योग मनलाई सुसंस्कृत गर्ने विज्ञान हो



ब्रह्माकुमार शिशिर रेग्मी

आज सन् २०२० जुन २१ का दिन, अन्तर्राष्ट्रिय योग दिवसको शुभ अवसरमा विश्वभरिका सम्पूर्ण मानव आत्माहरूमा ब्रîमाकुमारी ईश्वरीय विश्व विद्यालयको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।

योगको परिचय, आवश्यकता र महत्वः

योग पूर्वीय सस्कृति र अध्यात्मको गौरवशाली सम्पत्ति हो, जुन मानव सभ्यताका लागि एक अनुपम योगदान हो । योगले हाम्रो तन–मनलाई निरोगी बनाएर दैनिक जीवनमा आउने चुनौतिलाई सफलतापूर्वक सामना गर्नका लागि शक्ति प्रदान गर्दछ ।वर्तमान संसारमा अनेक प्रकारका योगहरु प्रचलित छन्। विभिन्न धर्म, सम्प्रदाय र समुदायमा अलग–अलग विधिहरु अपनाइन्छ ।

कसैले मैनबत्तिको ज्वालामा मनलाई टिकाउने प्रयास गर्दछन् भने कसैले प्राणायमका विभिन्न मुद्राहरुको अभ्यास गरेर तनावबाट मुक्ति पाउने प्रयास गर्दछन् । कसैले कर्मयोगलाई श्रेष्ठ मान्दछन् भने कसैले घर–परिवारको परित्याग गरेर सन्यास धारण गर्दछन् । यसरी विभिन्न प्रकारका योगासन, ध्यानाभ्यास, प्राणायम तथा शारीरिक मुद्राको विधिहरु प्रचलित हुनाको कारण कुनै यथार्थ योगको विकल्पको चयन गर्नु मनुष्यका लागि कठीन हुन्छ ।

संसारमा प्रचलित यी योगासन वा योग क्रियाहरु केबल शरीर केन्द्रित भएको पाइन्छ, जसले शरीरलाई हृष्ट–पुष्ट बनाउन र शरीरमा स्फूर्ति ल्याउन मद्यत अवश्य गर्दछ । साथै यस्ता क्रियाहरुले अनेक रोगबाट शरीरलाई बचाउन मद्यत गर्दछ । तथापि आज हामी शरीरबाट यति दुःखी छैनौं, जति मनबाट छौं । घर–घरमा झगडा, मारपिट, आत्महत्या, क्रोध, इष्र्या, द्वेष, वैर–विरोध, बलात्कार, हत्या, चोरी आदि जेजति रोग र समस्याहरु छन्, यिनीहरु तनसँग त सम्बन्धित छैनन्, बरु मनका उपज हुन् ।

फेरि त्यो योगको के फाइदा, जसले केबल तनलाई मात्र फाइदा गरोस् । केबल सहज राजयोग नै यस्तो योग हो, जसले तन र मन दुबैलाई स्वस्थ गर्दछ । राजयोग जीवन जिउने कला हो । राजयोग अर्थात् सकारात्मक जीवन पद्दति । योगको शाब्दिक अर्थ हुन्छ, जोड्नु अर्थात् मिल्नु । जबसम्म योगमा आत्मा र परमात्माको मिलन हुँदैन, सम्बन्ध स्थापित हुँदैन, तबसम्म यसको अभिप्राय सिद्ध हुँदैन । राजयोगमा आत्मा र परमात्माको मिलन हुन्छ ।

यस अलौकिक मिलनबाट आध्यात्मिक उर्जा शरीरको अंग–अंगमा प्रवाहित हुन थाल्दछ र आत्माले परमानन्दको अनुभूति गर्दछ । राजयोग अन्तर्आत्माका सुशुप्त शक्तिहरुलाई जागृत गरेर कर्ममा कुशलता, व्यवहारमा सौम्यता र विश्वबन्धुत्वको भावनालाई तीब्रगतिले बढावा दिन्छ ।

