मेवेदरले फ्लोएडको अन्तिम संस्कारको खर्च व्यहोर्ने



वासिङ्टन, एजेन्सी ।

थुप्रै पटक विश्वका सर्वाधिक धनी खेलाडी बनेका पुर्व हेभिवेट बक्सिङ च्याम्पियन फ्लोएड मेवेदरले गत हप्ता अमेरिकाको मिनियापोलिस शहरमा प्रहरीको ज्यादतीका कारण ज्यान गुमाएका ४६ बर्षीय जर्ज फ्लोएडको अन्तिम संस्कारमा लाग्ने सम्पुर्ण खर्च ब्यहोर्ने भएका छन् ।

मेवेदरको प्रचार प्रमुखले यसको पुष्टी गर्दै मेवेदरले फ्लोयडको अन्तिम संस्कारमा गरिने सबै खर्च सहयोग गर जनाएका हुन् । फ्लोएड परिवारले पनि मेवेदरको उक्त प्रस्ताव स्वीकारेको अमेरिकाका विभिन्न सञ्चारमाध्यमले जनाएको छ ।

फ्लोएडको लागि न्यायको माग गर्दै अमेरिकमा अश्वेत मात्र नभइ गोराहरुले पनि साथ दिएको आन्दोलन हिंसात्मक बन्दै गएको छ । घटनामा संलग्न चारै जना प्रहारीलाई बर्खास्त गर्नुका साथै मुख्य आरोपी डेरेक चभिनमाथि “थर्ड डिग्री मर्डर” चार्ज लगाइएको छ।

तर, आन्दोलनकारीहरुले भने त्यो पर्याप्त नभएको बताउदै आएका छन् । यसअघि टेनिस स्टार कोको गोउफ, बास्केटबल स्टार माइकल जोर्डन तथा लेब्रोन जेम्स, जर्मन बुन्देसलिगाको फुटबल क्लब बोरुसिया डर्टमण्डका खेलाडीले पनि आ-आफ्नै तरिकाले उक्त घटनाको विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्