ओनुओहाले भने अमेरिकामा सुरक्षित छैन



न्युयोर्क, (एजेन्सी)

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका पूर्वडिफेन्डर नेडम ओनुओहाले अमेरिकामा शतप्रतिशत सुरक्षित नभएको बताएका छन् ।

सिटीपछि प्रिमियर लिगकै अर्को क्लब क्विन्स पार्क रेन्जर्स (क्यूपीआर)मा ६ वर्ष बिताएका ओनुओहा हाल अमेरिकी लिगमा खेलिरहेका छन् । मेजर लिग सकरअन्तर्गत् रियाल साल्ट लेकका खेलाडीले बताए– ‘व्यक्तिगतरूपमा भन्नु पर्दा मलाई भन्न त मन लाग्दैन तर प्रहरीप्रति डर छ र विश्वास पनि छैन ।’

अश्वेत व्यक्ति जर्ज फ्लोइडलाई श्वेत प्रहरीले मारेपछि अमेरिकाका विभिन्न शहरमा व्यापक प्रदर्शन हुँदै आएको छ । मिनियापोलिसका प्रहरी अधिकारी डेरेक साउभिनले फ्लोइडको घाँटीमा घुँडाले करिब साढे ८ मिनेटसम्म टेकेका थिए । जसले गर्दा फ्लोइड निस्सासिएर ज्यान गएको थियो । साउभिन र अरू तीन प्रहरीलाई बर्खास्त गरी कारबाही अगाडि बढाइएको छ ।

ओनुओहाले फ्लोइडको निधनप्रति अश्वेत मात्रै होइनन् श्वेत मान्छेहरू पनि दुःखी भएको बताए । उनले भने– ‘अहिले अश्वेत मात्रै होइनन् श्वेत मान्छेहरू पनि प्रदर्शनमा सहभागिता छन् । धेरै जसो काला जातिका व्यक्तिहरू अहिले प्रहरीसँग डराइरहेका छन्, तर श्वेत जातिका मान्छे पनि प्रहरीविरुद्ध लागेका छन् । यो आवश्यक पनि छ ।

अहिले त प्रहरीले मलाई गलत ढंगले हे¥यो भने उनीहरूले मेरो जीवन लिन सकिन्छ, विश्वास नै भएन ।’

ओनुओहाले अमेरिकामा बन्दुकको कानुनले असहज बनाएको बताए । उनले अमेरिकामा बस्न त रमाइलो रहेको तर बेलायत बस्नचाहिँ एकदमै सहज भएको पनि बताए ।

उनले भने–‘बेलायतमा यस्तो केही भइहाले पनि मर्ने भने छैन, तर यहाँ (अमेरिका) केही हुनुपर्छ मारिहाल्छन् । मैले भन्न खोजेको यो पनि होइन कि सबै प्रहरी त्यस्तै छन् । तर मलाई लाग्छ यदि म बाहिर कहिल्यै नगएमा मात्रै शतप्रतिशत सुरक्षित हुनेछु ।’

प्रतिक्रिया दिनुहोस्