कर्ममा योगाभ्यास गर्नाले हामी कर्मेन्द्रियको अधिन हुँदैनौं । त्यसैले जब हामी कर्म गर्दछौं, अनुभव बढाऔं कि म आत्मा यी हातद्वारा कर्म गरिरहेको छु । म अलग छु… । मेरा यी कर्मेन्द्रियहरु अलग छन्… । यसबाट हामी कर्मबाट अनासक्त रहन्छौं र हाम्रो कार्य गर्ने शक्ति धेरै बढ्दछ । यो कर्म र आध्यात्मिकताको सुन्दर सन्तुलन हुनेछ । यदि हामी बिना योग कर्म गर्दछौं भने कर्ममै उल्झिरहेका हुन्छौं ।

सारा दिन कर्ममा यति उल्झिरहेका हुन्छौं कि साँझसम्ममा हामीलाई टेन्सन भइसकेको हुन्छ, थकानको महसुसता हुन्छ । योगबल बढाउनाले कर्म गर्दा आउने स–साना कुराहरु, कसैको व्यवहार लगायतका कुराहरुले असर गर्दैनन् । कर्मयोगी नै कर्मको असरबाट पर रहन्छन् । कर्मयोगी नै विकर्माजीत बनेर पुनः कर्मातीत बन्दछन् ।

योग शब्द आफैंमा अति पवित्र, उत्कृष्ट र दिव्य शब्द हो । योग शब्द संस्कृतको “युज” धातुबाट बनेको हो । युजको अर्थ हुन्छ जोड वा सम्बन्ध । योगलाई अनुशासन र संयमको प्रयायवाचीको रूपमा पनि बुझिन्छ । योग शारीरिक स्वच्छता र सु–स्वास्थ्यको साथसाथै आत्मा शुद्धिकरणका लागि सबैभन्दा महत्वपूर्ण विषय हो ।

आजको संसार भौतिक सम्पननताको बाबजुद पनि मनुष्यमा चिन्ता, दुःख र तनाव दिनप्रतिदिन बढ्दै गइरहेको छ । आज मनुष्य जीवन अनेक समस्या, विघ्न–बाधा र परिस्थितिहरुले घेरिएको छ । यी सबै समस्याहरुको सही समाधानका लागि परिस्थितिहरूबाट सदैब मुक्तिका लागि हामीलाई एउटा यस्तो विधिको आवश्यकता छ, वास्तवमा त्यो विधि हो योग । योग वर्तमान समयको सबैभन्दा बढी खोजिएको र सबैभन्दा बढी महत्वपूर्ण विधि हो ।

मेडिटेशनः

योगलाई अंगे्रजीमा वा आम प्रयोगको भाषामा मेडिटेशन भनिन्छ । चिकित्सा विज्ञानमा प्रयोग गरिने मेडिसिन र आध्यात्मिक विज्ञानमा प्रयोग गरिने मेडिटेशन दुबै शब्द लेटिन भाषाको मेडरि  शब्दबाट उत्पन्न भएका हुन् । दुवैको अर्थ उपचार गर्नु भन्ने हुन्छ । औषधिले शारीरिक समस्याको उपचार गर्दछ भने ध्यान मेडिटेशनले आन्तरिक वा मानसिक समस्याहरुको समाधान गर्दछ । मेडिटेसनले मानिसको मनलाई शान्त, शीतल, शालीन र निर्मल बनाउँदछ र अन्ततः खुशी र आनन्दको अनुभूति हुन्छ ।

मेडिटेशनले मन र बुद्धिका बीचमा सामञ्जस्यता कायम गरेर एकरस मनस्थिति र मनोवृत्तिको माध्यमबाट शरीरका सम्पूर्ण प्रणालीहरूलाई सहज रुपमा कार्य गर्न मद्यत गर्दछ । प्राकृतिक रूपमा अन्तःश्रावित प्रणालीबाट उत्पन्न हुने हार्माेन र अन्य सबै क्रियाहरू सन्तुलनमा रहन्छन् । शरीरमा उत्पन्न हुने सबै प्रकारका टक्सिन समाप्त भएर जान्छन् ।

यसबाट भौतिक स्वास्थ्यलाई पनि स्वस्थ रहन ठूलो मद्दत मिल्दछ । चिकित्सा विज्ञानले परीक्षणमा जुन तथ्य हासिल गरेको छ की ८० प्रतिशत भन्दा बढी रोग मनोशारीरिक (उकथअजयकयmबतष्अ) हुन्छन् । त्यस्तो अवस्थामा योगको निरन्तर अभ्यासबाट प्रशस्त सुधार गर्न सकिन्छ ।

