कृषकलाई मौरीको घार वितरण



टंकराज अधिकारी,पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका कृषकलाई मौरीको घार वितरण गरिएको छ। गाउँपालिकामा महको उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बनाउन गाउँपालिकाको कृषि शाखाले कृषकलाई मौरीको घार वितरण गरेको हो।

मौरीपालक कृषक बढ्दै गएका कारण ३० वटा घार वितरण गरिएको गाउँपालिकाले जनाएको छ। सम्बन्धित वड़ा कार्यालयबाटसिफ़ारिस भई आएका १० वटा वडाका ३/३ जना कृषकलाई अनुदानमा उपलब्ध गराईएको हो । ३० वटा मौरीसहित घार वितरण गरिएको कृषि शाखा प्रमुख मनोज कठायतले बताउनु भयो।

उहाँले भन्नुभयो ‘हामीले बिगतका वर्षमा घार वितरण गरेका थियौं, यो वर्षपनि यस कार्यक्रमले निरन्तरता पाएको हो।’गाउँपालिकाको ५ नम्बर वडा बाहेक वडा नम्बर १ देखि ११ सम्मका कृषकले ५० प्रतिशत अनुदानमा घार पाएका छन् । बजार मूल्य ८ हजार पर्ने मौरी गोलासहित प्रतिघारलाई ४ हज़ारमा किसानलाई उपलब्ध गराएको हो।

मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीपालन सुरु गरिएको अन्नपूर्ण गाउँपालिका- ४ सल्यानका कृषक प्रेमबहादुर गुरुंगले बताउनुभयो। ‘मौरीपालनबाट फाइदा हुन्छ व्यावसायिक रूपमा मौरी पाल्दा राम्रो आम्दानी पनि गर्न सकिन्छ।’ उहाँले भन्नुभयो।

गाउँपालिकाका अधिकांश भूभाग मौरीपालन व्यवसायका लागि उपयुक्त मानिन्छ तापनि १, ४ र ८ मा ब्यवसायिक रूपमामौरीपालनलाई अगाडि बढाईएको छ । महको उत्पादन वृद्धि गर्ने मुख्य उद्देश्यले किसानलाई पनि आधारभूत तालीम दिई मौरी घारवितरण गरिएको छ । बर्षेनि एउटा घारबाट कम्तिमा ५ किलो मह उत्पादन दिने कठायतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्