नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुग्यो



न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ। बुधबार दोलखाका ७६ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

दोलखाका बृद्ध जेठ १३ गते उपचारका लागि काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए। अपरेसनपछि गरिएको उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो ।

प्रवक्ता देवकोटाका अनुसार बुधबार दिउँसो उनको उपचारकै क्रममा मृत्यु भएको हो। यसअघि नेपालमा कोरोनाकै कारण आठ जनाको मृत्यु भएको थियो।

बुधबार एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए। नेपालमा कोरोना जित्नेको संख्या भने २७८ पुगेको छ। आज मात्र थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्म २३०० जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्