राजयोग मेडिटेशनः

राजयोग मन तथा इन्द्रियलाई नियन्त्रण र संयम गर्ने विद्या हो । राजयोग स्व–सशक्तिकरणको कला हो । राजयोग जीवनलाई व्यवस्थित गरी सर्वपक्षीय समृद्धिको अनुभूति गर्ने शिक्षा हो । मनमा आन्तरिक शक्ति जागृत गर्ने एक सर्वोत्तम उपाय हो– राजयोग । त्यस्तै राजयोग सर्वगुण र सर्वशक्तिहरुको स्रोतसँगको निरन्तर सम्बन्ध हो, जसबाट आत्माको शुद्धिकरण र सशक्तिकरण हुन्छ ।

जसरी शरीरलाई शक्तिशाली बनाउन भोजन अनि आराम दुवैको आवश्यकता र सन्तुलन चाहिन्छ, यसैगरी मनलाई पनि आध्यात्मिक खुराक अर्थात् सकारात्मक विचारको आवश्यकता पर्दछ । योग अर्थात आफ्नो चेतनालाई तालिम दिनु, स्वयंको जागृति एवं निरन्तर अभ्यासमा लागिरहनु, मनलाई सदा सकारात्मक दिशातर्फ उन्मुख गराउनु । जबसम्म विचारलाई सकारात्मक बनाउन सकिंदैन, तबसम्म जीवनमा समस्याको समाधान, सुख र सफलता प्राप्त गर्न सकिदैंन ।

राजयोगले हामीलाई आफ्नो वास्तविक स्वरुपमा स्थित हुने कला र शक्ति प्रदान गर्दछ । हाम्रो वास्तविक स्वरुप सुख, शान्ति, प्रेम, आनन्द, पवित्रताले सम्पन्न स्वरूप हो । राजयोगमा स्वयंमा अन्तर्निहित यी गुण र शक्तिहरूमा केन्द्रित भई यिनीहरूको सत्य अनुभव गर्न सकिन्छ ।

राजयोगले अन्य सबै प्रकारका मन्त्र, जप, ध्यान, प्रणायाम, हठ क्रियाहरुको तुलनामा दीर्घकालिन उपलब्धीलाई लक्षित गर्दछ । यसमा खासै शारीरिक आसनभन्दा पनि मानसिक एकाग्रता र संकल्पको शुद्धिलाई विशेष स्थान दिइन्छ । साथै राजयोग सत्य ज्ञानमा आधारित भएका कारण ज्ञानको स्पष्टीकरणका साथ यसको अभ्यास गर्दा बढी फलदायी हुन्छ ।

राजयोगमा मानिसले आफूलाई आफ्नो शाश्वत स्वरूप— “म निधारको बीचमा विराजमान एक दिव्य चैतन्य प्रकाशको पुञ्ज ज्योतिस्वरूप आत्मा हूँ, भौतिक शरीरभन्दा अलग्गै अभौतिक शक्ति हूँ तथा परमपिता सर्वोच्च सत्ताको अमर सन्तान हूँ भन्ने चेतनाका आधारमा परम पवित्र ज्ञान, गुण र शक्तिको अतुलनीय भण्डार ज्योतिमा पनि महाज्योति सत्यम्–शिवम्–सुन्दरम्को सत्य पहिचानबाट निश्चयका साथ उहाँसँग प्रेमले विभोर भई एकाकार हुनु अर्थात् उहाँमा मन–बुद्धिलाई एकाग्र गरी गर्ने गरिन्छ ।

यसरी आत्मा परमात्माको यथार्थ ज्ञानका आधारमा मात्रै राजयोग अभ्यास सफल हुन सक्दछ । किनकि यो प्रक्रिया आत्मा र परमसत्ता बीचको दोहरो वार्तालापको प्रक्रिया हो । आत्मा र परमात्म सत्ताको सही ज्ञान भएमा मात्र राजयोग अभ्यास सार्थक हुन्छ । अन्यथा जसरी सही ठेगाना बिना पठाएको पत्र सम्बन्धित व्यक्तिकहाँ नपुगी अन्यत्र पुग्न सक्दछ, त्यस्तै केवल मानेर मात्रै याद गरेर हुँदैन, जानेर याद गर्दा चाहेभन्दा बढी उपलब्धी हासिल गर्न सकिन्छ ।

