“पाँच सूत्रकथा”



१- सूत्रकथा ”आमाको मन”

घर नजिकैको क्वारेन्टाइनमा बसेका २२ जनालाई सहयोग पुगोस् भनेर छोराले एक कार्टुन चाउचाउ ,२५थान मास्क,चार क्रेट अण्डा र तातोपानी तताउने डेक्ची सहयोग गरेको देखिरहेकि आमा छोराको सामाजिक भावनालाई सम्मान गर्न आँखाबाट खुसीका आँसु खसालिन ।आफूलाई धन्य सम्झिन।

घर फर्कँदा फलफूल र मासु लिएर छोरा आयो ,बुहारीले मिठो बासना आउने गरि पकाइन,पाकुञ्जेल खानाको बासनाले अघाइसकेकि आमालाई नबोलाई छोरा बुहारीले खाना खाए र सकिएपछि भाँडा माझ्न आमालाई आदेश दिँदै खलानमा जुठाभाँडा छोडिदिएर सुते ।

बासना मात्रै सुँघ्न पाएकि आमाले छोराले दुखमा रहेकालाई सदैव सहयोग गरिरहोस् सम्झँदै ढुसि लागेका चिउराको एक पसरले सास लम्बाउँदै भाँडा माझिन र खुसी साथ सुत्नको निम्ति विस्तारमा पस्रिन ।

२-सूत्रकथा ”राम भरोसा”
धनेले हाई काढ्दै भन्यो :-

  •  पहिले पहिले कथित अन्धविश्वासका कारण थुप्रै नेपाली छोरीहरू यही छाउगोठलाई भए ।
  • केही पछि यस्तै गोठहरु गाई भैँसिका सुरक्षा कबच बने।
  • अहिले कोरोना संक्रमितका लागि सुविधा सम्पन्न अस्पतालका आइसोलेसन कक्ष बनेका छन्।
  • नेपाल हो , राम भरोसा गर।

३-सूत्रकथा ”आत्मियता” 
बिहानै पिँढिमा बसि चिया पिउँदै गर्दा संसारभर सलह आतंकले किसानहरु आत्महत्या गर्ने तहको पीडामा रहेको समाचार सुनेको धने घाँस काट्न बारीमा जाँदै गर्दा सिंहदरबार गेट अगाडि टक्क रोकिन्छ किनकि गेट भित्र एक हुल सलहले कोट पाइन्ट टाइ लगाएका सुकिलाहरु सँग अंकमाल गरिरहेका थिए । यस्तो देखेपछि धनेले मनमनै गम्छ र भन्छ उद्देश्य मिल्नेहरु आखिरमा आपसमा आत्मियता गाँस्दा रहेछन् ।

४-सूत्रकथा ”गुटको खेती” 
देशमा लामो समयसम्म खडेरी परेपछि सत्तासीन पार्टीको बैठकमा एजेन्डा “टारी खेतमा रोपाइँ ” राखिएछ।छलफलमा सदस्यहरुको मत बाझिएपछि दुई समूह मध्ये एकले पानी नै नपरे पनि तत्काल रोप्नु पर्ने र अर्कोले आकासबाट पानी नपरुन्जेल रोप्नै नहुने चट्टानी अडान राखि विकल्पमा कोही राजी नभएकोले बैठक निस्कर्ष विहीन भए छ।फलस्वरूप खेत बाँझो रहेछ।

५-सूत्रकथा “राहत”
धनी परिवारको धने र काम नगरी साँझ बिहान खान नपुग्ने गरिब परिवारको साने एकै गाउँका एकै टोलमा बस्ने भएकोले स्थानीय सरकारले कोरोना राहत बाँड्दै छ भन्ने थाहा पाएपछि वार्ड कार्यालयमा सँगै पुगे।घाँटीमा दाम्लो जत्रो सुनको सिक्री लगाएर गएको धनेलाई देख्नेबित्तिकै वार्ड अध्यक्षले तपाईंको नाममा राहत छ , यही सानेलाई बोकाएर घर लैजानुस् भने ।

साने आफ्नो निम्ति राहत खै सोधेर स्पष्ट हुन चाह्यो तर वार्ड अध्यक्षले यसपालि हातमुख जोर्न अड्केकोलाई मात्रै राहत दिने निर्णय भएको छ ,तिमीले पुगेछ भने अर्को चरणमा पाउँछौं भनेपछि सानेले घरबाट बोकेर लगेको रित्तो बोरा र नाम्लो हेर्छ र भन्छ पीडाले त यो बोरा पहिल्यै भरि थियोे थप के अड्थ्यो र माग्न आएछु राहत।अनि पीडा पिएर अघाएको मान्छे किन आएछु वार्ड कार्यालयमा राहत लिन ।

प्रतिक्रिया दिनुहोस्