वन र वनस्पतिजन्य जडिबुटी



पुष्पराज भट्टराई ।

नेपाली भूमिमा उम्रिएका जडिबुटीको प्राचीन महत्व छ । यहाँ पाइने करिब ७ हजार वनस्पतिमध्ये झण्डै १५ सयमा औषधीय गुण पाइन्छ । प्राणीको जीवन दीर्घायुमा वनस्पतिको पोषण छ । जडिबुटीको आरोग्य छ । निरोगिताका लागि कन्दमुल र जडिबुटी कै साहारा लिन्छन् । प्राणीको प्राकृतिक जीवनमा कुनै समस्या आई स्वास्थ्य बिग्रँदा निरोगी हुन प्राणीले वनस्पतिकै फूल, फल, रस, जरा, बोक्रा, गानो आदिको प्रयोग गर्छन् । वनस्पतिको यिनै अगंप्रत्यङ्गलाई जडिबुटी, जराबुटा, ओखतिमुलो, औषधि, दबाइमुलो भन्ने गरिन्छ ।

वास्तवमा वनस्पतिको जमिनमुनिको जरादेखि जमिनमाथिको बोक्रा पातसम्म औषधिका लागि प्रयोगमा ल्याई स्वास्थ्य लाभका लागि प्रयोग गरिन्छ । जडिबुटी पूर्ण रुपमा वानस्पतिक संग्रह हो । उम्रिएपछि एक वर्षे, दुई वर्षे वा बहुवर्षीय जीवन चक्र पुरा गरेका वनस्पतिको एकल वा मिश्रित रुपमा जडिबुटीको प्रयोग गर्ने गरिन्छ ।

हामीले प्रयोग गर्ने जडिबुटीको विधिसम्मत प्रयोग भने भारतीय महाद्वीपबाट भएको हो । जडिबुटीको वैज्ञानिक प्रयोग गर्ने परम्परा बसाल्ने काम भने ऋषिमुनिले गरेका थिए । सबैभन्दा पुरानोे ग्रन्थ वेदमा जडिबुटीको प्रयोगसम्बन्धि विधि उल्लेख भएको पाइन्छ । झण्डै ५ हजार वर्ष अगाडिदेखि जडिबुटीको प्रतिपादन भइसकेको प्रमाण वेदले नै दिएको छ । त्यसैबेला के खान हुन्छ, के हुँदैन ? के लगाउन हुन्छ, के हुँदैन ? कुन वनस्पतिको प्रयोग कसरी, किन, कहिले र कसले ? गर्ने भन्ने विधिविधान आयुर्वेदअन्तर्गत बनाइयो । त्यसैले आयुर्वेदिक शिक्षा आज मानव कल्याणका लागि वरदान सावित भएको छ ।

जडिबुटीको प्रचुर सम्भावना भएको हिमाली राज्य नेपालमा यस विद्याको विकास अधिक मात्रामा भएको छ । प्राकृतिक चिकित्सक उपचार विधिको प्रयोग गरेर हाम्रा पुर्खाले जगत्लाई उत्तम उपचारको खोजी गरेका थिए ।आजको प्राकृतिक उपचारअन्तर्गत ध्यान, योग, साधना ,आदिको आविष्कारमा हाम्रै हिमाली जडिबुटीको सुगन्ध मिश्रित छ । त्यसैले यिनैको मार्ग समातेर हामीले अहिलेसम्म ध्यान, साधना र योग प्रयोगका अनकौं विधि र नियम सिकिरहेका छौं । आफ्ना पिँढीपुस्तालाई यसो गर उसो गर भनेर अर्ती दिइरहेका छौं ।

जडिबुटी नेपालको महासम्पत्ति हो । यिनको उपयोगिता, पहिचान र प्रयोग हामीले पनि पुख्र्यौली पद्धतिमै गरिरहेका छौं ।यस विद्याको प्रशारण मुख्य गरी बाउबाजेबाट छोरानातिमा हस्तान्तरण गर्दै जनश्रुति विधिबाट हँुदै आएको छ गाउँघरमा भने अझै पनि परम्परागत रुपमा पुर्वजबाट सिकेको जडिबुटीसम्बन्धी ज्ञानले घरैपिच्छे वैद्य, लामा, धाँमीझाँक्री र झारफुक गर्नेहरुले स्थानीय वनजंगल ,पाखा, पखेराबाट खोजी गरी थिचेर, पिसेर, पकाएर, घोटेर, रोगको उपचार गर्ने परम्परा जीवितै छ ।