राजयोग विज्ञान वास्तवमा आत्म–शोधन, आत्म शुद्धिकरण एवं आत्माको निर्मलिकरणको विज्ञान हो । यसको निरन्तर अभ्यासबाट बेलगामी रूपमा रहेको चञ्चल मन स्थिर हुन पुग्दछ । नाना थरिका सांसारिक भोग, वासना, देह आकर्षणसँग सरोकार राख्ने संकल्प विकल्पहरू परिवर्तन भई आत्मभाव भएका उच्च विचार, भावना, मनोवृत्तिका रूपमा फस्टाउने वा तरंगित हुने गर्दछन् ।

यसबाट बुद्धिमा दिव्यताको विकास हुन्छ, बुद्धिको मलीनपना र कुमति समाप्त हुन्छ । बुद्धि विवेक संगत बन्दछ, जसबाट सदा सही निर्णय दिन सक्दछ । साथै अर्धचेतन र अवचेतन मनभित्र अन्तर्निहित कुसंस्कार र विकारजन्य संस्कार समाप्त हुँदै जान्छन् तथा मानिसको आत्माभित्र रहेको अति उच्च चेतनाको जागृति प्रष्फुटन हुन्छ । यसबाट मानिसका शाश्वत् गुण, स्वभाव र मूल्यहरू फक्रिन पुग्दछन् ।

यस प्रकारले मन, बुद्धि र संस्कार सहितको आत्मा आन्तरिक रूपमा नै सफा, स्वच्छ, निर्विकार, बेदाग हीरा समान बन्दछ । आत्माले सम्पूर्णतालाई प्राप्त गर्दछ । पूर्णिमाको चन्द्रमा अति शोभायमान र पूर्ण भए झैं आत्माको सर्वगुण सम्पन्न, सोह्र कला सम्पूर्ण, सम्पूर्ण निर्विकारी स्थितिले मानवलाई देवतुल्य बनाइदिन्छ । आत्माको भित्री सुन्दरता र पूर्णता उसको चेहरा, चलन र चरित्रमा स्पष्ट रूपमा झल्किन्छ अर्थात् उसका प्रत्येक अ·–अ· समेत शान्त, शीतल, निर्मल र पवित्र बन्दछन् ।

उसको मनसा, वाचा र कर्मणाको बीचमा पूर्ण एकरूपता हुन्छ । उसको कर्म र व्यवहार सबैका लागि सुखकारी र प्रेरणादायी हुन्छन् । उसको संकल्पमा शुद्धि, बोलीमा मधुरता तथा कर्म व्यवहारमा सदाचारजस्ता गुण–स्वभावहरू देखा पर्दै जान्छन् । मानौं उसको सम्पूर्ण व्यक्तित्व नै सबै मूल्य र गुणहरूको एक चैतन्य संग्रहालय बन्न पुग्दछ ।

फलतः सम्पूर्ण संसारका मानवजाति, अन्य प्राणीजगत् र प्रकृतिका सम्पूर्ण तत्वहरू समेत अन्त्यमा सतोगुणी बनी उच्चतम स्थितिलाई प्राप्त गर्दछन् । यसरी व्यष्टिबाट आत्म–शोधनका लागि गरिएको राजयोग विज्ञानको प्रभाव समष्टीमा पर्न गई सुख, शान्ति, समृद्धिले सम्पन्न सभ्य समाज र सभ्य संसारका रूपमा रूपान्तरण हुन्छ ।

राजयोग मेडिटेशन र प्रार्थनामा अन्तर :

