अब कोरोना संक्रमितलाई अक्सिजन र भेन्टिलेटर चाहिए मात्र अस्पताल भर्ना गरिने



भगवती तिमल्सिना,काठमाडौँ ।

कोरोना संक्रमितको संख्या २ हजार भन्दा माथी पुगेकोले स्वास्थ्य मन्त्रालयले यसलाई दोस्रो चरणमा प्रवेश गरेको अवस्था भएकाले सबै संक्रमितलाई अस्पतालमा राखेर उपचार गर्न नसकिने भएकाले नयाँ नीति अनुसार अघि बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताउनुभयो ।

मन्त्री ढकालले बौद्धमा स्वास्थ्य सामग्री ग्रहण गर्ने क्रममा अब अक्सिजन र भेन्टिलेटर चाहिने अवस्थाका बिरामीलाई मात्र अस्पताल भर्ना गर्ने नीति लागु गर्ने बताउनुभएको हो । मन्त्री ढकालले कोरोना संक्रमणको लक्षण ८० प्रतिशतमा सामान्य अवस्थामा देखिने हुनाले नियमको पालना गरेमा अस्पताल भर्ना हुनु नपर्ने बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमा दिनुभएको जानकारी अनुसार आज २ सय १ जना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमित हुनेको संख्या २ हजार ३ सय पुगेको बताउनुभयो ।

उहाँले पिसिआर विधिबाट ८० हजार २ सय ६८ र आरडिटी विधिबाट १ लाख २० हजार ३ सय ७९ परिक्षण गरिएको र संक्रमित मध्ये २ सय ७८ जना निको भएर घर फर्किसकेको जानकारी गराउनुभयो । उहाँले तरकारी र फलफुलमा कोरोना फैलन्छ भनेर गाड्ने र फाल्ने गरेको सुनियो । तरकारी र फलफुलबाट कोरोना सर्दैन । राम्रोसँग सफा गरेर धोएर फलफुल र तरकारी खानुस नष्ट नगर्नुस् भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्