आयुर्वेदिक उपचार विधि सस्तो र सजिलो त छँदै छ । साथै नकारात्मक असर अर्थात् ‘साइड इफेक्ट’ नहुने खालको सर्वहितकारी पनि छ । प्राकृतिक छ । सर्वसुलभ पनि छ । हामीले जन्मैदेखि छोएका तिनको गन्ध सुँगेका र न्वारानदेखि मृत्युसम्मका विभिन्न संस्कारमा प्रयोग गर्दै गरेका तिनकै शक्ति र पोषण प्रयोग गरी जीवन धानेका यस्ता जडिबुटी हाम्रै खेत, खोला, करेसाबारी, भिर, कान्ला र पखेरामा जताततै पाइन्छन् ।

नेपालमा जनबोलीमा मात्रै सीमित भएको जडिबुटी ज्ञानको पहिलो हातेपुस्तक ‘सुश्रुतसंहिता तारा’ काठमाडौंका एक वैद्यले सन् १८७९ मा तयार पारेका थिए । यो नै जडिबुटीसम्बन्धी पहिलो पुस्तक थियो ।

लामो समयदेखि बेवारिसे अवस्थामा रहेको सो पुस्तकलाई पछिल्लो समयमा चन्द्र शमशेरले त्यसको नाम ‘चन्द्रनिघण्टु’ राखी प्रकाशित गरे ।यसै पुस्तकका आधारमा सिंहदरबार वैद्यखानाले औषधि उत्पादन गर्न थालेको हो । अहिलेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रही यस वैद्यखानाले देशभरिका जडिबुटी संकलन गरी केही मात्रामा औषधि उत्पादन गरिरहेको छ ।

नेपाली माटोमा उम्रिने जडिबुटी प्रयोग गरेर भारतीय आयुर्वेदिक औषधि कम्पनीहरुले औषधि उत्पादन गरी धमाधम नेपालमै बेच्न थालेपछि बल्ल नेपाल सरकारको आँखा खुल्यो । अनि मात्र सन् १९३७ मा जडिबुटीजन्य वनस्पतिको खेती गर्ने र तिनका बारेमा अनुसन्धान गर्ने नीति बनायो ।

अहिले नेपालमा ४२ वटा उद्योगबाट जडिबुटीजन्य आयुर्वेदिक औषधि उत्पादन हुन्छन् भने २६ थरीका औषधि भारतबाट आयात हुन्छ । वार्षिक २ अर्ब बराबरको औषधि नेपालमा उत्पादन हुन्छ भने ३ अर्बको हाराहारीमा भारतबाट औषधि आयात गरिन्छ । अझैसम्म जडिबुटी खेती गर्ने, संकलन गर्ने, प्रशोधन गर्ने र औषधि उत्पादन गरी बेचबिखन गर्ने सन्तुलित र समानुपातिक नीति बन्न नसक्दा जडिबुटीजन्य औषधि उत्पादनमा भारतमाथि निर्भर रहनुपरेको छ

