कोरोना संक्रमण बढ्दै गएपनि न्यायालयमा आजबाट कामकारवाहीमा बृद्धि



विकास भट्टराई, काठमाडौं ।

कोभिड–१९ को संक्रमण बढ्दै गएको भए पनि सर्वोच्च अदालतले न्यायालयको काम कारवाहीमा बृद्धि गरेको छ । लकडाउनको अवधिमा कोभिड–१९ संगसम्बन्धित रिट निवेदन, बन्दीप्रत्यक्षीकरणको विषय र सरकारले दायर गरेका कतिपय मुद्दाको सुनुवाई गरिएको भएपनि बिहीबार देखि नै सुनुवाई हुने गरी अन्य विषयको पनि प्रकृया अगाडि बढाइने सर्वोच्चले जनाएको छ ।

सर्वोच्चबाट थाहा भए अनुसार थप सुनुवाई हुने मुद्दाहरुमा सम्बन्धित पक्ष वा कानून व्यवसायी उपस्थित हुन सक्ने अवस्थाको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ नम्बर बमोजिमका निवेदन रहेका छन् ।

सो नम्बरमा तल्ला अदालतले गरेका आदेशमा चित्त नबुझ्ने पक्षले माथिल्लो अदालतमा निवेदन दिन सक्ने ब्यवस्था छ ।

यसैगरी पक्ष वा कानून व्यवसायी उपस्थित हुन सक्ने सर्वोच्चबाट दरपीठ भएका निवेदनहरु, लकडाउनको अवधि भन्दा अघि दर्ता भएका कानून व्यवसायी वा पक्ष उपस्थित हुन सक्ने बन्दीप्रत्यक्षीकरणको निवेदन, कानून व्यवसायी नियुक्त नगरेका थुनामा रहेका ब्यक्ति पुनरावेदक भई दायर भएका र बैतनिक कानून व्यवसायीमार्र्फत प्रतिनिधि हुन सक्ने मुद्दाहरु पनि सुनुवाई हुने भएको छ ।

नेपाल सकार पुनरावेदन भएका मुद्दामा प्रत्यक्षी झिकाउने आदेश भई प्रतिवादीले म्याद गुजारी गत चैत ९ गते अगावै म्याद थमाउने अवधि ब्यतित भएका अवस्थाका मुद्दाहरु, पक्ष तारेखमा नरहेका वा तारिख गुजारी गत चैत ९ गते अगावै म्याद थमाउने म्याद समाप्त भएका कानून व्यवसायी मुकरर नभएका वा कानून व्यवसायी उपस्थित हुन सक्ने अवस्थाका मुद्दाहरु र मिलापत्र तथा मुद्दा फिर्ता सम्बन्धी विषय पनि सुनुवाई हुन सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्