जनजीविकामा ध्यान देऊ



कोरोना महामारीका कारण विश्व नै हायलकायल बनेको छ । नेपाल पनि यसको प्रत्यक्ष मारमा परेको छ । करिब ३ महिनादेखि जारी लकडाउन र सरकारको उपयुक्त राहत प्याकेजविना आम सर्वसाधारण मारमा परेका छन् । सरकारले जनजीविकामा प्रत्यक्ष ध्यान दिनुपर्छ । जनता रोग हैन भोेकले मर्न थालेका छन् । कोरोना महामारीका कारण सरकारलाई समेत खर्च धान्न मुस्किल परिरहेका बेला आम सर्वसाधारण जनताको हबिगत कस्तो भएको होला ? यो बुझ्न अझै कति समय लाग्ने हो ?

नीति निर्माण गर्नेदेखि त्यसलाई कार्यान्वयन गर्ने दायित्व बोकेर सरकार सञ्चालन हुने गर्छ । शान्ति, सु–व्यवस्था कायम राख्दै जनताका दैनिक जीवनका समस्यासँग जोडिएर काम, कारबाही सञ्चालन गर्नु सरकारको काम हो । तर जनताको दैनिक समस्यासँग एकाकार हुनेभन्दा स्वार्थतिर बढी केन्द्रित रहँदा जनता र सरकारबीच सम्बन्ध नजिक हुनेभन्दा टाढिने बढी गरेको छ ।

जनताले आफ्ना जनजीविकासँग जोडिएका दैनिक विषयमा सरोकार नराख्नेसँग सरोकार राखिराख्न पनि जरुरी ठान्दैनन् । सुविधाको उपभोग गरेर सरकार सञ्चालन गर्नेहरू ठूल्ठूला एजेन्डा बोकेर चले पनि जनताको दैनिक जीवनसँग जोडिने सुशासन र विकासजस्ता कुरामा ध्यान दिन नसक्दा देशले उन्नतिको दिशा पक्डन सकिराखेको छैन ।

यहाँ उठाउन खोजेको कुरा जनताको दैनिक जीवनसँग जोडिएका सवालहरूको हो । ती सवालमा काम गर्नलाई कहीले पनि छेक्दैन । यी सरकारका नियमित कामभित्र पर्ने विषय हुन् । विडम्बना, लामो समय भयो जनताका दैनिक रोजीरोटीका सवाललाई प्राथमिकतामा राखेर सरकारहरू नचलिराखेको । जनताले ठगी र महँगीको मार खेपिराखेका छन् । असुरक्षा, भ्रष्टाचारमुखी र अनुत्तरदायी प्रशासनमा कुँजिएका छन् ।

स्वास्थ्य उपचार, शिक्षा, पानी, बिजुली, बाटोका आधारभूत सुविधाको माग गर्दा त्यसमा सरकारको ध्यान नपुग्नु प्रमुख कार्यभार पूरा गर्ने दायित्वभन्दा इच्छाशक्ति नहुने कारण बढी देखिन्छ । जनताको काम गर्नु यदि सरकारको प्रमुख उद्देश्य हो भने उनीहरूको दैनिक अप्ठ्यारालाई हल गर्न किन सक्रियता नदेखाउने ? जनताका यी सवालहरूमा सरकार घोत्लिनु जरुरी छ ।

अहिलेको अवस्थामा त जनताले गणतन्त्रको अनुभूति नै गर्न नपाउने अवस्था देखियो । अझ स्थानीय तहमा पुगेको भनेको सिंहदरबारबाट प्रचार गरेअनुसारको काम नहुँदा र आवश्यक कानुन नबन्दा जनतामा विश्वास घट्दै जान थालेको छ । जनताका आधारभूत आवश्यकताका कामहरू पछि पर्दै जाने हो भने यो गणतन्त्रमाथि धोका र त्यसका विरुद्ध अपराध हुन जान्छ ।
– सामना घिमिरे, कालिकोट ।

प्रतिक्रिया दिनुहोस्