नेपालमा जडिबुटी सम्बन्धि सोधखोज र अनुसन्धान गर्ने काम भने सन् १८०२ बाटै शुरु भएको थियो । सो अनुसन्धानमा बेलायतस्थित ब्रिटिस म्युजियमसंग आबद्ध वनस्पति विज्ञहरु सहभागी थिए । यो अनुसन्धानले नेपाली जडिबुटीका बारेमा विदेशमा पनि चर्चापरिचर्चा पायो । उक्त सोधखोज र अनुसन्धानका क्रममा नेपालमा ५ हजार ६७ मौसमी जडिबुटी सूचीकृत भएका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको एक प्रतिवेदनअनुसार नेपालमा १ सय १८ प्रकारका परिस्थितिकिय प्रणालीभित्र ३५ थरीका वनहरु पर्दछन् । नेपाल करिब १० हजार प्रजातिका वनस्पतिको साझा घर रहेको अनुमान गरिएको छ । तीमध्ये ५ हजार ८ सय प्रजातिको पहिचान भइसकेको अवस्था छ । त्यसमा पनि ७ सय थरीका जडिबुटी औषधिजन्य रुपमा प्रयोगमा आएका छन् । यी जडिबुटी नेपालको ५ वटै जलवायु क्षेत्रमा पाइन्छन् । खास गरी संरक्षित क्षेत्र, सिमसार क्षेत्र, निकुञ्ज क्षेत्र, सामुदायिक वन क्षेत्रमा जडिबुटी र वनस्पतिका प्रजातिको संख्या अधिक पाइन्छ । वन सर्वेक्षणको तथ्यांकअनुसार नेपालमा वन क्षेत्र ४४ दशमलव ७४ प्रतिशत पुगेको छ जुन पर्यावरणीय हिसाब र जैविक विविधताका दृष्टिले जडिबुटीका लागि सन्तुलित मानिएको छ ।

जडिबुटिमा पूर्वीय दर्शनको पोषण त छँदैछ । यसमा हाम्रो मौलिकतासँगै पैतृक सम्बन्ध पनि छ । हाम्रा पुर्खाले अनिकालमा होस् या महामारीमा, बाँदरले चिथोर्दा होस् या सर्पले डस्दा, बाघले झम्टिँदा होस् या भिरबाट लडेर चोट लाग्दा होस् । शरीरभरि आएका घाउखटिरा हुन् या दीर्घरोग नै किन नहोस् सबै समस्याबाट छुटकारा पाउन जडिबुटीको साथ लिएका थिए ।

जन्डिस, कमलपित्त, हेपाटाइटिस ठिक पार्ने आकाशेबेली । चिसोबाट जोगाउने र अरुचि हटाउने अलैंची, भिटामिन सी को सर्वोत्तम प्राकृतिक स्रोत अमला, रक्तशुद्धिका लागि असोक, अनिद्रा कम गर्न अश्वगन्धा, ज्वरो खोकी र दम ठिक पार्न असुरो, आउँ, हैजा वायुगोला र ग्यास्ट्रिकलाई ठिक पार्ने ऐंसेलुजस्ता हज्जारौं जडिबुटी हाम्रै पाखापखेरामा भेटिन्छन् । जसलाई जाँतोमा पिसेर, हाँडीमा उसिनेर, अँगेनुमा पोलेर, चनौटोमा घोटेर, हत्केलामा माडेर, ढिकीमा कुटेर खान ख्वाउन सकिन्छ । कति सरल छ उपचार पद्धति पनि ।

कोरोनाजस्ता साहसले जितिने महामारी रोगको उपचारमा जेठीमधु, सितो पलाती, भुइँ अमला, र गुर्जोजस्ता रोग प्रतिरोधात्मक क्षमता भएका जडिबुटी हाम्रै खेत खोल्सामा भेटिन्छन् । हाम्रै भातभान्साको कल्चरमा पकाइने, पड्काउने, पिसिने, उसिनिने, भुटिने मसलाजन्य ओखतिजन्य मेथी, बेसार, मरिच धनियाँजस्ता जडिबुटी मात्रै पनि मिलाएर खाने हो भने पनि हामीमा रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ । त्यति मात्रै होइन हाम्रा पुवर्जले खाद्यबालीमा लागेका किरा मार्न टिमुर, निम, बोझो, तीतेपातीजस्ता जडिबुटीको साथ लिएका थिए ।

प्रकृतिको आफ्नै इकोसिस्टम छ ।कहिले प्रकृतिले सिर्जना गरेका हरेक वस्तुले प्रकृतिको दोहन गर्छ त कहिले प्रकृतिले आफ्ना सिर्जनाको दोहन गर्छ भनेझै आज प्लेग, डेंगु, एड्स, सार्स कोभिड–१९ कोरोनाजस्ता महामारीसंग विश्व लडिरहेको छ । यसको पनि समाधान यहीँ जडिबुटीमा छ। प्राकृतिक वनस्पतिले निको नपार्ने कुनै रोग उत्पन्न हुँदैन । त्यसलाई सच्याउने सामथ्र्य जडिबुटी वा प्राकृतिक स्रोतमा नै हुन्छ । हाम्रो गाउँवस्तीमा जुन रोग देखिन्छ त्यसको उपचार त्यहीँ ठाउँमा उम्रिएका जराबुटामा हुन्छ भन्ने लोक मान्यता छ ।
जडिबुटीका उपयोगिता अनेकौं छन् । प्रयोगको विधि विविध छन् । तर दुर्भाग्य यस्ता हजारौं अमूल्य जडिबुटी अझै पनि वनपाखामा अपरिचित बनेर उम्रिरहेका छन् । कतिपयले थाहा नपाउँदा यी दुर्लभ जडिबुटीको विनाश गरिरहेछन् ।

