नाम्लो



नारायण खनाल, मालारानी-३, अर्घाखाँची

(कविता )

प्रिय ! नाम्लो
सदैव
मेरै थाप्लोमा टाँसिएर
सुटुक्क
मेरै निधारमा वहने
पसिनाका तहरा पिइ
प्यास मेटाइरहने
तेरो रहर
अब
रहर मात्रै हुने भो
किनकि
तेरै पौरखले पालिने
मेरो पेट
बन्दाबन्दिले
रित्तै छ
तेरै धर्मले
धड्किने मुटुले
धड्कन सक्न छोड्दै छ।

हो !
बन्दाबन्दिभर
तँलाई हेरेर
धेरै दिन अघाएँ
आँसु झारेर
तेरो र मेरो प्यास मेटाउने
कोशिस गरेँ
तर , हेर्
सधै त सकिने रहेन छ
यसरी अघाउन र
सासको त्यान्द्रो जोगाउन ।

त्यसैले नाम्लो !
तँ सँग मेरो
एउटामात्र विन्ती छ
भोकले शोक निम्त्यायो भनेपनि
तँ मेरा हात छोडेर टाढा
कतै नजानु है
किनकि
मृत्युपछि
मलाई घाटसम्म जान
बाँधिन पनि त
तँ नै चाहिन्छ
नत्र
मेरो लास बाँध्ने डोरी किन्दा
राज्यकोषबाट पैसा खर्च हुन्छ
र भोकाहरुले पाउने राहतमा
कमि आउँछ
विदेशीएकाको उद्दारमा गाह्राे पर्छ
दुखीको पेट भोकै पार्न
सन्तान सँग आमाको बिछोड पार्न

न बाँच्नु छ न मर्नु छ
न राज्यकोषबाट पैसा खर्चनु छ।

प्रिय नाम्लो !
त्यसैले
म भोकले
मरिहाले पनि
तँ मेरो हात छोडेर
कतै नजानु है
घाटमा जाँदा
म बाँधिन पनि त
आखिर तँ नै चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्