भोलिबाट ६० लाख विद्यार्थीका लागि वैकल्पिक कक्षा

टेलिभिजन र रेडियोबाट पढाइ हुने, प्याब्सनले आजैबाट थाल्यो पढाइ



ईश्वरराज ढकाल, काठमाडौं ।

देशभरका ६० लाख विद्यार्थीले वैकल्पिक विधिबाट पढ्ने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यपुस्तक र पाठ्यक्रममा आधारित भएर उत्पादन गरेको श्रव्यदृश्य भोलि असार १ गतेबाट पढाउने भएको हो ।

केन्द्रले पहिलो चरणमा कक्षा ९ र १० का लागि विभिन्न सेवा प्रदायक डिसहोम, नेट टिभी र मेघा म्यास च्यानलबाट पढाइ प्रसारण गर्ने जनाएको छ । त्यस्तै कक्षा १–८ को एनटिभी प्लस र रेडियो नेपालबाट पढाइने भएको छ । केन्द्रले पहिलो चरणमा असार मसान्तसम्मको तालिका सार्वजनिक गरेको छ । त्यसपछि थप पाठ्य सामग्री तयार हुने केन्द्रले जनाएको छ ।

केन्द्रका उपमहानिर्देशक विष्णु अधिकारीले भोलिबाट कक्षा सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । दिनमा ८ वटा पाठ तयार गर्ने गरी काम भइरहेको उहाँको भनाइ छ ।

केन्द्रले कक्षा ९ र १० को ६ वटा अनिवार्य विषय र १ देखि ८ सम्म विज्ञान, गणित र अंग्रेजी विषय पढाउन लागेको उपमहानिर्देशक अधिकारीले बताउनुभयो ।

केन्द्रले उपमहानिर्देशक अधिकारीकै नेतृत्वले पाठ्य सामग्री तयार गरेको हो । शुक्रबार राति सार्वजनिक गरिएको समयतालिकामा बिहान १० बजेदेखि ४ घन्टा पढाइ हुने उल्लेख छ ।

केन्द्रका योजना तथा कार्यक्रम महाशाखाका प्रमुख उपमहानिर्देशक इमनारायण श्रेष्ठले करिब १५ करोड रुपियाँ लागतमा पाठ्यक्रम निर्माण गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘एनटिभी प्लसमा रेकर्डिङ र पाठ्यक्रम निर्माण गर्न ६ र प्रसारण गर्न करिब ३ करोड गरी ९ करोड तथा रेडियो नेपालाट कार्यक्रम निर्माण गर्न ४ र प्रसारण गर्न १ करोडसमेत गरी करिब ५ करोड लाग्छ ।’ श्रेष्ठका अनुसार सबै तहको पठनपाठन बिहान १० देखि ३ बजेसम्म हुनेछ ।

एनटिभी प्लसबाहेक तीनवटा सेवाप्रदायक संस्थाले निःशुल्क प्रसारण गरिदिने गरी सम्झौता भएको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । केन्द्रका महानिर्देशक डा. तुल्सी थपलियाले करिब ६० लाख विद्यार्थीलाई कुनै न कुनै माध्यमबाट पढ्नुपर्छ भन्ने वातावरण तयार गर्न भोलि सोमबारबाट रेडियो र टेलिभिजनबाट पढाइ शुरू गर्न लागेको बताउनुभयो ।

उहाँले जोसँग जुन माध्यम पाइन्छ त्यहीबाट पढाइ शुरू गर्न सबैलाई निर्देशन दिनुभयो । केन्द्रले विज्ञ शिक्षकको सहयोगमा पाठ्यक्रम तयार गरेको विद्यालय नखुलुन्जेलसम्म यही माध्यमबाट पढाइने बताएको छ ।

उता प्याब्सनले पनि आज आइतबारबाटै कक्षा सञ्चालन गर्ने भएको छ । प्याब्सनले ७ देखि १० कक्षासम्म जनता टेलभिजन, २ देखि ६ कक्षासम्म टिभी टुडे र नर्सरीदेखि १ सम्म योहो टेलिभिजनबाट पढाइ हुने जनाएको छ ।

प्याब्सन उपाध्यक्ष गोपाल आचार्यले अनलाइनबाट पढनपाठन गर्दा एउटा विद्यालयका विद्यार्थीले मात्रै जानकारी पाउने गरेका अब टेलिजिनबाट पढाउँदा सबैले एउटै माध्यमबाट बुझ्ने जानकारी दिनुभयो ।

यता प्यासनले ७–१० कक्षासम्मका विद्यार्थीलाई बिहान १० देखि १ बजेसम्म, ३ देखि ६ सम्मका विद्यार्थीलाई ३ देखि ५ बजेसम्म, नर्सरी यूकेजी, एलकेजी र १ कक्षाका लागि दिउँसो १ देखि ३ बजेसम्म पढाइने समयतालिका सार्वजनिक गरेको छ ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले लामो समयदेखि घरमै बस्दै आएका विद्यार्थीलाई टेलिभिजनबाट कक्षा लिने व्यवस्था गरिएको बताउनुभयो । उहाँले अधिकांश विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको अवस्थामा थप व्यवस्थितरूपमा पढाउन अनलाइन कक्षा सञ्चालन गरिएको बताउनुभयो ।

प्याब्सनअन्तर्गत करिब १५ लाख विद्यार्थीले टेलिभिजनबाट पढ्ने भएका छन् । निजी र सरकारी विद्यालयले एकैपटक पढाइ शुरू गर्न लागेपछि विद्यालय शिक्षाले फड्को मार्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्