काठमाडौंमा भोलिदेखि पसल/व्यवसाय खुला गर्ने



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौंका व्यवसायीहरुले भोलि (बिहीबार) देखि बिहान ११ बजेसम्म पसलरव्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका छन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल/व्यवसाय खुला गर्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष नरेश कटुवालले बुधबार एक बिज्ञप्ति मार्फत् बिहीबारदेखि बिहान ११ बजेसम्म पसलहरु खुला गर्ने निर्णय भएको जनाएका छन्। पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता भने अपनाइने बताईएको छ ।

लामो समयदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेका कारण पसल व्यवसाय खोल्न लागिएको बिज्ञप्तिमा उल्लेख छ । ‘हामीले कुनै रहरले नभई बाध्य भएर पसलहरु खुला गर्ने निर्णय गरेका हौं,’ बिज्ञप्तिमा लेखिएकोछ , ‘व्यवसाय खुला गरे पनि न्यूनतम दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गर्ने लगायतका विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका न्यूनतम मापदण्डको हामी पालना गर्छौँ ।’

‘पसल व्यवसायहरु खुला गर्दा हामीलाई राज्यबाट बन्द गर्न दबाव आयो वा बल प्रयोग भएको खण्डमा हामीले राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याजदर र कर्मचारीको तलवभत्ताको जिम्मासमेत सरकारले नै लिनुपर्ने हुन्छ ।’ बिज्ञप्तिमा भनिएको छ ।

यसैबीच सरकारले लकडाउन खुकुलो बनाउने र मोडालिटी परिवर्तन गर्ने बताएसँगै मंगलबार र बुधबार राजधानीका सडकमा सवारी साधनहरु बाक्लै गुड्न थालिसकेका छन् । कतिपय ठाउँमा यातायात जामसमेत हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्