कोरोना गौण



चीनमा कोरोना संक्रमण पुष्टी भएको आठ महिना भयो र कोरोनाको उद्गमस्थल चीन यति बेला पहिलाकै अवस्थामा आफ्नो उद्योग, व्यवसाय, कलकारखाना खोलेर आम नागरिकको रक्षा गर्नुका साथै रोजगारीमा समेत यथास्थितिमा फर्किसकेको छ । नेपालमा पनि पहिलो कोरोना संक्रमणको बिरामी फेला परेको यही असार ९ गते पाँच महिना पूरा भइसकेको छ । तर, नेपालले धेरै काम गर्न सक्ने प्रशस्त समय अन्यत्र ध्यान दिएकाले संक्रमण निरन्तर बढिरहेको छ ।

सरकारले २०७६ चैत ११ गते लकडाउन गर्दा जम्मा तीन जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । यो संख्या बढेर २०७७ असार ९ गतेसम्म पुग्दा कोरोना संक्रमण पुष्टी हुने संख्या १० हजार ९९ पुगेको छ । शुरूमा तीनवटा जिल्लामा देखापरेको कोरोना संक्रमण अहिले ७६ जिल्लामा फैलिसकेको छ । संक्रमितमध्ये अहिलेसम्म २ हजार २ सय २४ संक्रमणमुक्त भएर घर फर्किएका छन् । मृत्यु हुनेको संख्या २४ पुगिसकेको छ ।

भारतलगायतका मुलुकमा रोजगारी, उच्च शिक्षा हासिलका लागि बसोबास गर्दै आएका नेपाली पछिल्लो समय बिनाचेकजाँच नेपाल भित्रिन बाध्य भएका र उनीहरूमध्ये कतिलाई पहिला नै कोरोना संक्रमण भइसकेका कारण नेपालमा यति ठूलो संख्यामा संक्रमित बढेको बताइन्छ । सरकारले शुरूका दिनमा जो–जहाँ छ त्यहीं बस्न, काम गर्न, सुरक्षा नीति अपनाउनुपर्नेमा काठमाडौं छोडेर गाउँ फर्क भन्यो ।

अहिले तिनै कामदारलाई शहर फर्क भन्न थालिएको छ । केही समयअघि सरकारले नै एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न पनि पीसीआर जाँचबिना प्रवेश नदिने भन्दै सुरक्षा निकायलाई निर्देशन दिएको थियो । जनताले सरकारको पहिलो निर्णय मानेर अहिले गाउँबाट फर्किएका हजारौंको संख्यामा पीसीआर परीक्षणका लागि दैनिक टेकुमा पुग्ने गरेका छन् ।

टेकुमा भीड हुन थालेपछि अन्य स्वाब परीक्षणमा समस्या भएको भन्दै गृह मन्त्रालले घरधनीलाई प्रवेशमा रोक नलाई १४ दिन होम क्वारेन्टाइन बस्न दिन आग्रह गरेको छ । होम क्वारेन्टाइनमा बस्दा कुनै लक्षण देखिए मात्र पीसीआर परीक्षण गराउन गृहको आग्रह छ । अहिले घरधनीले प्रवेशमा रोक लगाएको भन्दै थुप्रै नागरिक समस्यामा पर्ने गरेको गृहले जनाएको छ ।

सरकारको यो ढुलमुले नीति निर्देशनका कारण आम नेपाली जनताले सास्ती भोग्दै छन् । सरकार भने कोरोनाबारे भ्रम प्रचार गर्नेलाई मुलुकी अपराध संहिताको व्यवस्था आकर्षित गरेर १ लाख रूपियाँ जरिवाना तथा छ । महिनासम्म कैद सजाय गर्ने निर्णय गरेर त्रास फैलाइरहेको छ ।

सरकारले कोरोनाकै बीच नेपालको नक्सामा सुधार ल्याएर सकारात्मक काम गरेको छ, राष्ट्रियताभन्दा ठूलो अर्को विषय नभएको हुँदा कोरोनामा नअलमलिई यता लाग्नु स्वागतयोग्य छ । तर, यसबीच जति पनि राजनीतिक काम भए त्यसमा सरकारले विवाद मात्र हात पारेको छ ।

संसद् डाक्नुअघि नै अध्यादेशबाट दुई विधेयक ल्याउने र पार्टीमा एक्लै हिँड्न खोजेर प्रधानमन्त्री केपी ओली यसैबीच आलोचित हुनुभएको छ । अब आगामी दिनमा यसभन्दा बढी आलोचित हुने काम नगर्ने र सम्पूर्णरूपले कोरोनामा केन्द्रित हुने अभ्यासमा लाग्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्