डिनको कार्यालयमा ताला लाग्याे



न्युज अफ नेपाल, काठमाडौँ ।

चिकित्सा शास्त्र अध्ययन संस्था (आईओएम) मा डिन नियुक्तीको बिषयलाई लिएर विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्ने माग राख्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा डिनको कार्यालयमा तालाबन्दी गरिएको छ ।

त्रिवि कार्यकारी परिषदको बुधबार बसेको बैठकले सर्च कमिटीले सिफारिस गरेको तीन जनाको नाम मध्येबाट त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख प्रा.डा. दिब्या सिंह शाहलाई डीनमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

त्रिवि शिक्षण अस्पतालको मृगौला प्रत्यारोपण विभागको प्रमुख, प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक डा.सिंको वरियताक्रममा वरिष्ठता नभएको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन ।

गत महिना जेठ २२ गते प्रा.डा.जगदीश प्रसाद अग्रवाल डीनबाट अवकाश भएपछि डीन पद रिक्त हुन पुगेको थियो । जेठ २३ गते त्रिवि कार्यकारीले प्रा.डा. प्रेम ज्ञवालीको संयोजकत्वमा नाम सिफारिस गर्न तीन सदस्यीय सर्च कमिटि गठन गरेको थियो । सो कमिटिमा प्रा.डा. जीवन शेरचन र प्राडा सुवास आचार्य सदस्य हुनुहुन्थ्यो ।

कमिटिले प्रा.डा. प्रदीप बैद्य, प्रा.डा.सिं र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
युनियनको समर्थनमा नेपाल विद्यार्थी संघ र आईओएमका प्रात्यापकहरुको समते समर्थन रहेको छ । विगत लामो समय देखि डा. गोविन्द केसीले वरिष्ठताका आधारमा डीनको नियुक्ती हुनुपर्ने अडान लिँदै सत्याग्रह गर्नुभएको थियो ।

उहाँको माग पुरा गर्न सरकारले पटक पटक सम्झौता गर्दै आएको र यस अघिका डिन प्रा.डा.अग्रवाल वरिष्ठताकै आधारमा नियुक्त हुनुभएको थियो । उहाँको कार्यकालमा आईओएम अन्र्तगत मेडिकल शिक्षा प्रणालीमा निकै ठूलो सुधार आएको र सो कामलाई निरन्तरता दिनुपर्ने विद्यार्थीहरुको माग छ ।

विद्यार्थी संगठनले पनि डा.केसीले स्वास्थ्य सेवा सुधारका लागि उठान गरेको बिषयलाई प्रधानमन्त्रीले नै राजनैतिक हस्तक्षेप गरेको भन्दै आईओएमको सिस्टम कसैले पनि विगार्न नहुने माग अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्