । सन् १९७२ देखि ९० सम्म लिभरपुलले एघारवटा शीर्ष डिभिजन उपाधि जितेको थियो ।

२०१९र२० सिजनमा लिभरपुलले २१ म्याचमा ६१ अंक जोडेर रेकर्ड बनाएको छ । जुन यूरोपका उत्कृष्ट ५ लिगमा अरुले बनाएको छैन । त्यसपछिको ६ म्याच जितेर लिभरपुलले २७ म्याचमा ७९ अंक जोडेर उक्त रेकर्डलाई अझै तगडा पार्‍यो । क्लबले २८औं म्याचमा भने पहिलो हार बेहोर्नु पर्‍यो । ३०औं चरणको खेलसम्म लिभरपुलले दोस्रो स्थानको टिमसँग २५ अंकले अग्रता बनाएको थियो, जुन इंग्लिश फुटबल लिगको १ सय ३२ वर्षको इतिहासमा सबैभन्दा फराकिलो अंक भिन्नता समेत हो ।

प्रतिक्रिया दिनुहोस्