एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्तिबारे फिफालाई जानकारी



फिरोज राजोपाध्याय, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एक अन्तर्वार्तामा दिएको अभिव्यक्तिले अहिले बजार तातेको छ । कोरोनाभाइरसको कारण फुटबल खेल शून्य भएको अवस्थामा सो विवाद भने अहिले ठूलै मुद्दा बनेको छ । एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले विश्व फुटबल महासंघ (फिफा) मा वर्तमान अध्यक्षको तराइका बासिन्दाबारे बताएका अभिव्यक्तिबारे सुचना दिनुभएको छ ।

कर्मा छिरिङ शेर्पा

एन्फाका पूर्व अध्यक्ष श्रेष्ठले न्युज अफ नेपाललाई बताउनुभयो-मैले लगभग डेढ वर्ष चुप लागेर बसेँ । तर अहिले एकपछि अर्को विवाद आउन थालेपछि यसो फिफामा सुचना मात्रै दिएको हो । यो संचार माध्यममा आएको जस्तो कुनै उजुरी पनि होइन। नेपाली फुटबल त्यसै त कोरोनाले गर्दा ठप्प भएको अवस्थामा यस्ता अभिव्यक्तिले त झनै नेपाली फुटबललाई असर पार्नेछ ।

यसैगरी काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाहीले पनि एन्फा अध्यक्षका शेर्पाविरुद्ध फिफामा उजुरी हाल्ने बताउनुभयो । उहाँले भन्नुभयो—हामी चार जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ ) ले प्रधानमन्त्री र खेलकुद मन्त्रालयमा अध्यक्ष शेर्पाको अभिव्यक्तिबारे निवेदन राखेका छौ । हामीले भोलि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र उपाध्यक्षसमक्ष उहाँविरुद्ध निवेदन दिदैछु ।

उहाँको तराईबारे दिएको अभिव्यक्तिविरुद्ध फिफामा पनि उजुरी हाल्नेछौ । अध्यक्ष शेर्पाले दुई साताअघि दिएको एक अन्तर्वार्तामा तराइमा जाँदा राष्ट्रियताको महसुस नभएको अभिव्यक्ति दिनुभएको थियो । उहाँले सो अभिव्यक्तिमा बुधबार क्षमा माँगेको विज्ञप्ति सार्वजनिक गर्नुभएको थियो । सो अभिव्यक्तिको कारण सांसदमा समेत उहाँलाई कार्वाही हुनुपर्ने आवाज उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्