रुकुम घटनाको विरोधमा पञ्चेबाजा बजाउँदै हतियार प्रदर्शनी



रामधन राई, खोटाङ ।

पश्चिम रुकुम घटनाको विरोधमा खोटाङस्थित दिक्तेलवजारमा नारा–जुलुस सहित सांकेतिक हतियार प्रदर्शनी गरिएको छ । आफ्नो प्रेमीका लिन पश्चिम रुकुम पुगेका जाजरकोटस्थित भेरी नगरपालिका–४ का २१ वर्षिय नवराज विश्वकर्मा सहित उनका ६ जना साथीहरुको हत्याको विरोधमा प्रर्दशन गरिएको हो ।

जेठ १० गते हत्या गरिएको विरोधमा जिल्लामा गठित संयुक्त संघर्ष समितिले एकोहोरो पञ्चेवाजा वजाउँदै विभिन्न हातहतियारका साथमा दिक्तेलको हाटडाँडादेखि रत्नपार्कसम्म नाराजुलुस लगाएका छन् । प्रदर्शनकारीले गृहमन्त्रीको राजिनामा, घटनाका दोषीलाई कारबाही, राज्यको सबै तहमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी लगायतको माग गरेका छन् ।

संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनका क्रममा हाटडाडाँ, बैकचोक, त्रिवेणीचोक, वेशक्याम्प, संगमपार्क र रत्नपार्कमा कोणसभा गरेका थिए । रत्नपार्कमा भएको समापन कोणसभालाई सम्वोधन गर्दै संघर्ष समितिका संयोजक दीपक ठटालले उद्देश्य प्राप्ति नभइन्जेलसम्म कसैले पनि आन्दोलन रोक्न नसक्ने बताउनुभयो । यसका लागि दलित तथा अन्य सबै तह तप्काले साथ दिने ठटालले विश्वास व्यक्त गर्नुभयो ।

घोषित कार्यक्रम अनुरुप जिल्लामा यसअघि पनि मशाल जुलुस, धर्ना लगायतका विभिन्न विरोधका कार्यक्रमहरु सम्पन्न गर्दै आएको संयोजक ठटालको भनाई छ ।

नवराज आफ्ना १८ जना साथीसहितरुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ की १७ वर्षीया मल्ल थरकी प्रेमिका लिन जाँदा केटी पक्षका स्थानीयहरुवाट हत्या गरिएको आरोप छ ।

उक्त घटनाको अहिले सडकदेखि संसदसम्म छलफल तथा बहस भइरहेको छ । कसरी उक्त घटना भयो भन्ने विषयमारुकुमका प्रहरीले सुष्म ढंगबाट अनुसन्धान गरिरहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्