प्रार्थनामा अक्सर मन्दिर जान्छौं, हात जोड्छौं र हामीलाई जे बोल्नु छ, त्यो बोलिदिन्छौं । बोलिसकेपछि हामी बाहिर आउँछौं । तर मेडिटेशनमा सर्वप्रथम त हामी मनलाई शान्त र स्थिर गर्दछौं । गहन शान्तिसँगै हामी बोल्दछौं अर्थात् संकल्प गर्दछौं, त्यसपछि पुनः गहन शान्तिपूर्वक सुन्छौं भगवानको प्रतिउत्तर । तर आजको समयमा भगवानले के भनिरहनुभएको छ भनेर सुन्ने फुर्सद नै कहाँ छ र ? त्यसो त परमात्माको परिचय सम्बन्ध, स्नेह र प्राप्तिको ज्ञान नहुनाले सुन्न पनि सक्दैनौं ।

वर्तमान युगमा राजयोगको स्थानः

आज मनुष्यहरुको रहने र जीविकोपार्जनको साधन निकै तीव्र गतिबाट परिवर्तन भइरहेका छन् । विज्ञानको यो तीव्र गति विकासले मनुष्यलाई भौतिक सुख सुविधा र मनोरंजनको अनगिन्ती साधन दिएको छ । फलतः मनुष्य वैज्ञानिक साधनहरुमा अधिक निर्भर भएको छ र उसको आवश्यकता र प्रलोभनको विषय पनि अधिक बढेको छ ।

यो सबैको परिणाम स्वरुप मनुष्यको मस्तिष्कमा अभूतपूर्व दबाब छ । यो दिमागी थकावट, मानसिक बोझ हतार र तनावको हालतमा मनुष्य आफ्नो दैनिक कार्यहरुमा जुन निर्णय लिन्छ त्यो पनि यस्तो त्रुटिपूर्ण हुन्छ कि त्यसबाट झन अरु समस्या खडा हुन्छन् र मनुष्य उल्झनमा पर्दछ ।

यस्तो अवस्थामा राजयोग नै एकमात्र साधन हो जसद्वारा मनुष्य सम्पूर्ण शान्ति र ईश्वरीय आनन्द प्राप्त गर्न सक्दछ । योग नै हो जसबाट मनुष्यले मानसिक विश्रान्ति पाउन सक्दछ किनकि राजयोगले मनुष्यको मानसिक आवेगलाई नियन्त्रित गर्दछ । उसको विचार अथवा मानसिक ग्रंथिहरुलाई सुल्झाउँदछ । त्यसलाई निष्पक्षभावबाट निर्णय गर्ने क्षमता दिन्छ ।

यसद्वारा मनुष्यको एकाग्रता बढ्दछ र उसलाई स्थायी एवं अलौकिक शान्तिको अनुभूति हुन्छ । त्यसको फलस्वरुप उसले शान्तिपूर्ण स्थितिको अनुभव गर्दछ र अरुलाई पनि शान्तिसँग जिउन दिन्छ । उसको मनको यो दिव्य स्थिति समाजलाई सुधार्नमा पनि सहायक हुन्छ ।

फलस्वरुप यस्तो समाजको निर्माण हुन्छ, जसको सदस्यहरुमा पारस्परिक प्रेम हुन्छ, मैत्री हुन्छ, धैर्य तथा सन्तोष हुन्छ । जहाँका मनुष्य सुखी हुन्छन्, पवित्र एवं स्वस्थ हुन्छन् । मानसिक तथा बौद्धिक योग्यता हुन्छ तथा आत्मिक महानताहरुको पूर्ण विकास हुन्छ ।

राजयोग मेडिटेशनका फाइदाहरुः

राजयोग मेडिटेशन स्वयंमाथि नियन्त्रण गर्ने एक पद्धति हो, जसले हाम्रो जीवनलाई सहज र खुसीले भरिपूर्ण बनाउँदछ । यसको अभ्यास गर्नाले हाम्रो मन शान्त र शक्तिशाली हुन्छ । राजयोग मेडिटेशन अर्थात आत्माको परमात्मासँग मिलन । यसबाट हामी परमात्माबाट प्राप्त हुने सर्वशक्ति र सर्वगुणहरुलाई अनुभव गर्दछौं ।

राजयोग मेडिटेशनबाट स्वयंभित्र विश्वास जागृत हुन्छ र हाम्रो आत्मबल बढ्दछ । जसबाट स्वस्थ र सुखी जीवन जिउन सहज हुन्छ ।
राजयोग मेडिटेशनद्वारा हामीले स्वयंलाई हरेक परिस्थितिमा सकारात्मक र स्थिर राख्न सक्दछौं । जीवनलाई शान्ति, प्रेम र खुसीले सम्पन्न बनाउन सक्दछौं ।

