समयतालिका तालिका बनाएर व्यवसाय सञ्चालन गर्न व्यवसायीको माग



शिक्षा पन्त,लमजुङ ।

लमजुङमा समयतालिका बनाएर व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरेका छन् । कोरोना भाइरस संक्रमणका कारण लामो समयसम्म लकडाउन जारी रहँदा व्यवसाय धरापमा परेको भन्दै लमजुङ प्रशासन समक्ष व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।

लमजुङ उद्योग वाणिज्य संघको बैठकले लमजुङमा तालिका बनाएर व्यवसाय सञ्चालन गर्ने निर्णय गरी सोही तालिकाअनुसार व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाइदिन अनुरोध गरेको हो । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाका अनुसार ‘भौतिक दूरी कायम गरी तीन–चारवटा पसलको बीचमा साबुन पानीले हातधुने व्यवस्था मिलाएर तालिकाअनुसार व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाइदिन प्रशासनसमक्ष अनुरोध गर्ने निर्णय गरिएको बताउनुभयो ।’

खाद्यान्न तथा मासु पसल हप्ताको चार दिन (बिहान ६ बजेबाट ११ बजेसम्म), बैंक तथा वित्तीय संस्था हप्ताको तीन दिन (बिहान १० बजेदेखि १ बजेसम्म), रेष्टुरेन्टहरू अर्डरअनुसार डेलिभरी गर्ने, मदिराजन्य व्यवसाय हप्ताको तीन दिन (बेलुका ४ बजेदेखि ६ बजेसम्म), निर्माण सामग्री हप्ताको तीन दिन (बिहान ६ बजेदेखि ११ बजेसम्म), फेन्सी तथा कपडा र इलेक्ट्रिकल मोबाइल पसल हप्ताको तीन दिन (दिउँसो ३ बजेदेखि ६ बजेसम्म) र तरकारी, फलफूल तथा डेरीजन्य सामग्री हप्ताको सातै दिन (बिहान ६ बजेदेखि ९ बजेसम्म) र औषधिजन्य व्यवसाय नियमित सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको संघका अध्यक्ष राजेश थापाले जानकारी दिनुभयो ।

यस्तै, सरकारले व्यवसायीलाई राहत दिनेबारे बजेटमा कुनै विषय पनि नसमेटेको भन्दै लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा मार्फत सरकारलाई व्यवसायीका लागि राहतको प्याकेज ल्याउन माग गरिएको संघका अध्यक्ष थापाको भनार्इृ छ ।

प्रतिक्रिया दिनुहोस्