कृषि उपज नष्ट गर्ने माथि कारबाही गर्न गृह मन्त्रालयलाई पत्र



न्युज अफ नेपाल,काठमाडौं ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि उपज नष्ट गर्नेमाथि कार्बाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । मंगलबार पत्र पठाउँदै कृषि मनत्रालयले कृषि उपजको उत्पादन, ढुवानी र बजारमा अवरोध गर्नेमाथि कार्बाहीको माग गरेको छ ।

यसअगाडि पटक–पटक आग्रह गरिए पनि कृषि उपजको उत्पादन, ढुवानीमा अवरोध भएको भन्दै कृषि मन्त्रालयले गृह मन्त्रालयलाई पत्र नै लेखेको छ । “कृषि उपज नष्ट गर्ने अवान्छित क्रियाकलापले कृषकहरुको उपज खेर जाने मात्र नभई मनोबल खस्कने, उत्पादन घट्ने र खाद्य वस्तुको आपुर्ति शृङ्खला अवरुद्ध हुन गई खाद्य संकटको अवस्था हुन सक्नेछ”, पत्रमा उल्लेख छ ।

कपिलवस्तुबाट अर्घाखाची ढुवानी भएको तरकारी कोरोना सर्ने भन्दै प्रमुख जिल्ला अधिकारीकै निर्देशनमा नष्ट गरिएको छ । उक्त कार्यको सञ्चार माध्यम एवम् सामाजिक सञ्जालहरुमा तीव्र बिरोध भइरहेको छ ।

कृषि मन्त्रालयले कृषि उपज नष्ट गर्ने कार्यमा संलग्नलाई कार्बाही गर्दै सहज रुपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिन आग्रह गरेको छ ।

पत्रमा भनिएको छ, “बन्दाबन्दीको कारणले कृषिजन्य वस्तुहरुको उत्पादन एवं ढुवानीको कार्य सुचारु हुन नसकेको तथाकतिपय स्थानीय तहहरुले देशभित्रकै अन्य स्थानबाट ढुवानी भएका कृषि तथा पशुजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र ढुवानी भएका सामग्रीहरु जफत गरी नष्ट गरिदिने जस्ता कार्यहरु गरेको देखिन्छ ।”

अर्घाखाँचीमा जस्तै पोखरा महानगरपालिकाले पनि अन्यत्रबाट आएको तरकारी रोक लगाएको छ । कर्णाली प्रदेशले त अरु ठाउँबाट सबै खाद्य वस्तु रोक लगाउने निर्णय नै गरेको छ ।

प्रतिक्रिया दिनुहोस्