राजयोग मेडिटेशन गर्नाले हामीमाथि बाहिरी नकारात्मक वायुमण्डलको कुनैपनि प्रभाव पर्दैन । यसबाट हाम्रो कार्यक्षमता र कार्यकुशलता पनि अधिक हुन्छ । राजयोग मेडिटेशनबाट हामीलाई जीवनको वास्तविक आनन्द प्राप्त हुन्छ । राजयोगबाट जीवनमा क्रोध, तनाव, भय र अहंकारको सही व्यवस्थापन हुन्छ ।

राजयोगको नित्य अभ्यास गर्नाले हाम्रो निन्द्रा पनि सतोप्रधान बन्दछ । यसले हाम्रो मस्तिष्कलाई शान्त राख्दछ र यसको अभ्यासले शरीरमा कोर्टिसोल हार्मोन सही मात्रामा सञ्चार हुन्छ । मेडिटेशनबाट मनको एकाग्रता बढ्दछ । अध्ययनमा ध्यान केन्द्रित हुनाले सहज सफलता प्राप्त हुन्छ ।

मेडिटेशनबाट प्रकृतिद्वारा आउने समस्याहरुबाट बच्न सक्दछौं । प्रकृतिमाथि जीत प्राप्त गर्न सक्दछौं । प्रकृतिका पञ्चतत्वहरुबाट सुख र सहयोग प्राप्त हुन्छ । राजयोगको अभ्यासद्वारा हामीभित्रका कमजोरी, नकारात्मकता र विकारहरु समाप्त हुन्छन् । जीवनमा नैतिक र आध्यात्मिक मूल्यको विकास हुन्छ । हाम्रो चरित्र निर्माण हुन्छ । खुसी बढ्दछ । आपसी सम्बन्ध सुमधुर बन्दछ । व्यक्तिगत, पारिवारिक र व्यवसायिक सफलता प्राप्त हुन्छ ।

राजयोगको अभ्यासबाट मानव गृहस्थ र समाजमा सक्रिय भएर पनि अनासक्त रहन सक्दछ । अर्थात् परिस्थितिमा तटस्थ रहेर कमल पुष्प समान जीवन जिउन सक्दछ । राजयोग मेडिटेशनको अभ्यासबाट अत्यन्तै कडा संस्कार पनि परिवर्तन भएर व्यक्ति क्रियाशिल र जागरुक बन्दछ । मनलाई नियन्त्रण गरेर आफ्नो वृत्तिलाई श्रेष्ठ बनाउँदछ । स्वयंको अथाह शक्तिलाई कार्यान्वयन गर्न सकिन्छ ।

यस वर्षको नाराः

यस वर्ष विश्वभरि नै योगा एट होम, योगा विद् फैमली भन्ने नारा अन्तर्गत विविध कार्यक्रमका साथ मनाइदैं छ । हुन त अहिले विश्वभरि प्रतिकूल परिस्थिति छ, एउटा महामारीका कारण हरेकको मन भयले आक्रान्त छ, चिन्ता र तनावको वातावरण छ, तथापि आज परिवारका सबै सदस्य एकै घरभित्र स्नेह र प्रेमपूर्वक बस्ने सुअवसर मिलेको छ ।

सुख–दुःख बाड्ने अवसर मिलेको छ । सबै सदस्य घरमै भएको यो अवसरमा राजयोगको अभ्यास अत्यन्तै उपयोगी सिद्ध हुन्छ । सम्बन्धमा आउने स–साना उतार–चढाबलाई समाप्त गरी एकअर्कामा सुमधुर सम्बन्ध स्थापित गर्न राजयोगले मद्यत गर्दछ ।

त्यस्तै अहिलेको भयको वातावरणमा भयको सही व्यवस्थापन गरी सुन्दर भविष्यको योजना सहित वर्तमानमा पनि खुशी र आनन्दको वातावरण बनाउनमा राजयोगबाट धेरै मद्यत मिल्दछ । परिवारको सर्वपक्षीय कल्याण र समृद्धिका लागि राजयोगको अभ्यास गर्न अति आवश्यक छ ।