सबैले मनन् गर्नुपर्ने कुरा त झन् यो छ । लाखौं जनता यहीँ वनपाखाका जडिबुटी खाएर औषधिउपचार गरिरहेका हुन्छन् भने तिनै जनताका नेता भने सामान्य रुघाखोकी लाग्दा बैंकक, टाउको दुख्दा बेल्जियम र पेट लाग्दा बेलायत पुगेर इलाज गर्छन् । आफ्नै देशको प्रविधि र प्राविधिकलाई विश्वास नगरी गिज्याउँदै विदेसिने प्रवृत्ति किमार्थ राम्रो हुन सक्तैन ।

यसरी अर्काको प्रविधिमा आँखा चिम्लेर पछि लाग्ने हो भने हाम्रा प्राकृतिक जडिबुटीमा गौरव गर्न र बाच्न कहिल्यै सकिँदैन । हाम्रो स्रोतको परिचालन कहिले हुने ? हाम्रा जडिबुटीले कहिले विश्वबजार पाउने ? अर्कोतिर डलरका हरिया डल्ला आउने भए मात्र जडिबुटीको लामो सूची बनाउन तम्सिने नत्र चुप लागेर बस्ने एनजीओ, आईएनजीओहरु र नियमन गर्ने निकाय वनस्पति विभागले पनि हाम्रो राम्रो छ भनेर भावनात्मक कुरा गरेर मात्रै हुँदैन आफ्नो बानि सुधार्नुपर्छ ।

आज हामी बज्रजन्तिलाई कुल्चेर कोलगेटले दात मोलिरहेका छौं । ज्यानको बाजि लगाएर टिपिएको बहुमूल्य यार्सा कौडीको भाउमा बेचिरहेका छौं । पारिला पाखाभरि करोडौंका जडिबुटी सुकाएर लाखौं मूल्यमा रोग खरिद गर्दै छौं । अर्कोतिर जडिबुटीका जानकार पुस्ता हराउँदै जाँदा यिनको महत्व घट्दै गएको छ । आजका पुस्ताले भोलिका सन्ततिलाई यी जडिबुटीको ज्ञान छाडेर नगए पछुताउनु शिवाय केही हुँदैन। नेपाली भूमिमा हुर्केर यहाँकै ओखर, काफल, अमला, ऐंसेलु, बयर, मुला, गहतको झोल खाई हुर्केका हामीले यिनको संरक्षण र सदुपयोग नगर्ने हो भने अरुले यसको महत्व बुझ्न सक्तैनन् ।

अब बहुमुल्य जडिबुटीको महत्व तिनको प्रयोग र उपयोगिताका लागि प्रचारप्रसारमा ढिलो भइसकेको छ । हामीसंग भएका थोरै मात्र जडिबुटीको संरक्षण गरी त्यसमा व्यवसायिकता प्रदान गर्नसके पनि हामीलाई यसले विश्वबजारमा अझै धनी बनाउन सक्ने सम्भावना छ ।
वनपाखाभरि हिमाली जडिबुटीको सौन्दर्य छरिएको छ । अब पर्वतीय पाखामा पौरख गरी जडिबुटीको सुगन्ध खोजौं । जुन हजारौं वर्ष पहिलेदेखि हाम्रा विवेकवान् पुर्खाहरुले खोज्दै आएका थिए भन्ने कुरा सबैले मनन् गरौं ।न त नेपालीलाई कोरोनाको महामारीले नै छुन्छ न त अनिकाल लागेर भोकभोकै मर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्