सुदूरपश्चिम प्रदेशकाे बजेट: पूर्वाधार विकासमा प्राथमिकता



विमल विष्ट, डोटी

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपियाँबराबरको बजेट प्रस्तुत गर्नुभयो ।

उक्त बजेटमा चालू खर्चतर्फ १४ अर्ब १८ करोड बजेट विनियोजन छ । जुन कुल बजेटको ४२ दशमलव ५ प्रतिशत हो । आगामी आवको बजेटमा १६ अर्ब ७५ करोड र अन्तर–सरकारी वित्त व्यवस्थापनअन्तर्गत २ अर्ब १३ करोड ५० लाख र वित्तीय व्यवस्थातर्फ ३० करोड विनियोजन गरेको छ ।बजेट स्रोतका लागि आन्तरिक राजस्वबाट ६० करोड ७० लाख ३० करोड जुटाउने छ । साथै संघीय सरकारबाट ७ अर्ब ८७ करोड ३६ लाख, राष्ट्रिय प्राकृतिक स्रोत तथा रोयल्टीबाट ७ करोड जुटाउने छ ।

संघीय सरकारले प्रदान गर्ने समानीकरण अनुदानबाट ८ अर्ब ७ करोड, सशर्त अनुदानबाट ४ अर्ब ३९ करोड, समपुरकबाट १ अर्ब २६ करोड र विशेष अनुदानबाट ४८ करोड ५० बजेट स्रोतका रुपमा प्रदेशले पाउने छ । प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाइ, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।

प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माण आयोजनाका लागि करिब पौने पाँच अर्ब बजेट विनियोजन गरेको छ ।

सोमबार प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बोहराले आगामी आर्थिक वर्षमा ५ सय २८ किलोमिटर सडक निर्माण गर्न ४ अर्ब ७२ करोड रुपियाँ बजेट विनियोजन गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्