वर्तमान महामारीको समाधानका लागि राजयोग अभ्यासः

राजयोग अर्थात् मनमा श्रेष्ठ संकल्पको रचना गर्नु । यी श्रेष्ठ संकल्प अध्यारोमा दीपकको कार्य गर्दछ । संकल्पबाट सृष्टि बन्दछ अर्थात् हामी जे सोच्दछौं, त्यो वास्तविकता बन्दछ । वर्तमान परिप्रेक्ष्यमा संसारभरि व्याप्त महामारी, यस महामारीले निम्त्याएको मृत्यु, डर, अनिशिचतता र अन्य नकारात्मक परिणामबाट बच्नका लागि नियमित राजयोग अभ्यास गरौं ।

आजको सन्दर्भमा हामीले शान्ति, सहनशीलता, शक्ति, स्वास्थ्य र साथ चाहन्छौं । त्यसैले निरन्तर यिनै विषयमा मनमा संकल्पको रचना गर्ने निम्नानुसारको अभ्यास गरौं ।

१) …म शक्तिशाली आत्मा हुँ… मेरो शक्ति सबै व्यक्ति, व्यवहार र परिस्थितिभन्दा माथि छ… मलाई कुनै पनि घटनाले प्रभावित बनाउन सक्दैन… जसले जेसुकै बोलोस् वा गरोस्, तर म विचलित हुन्न… मानिस र घटनाको नकारात्मक उर्जाले मलाई छुन सक्दैन… किनकि म शक्तिशाली आत्मा हुँ… ।
२) …म शान्तस्वरुप आत्मा हुँ… आज सारा दिन जस्तोसुकै परिस्थितिमा पनि शान्त रहनेछु… थाहा छ, परिस्थिति प्रतिकूल छ, सबैको मनस्थिति अशान्त छ, चिडचिडापन, मुड अफ र क्रोधको वातावरण छ, तथापि मलाई हरहालतमा शान्त रहनु छ… यो समय प्रेम र स्नेह बाड्ने समय हो… ।
३) …म निर्भय र निडर आत्मा हुँ… म अदम्य साहस, असीमित मनोवल र सत्य ज्ञानको प्रतिमूर्ति हुँ… म हरेक विषम परिस्थिति, समस्या र नकारात्मक वातावरणबाट अप्रभावित छु… वरिपरिका व्यक्ति र वातावरणको डरको भाइब्सले मलाई असर गर्नेछैन… ।
४) …मेरो शरीर निरोगी र स्वस्थ छ र सदैब रहनेछ… म रोगप्रतिरोधात्मक शक्तिले भरिपूर्ण छु… । सबै अनुमान, भ्रम र शंकाबाट सदैब मुक्त छु… ।
५) मेरो वरिपरि परमात्मा शक्ति र वरदानको एक सुरक्षा कवच छ… म यो सुरक्षा कबचभित्र सदैव सुरक्षित छु… यस सुरक्षा कवचभित्र कसैको गलत बोली, गलत व्यवहार, विभत्स घटना, नकारात्मक सूचना केही पनि प्रवेश गर्न सक्दैन…।
६) मेरो घर, परिवार र कार्यक्षेत्र वरिपरि परमात्मा शक्तिको एक सुरक्षा कवच छ… परमात्माको शक्तिशाली घेराभित्र यी सबै सुरक्षित छन्… । यही सुरक्षा कबचभित्र मेरो यो सम्पूर्ण विश्व पनि सुरक्षित छ… सबैजना र सबैथोक सुरक्षित, स्वस्थ र सुखी छन्…।
७) यो कोरोना महामारी अब विश्वबाट सम्पूर्ण उल्मुलन भइसकेको छ… यो भाइरस समाप्त भइसकेको छ सदाका लागि… ।

अन्त्यमाः

अन्त्यमा, पुनः अन्तराष्र्टि«य योग दिवसको अवसरमा यहाँहरु सबैजनालाई स्वस्थ तन, खुशीयाली मन र समृद्ध जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ओम् शान्ति ।

प्रतिक्रिया दिनुहोस्