‘काभ्रे र भक्तपुर’ जिल्लाका सिडिओबीच समन्वय बैठक



मोतीराम तिमल्सिना,काभ्रे।

काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरु बीच अन्तर जिल्ला समन्वय बैठक मंगलबार सिमा नाका साँगामा सम्पन्न भएको छ ।  ‘कोभिड १९ को महामारी रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि दुई जिल्ला बीच समन्वय गरी लकडाउन प्रभावकारी बनाउने र नागरिकहरुको सुरक्षामा ध्यान दिने निर्णय भएको छ’– काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भन्नुभयो–‘लकडाउनको अवधीलाई पूर्ण प्रभावकारी बनाउँदै अत्यावश्यक सेवालाई सूचारु गर्ने र महामारी फैलन नदिन थप उच्च सतर्ककता अपनाउने निर्णय भयो ।’

राजधानी भित्रने नाका साँगामा कडाई गर्न पटक पटक गृह मन्त्रालयले दुई जिल्लाका सुरक्षा निकायलाई निर्देशन दिदै आएको थियो । गृहको निर्देशनसँगै सिमा नाकाहरुमा कडाई गरिदै आएको थियो । बैठकमा सुरक्षा ब्यवस्थालाई मजबुद बनाउँदै अपराधिक घटनामा नियन्त्रण गर्ने विषयमा छलफल भएको थियो । लकडाउनको अवधी पारेर हुन सक्ने गम्भिर प्रकृतिका अपराध तथा अपराधजन्य कार्यहरु निरुत्साहित गर्न प्रभावकारी चेकजाँच र सुरक्षा ब्यवस्था मिलाउन दुबै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहमत भएका छन् ।

राजधानी उपत्यका भित्रने नाकाहरु साँगा, नाला, कुशादेवीको रयाले क्षेत्र, भक्तपुर जिल्लाको आशापुरी क्षेत्र लगायतका अन्य नाकाहरुलाई प्रभावकारी रुपमा कडाई गर्न दुई जिल्लाका प्रजिअहरु सहमत भएका छन् । बैठकमा प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुखहरु, नेपाली सेना, शशस्त्र, राष्ट्रिय अनुसन्धान, स्वास्थ्य कार्यालयको टिम सहभागि थियो ।

सरकारले लकडाउन अवधीमा महत्वपूर्ण आयोजनाहरु संचालन गर्दा संचालन हुने सवारी साधनहरुको ब्यवस्थापन, नागरिकहरुको दैनीक जीवन यापन सहज बनाउन स्वास्थ्य सेवा, खाद्यान्न, तरकारी, औषधी जस्ता अत्यावश्यक सेवाको ढुवानीमा सहज बनाईएको छ ।

अरनिको राजमार्ग र सिन्धुली बर्दिबास हुँदै आउने अत्यावश्यक सेवाका सवारी, पासका नाममा हुन सक्ने दुरपयोग, छिमेकी देश भारत र संक्रमण भएका जिल्लाबाट भित्रने नागरिकहरुका लागि क्वारेन्टाईन, अस्पतालमा आईसोलेसन, परिक्षण, पहिचानका कामलाई तिब्र बनाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्