एन्फाले कास्कीमा बहुउदेश्यीय ट्रेनिङ सेन्टर बनाउने

पहिलो चरणमा १७ करोड ५५ लाख छुट्याइयो



विजय नेपाली, पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले बहुउदेश्यीय फुटबल ट्रेनिङ सेन्टर स्थापना गर्ने भएको छ ।

पोखरा देखि नजिकैको दुरीमा रहेको माछापुच्छ्रे गाउँपालिका भेडावारीमा बन्न लागेको उक्त बुहुउदेश्यीय ट्रेनिङ सेन्टरको लागि पहिलो चरणमा १७ करोड ५५ लाख रुपैँया छुट्टीएको कास्की जिल्ला फुटबल संघ एन्फाका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

“हामीले गण्डकी प्रदेशको लागि फिफा मापदण्ड अनुसारको सुविधा सम्पन्न ट्रेनिङ सेन्टरको स्थापना गर्न लागेको हो । सोमबार बसेको एन्फाको केन्द्रीय कार्यसमितिको बैठकले बजेट छुट्याएको छ । विश्व फुटबल महासघं (फिफा) को सहयोगमा एन्फाले कास्कीमा ट्रेनिङ सेन्टर बनाउन लागेको हो । पहिलो चरणको बजेट छुट्टिएको छ यस्मा बजेट थपिदैँ जानेछ ” -अध्यक्ष गुरुङले भने ।

भेडावारीमा बन्न लागेको ट्रेनिङ सेन्टरको लागि एन्फाको नाममा ५ सय रोपनि जग्गा छ । सरकारले एन्फालाई जग्गा भोगचलान गर्न दिइसकेको अध्यक्ष गुरुङले बताए । “कास्कीमा बन्न लागको बहुउदेश्यीय ट्रेनिङ सेन्टरको लागि केन्द्रिय अध्यक्ष कर्माछिरिङ शेर्पा, खेलकुद मन्त्री तथा गण्डकी प्रदेश भित्र रहेका एन्फा अध्यक्षहरुको महत्वपूर्ण भुमिका छ । यो प्रदेशको लागि हो” -गुरुङले भने ।

जग्गा भने माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङको विशेष पहलमा उलब्ध भएको हो । उक्त ट्रेनिङ सेन्टरमा ३५ जनासम्म राख्ने मिल्ने चार बेग्ला बेग्लै होस्टेल निर्माण गरिने उनले बताए । ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समुहको अभ्यास तथा ट्रेनिङहरु सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

गुरुङका अनुसार ५ हजार दर्शक क्षमता सहितको तीन प्राकृतिक मैदान, दुई कृतिम (आर्टिफिसियल) मैदान, दुई बालुवा मैदान, स्विमिङ पुल, रेष्टुरेन्ट, पुस्तकालय, जिमहल र सभा हल समेत निर्माण गरिनेछ । फिफाले तीन चरणको परियोजना निर्माणको काम सक्न एन्फालाई निर्देशन दिएको उनले बताए ।

“पहिलो चरणको काम सकिएपछि अर्को बर्ष पनि बढ्दै जानेछ । फिजियो अस्पताल लगायतको लागि समेत बजेट आउने छ” -गुरुङले भने ।

प्रतिक्रिया दिनुहोस्