प्रणालीमा चल्न नसकेको राज्य



पेशल आचार्य

फूलबुट्टा र तीर्यक शैली नअपनाई सबैले बुझ्ने सरल भाषामा भन्ने हो भने हामी वर्तमान समयमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको राज्यका सचेत भनिने नागरिक हौं । यो भयो राज्य र हामी नागरिकको सैद्धान्तिक परिचीयभाष्य, जसलाई परिभाषाका क्रममा जो–कोहीले खरर्र भन्न सक्छन् । अझ सामाजिक शिक्षा अध्ययन गर्ने स्कुल लेभलका टिनेजर विद्यार्थीले त यति लेखेरै पनि राम्रो अङ्क ल्याउन सक्लान् । यही रटान रटेर पुरातन मान्यता र मानसिकताका कतिपय हाम्रा जनप्रतिनिधिहरू पनि आत्मरतिको सुखानुभूति गर्दा हुन् ।

विडम्बना ! सकसपूर्वक बाँचेको समयचाहिँदुई मुठी सास अड्याएर हामी अघिल्तिर बेतोडले कुदेको कुद्यै छौं । समयको रफ्तारलाई पक्रन नसकी हामी केवल पछुतोका गीतहरू मात्र गाइरहेका छौं । सो गीतमा हाम्रो सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक, स्वास्थ्य र सार्वजनिक यातायातका अनगिन्ती चित्रहरूमा पीडाका कोरसहरू गुञ्जायमान छन् ।

एकातिर सुखानुभूतिका पाटाहरू नभएका पनि होइनन् । हामीले छोटो समयमै यति धेरै राजनीतिक परिवर्तनका फाँकीहरू देख्यौं तर तिनीहरूलाई जनजीविकाका सवालमा अनुवाद गरेर देशलाई मन्दिर र सरहदलाई पवित्र धाम मान्ने समग्र गरिब, निमुखा र भुइँ मान्छेहरूका हितमा प्रयोग गर्न भने कहिल्यै जानेनौं ।

राणकाल, पञ्चायत, लोकतन्त्र र गणतन्त्रकालमा समेत हाम्रा अगुवा र आदरणीय भान्सेहरू नै लोभी–पापी भए । पद र सत्तामा जान नपाएकाहरूले पद र सत्ताको हालिमुहाली गर्नेहरूलाई सधैँजसो स्थायी प्रतिपक्ष भई गाली मात्र गरिरहे । जनता यी खान पाएर अजीर्ण भएका र खान नपाई ¥याल चुहाउनेहरूका बीचमा रहेको सेपिलो जमिनमा रहन बाध्य भए ।

यहाँ शासन बदलिए पनि शासनका शैली भने कहिल्यै पनि फेरबदल भएनन् । व्यवस्था बदलिए पनि व्यवस्थापन गर्ने नयाँ कोही आएनन् । जनताले धेरै नाराम्राहरूका बीचबाट थोरै नराम्रो भएको मात्र छान्ने छनोटका अवसर पाए । राम्रो र ज्यादै राम्रोलाई मन मन्दिरमा सजाए पनि जनताले तिनीहरूलाई चुन्न र आफ्नो शासक बनाउन पाएनन् ।

हाम्रो समाजको छेउलागेको एउटा तप्का जहिल्यै राज्यको कोपभाजनको सिकार भैरह्यो । उनीहरूका लागि बोलिदिने कोही भएनन् । वारेस नपाएर ती कहिले कसकात कहिले कसका भोटर मात्र भए । राज्यले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विकासका लक्ष्यहरू अपेक्षा गरिसक्दा पनि दूरदराजका गाउँठाउँमा बस्ने दलित, निमुखा, अपाङ्ग, अक्षम र पछि पारिएका मानिस जस्ताको त्यस्तै भए । उनीहरूको समस्या ज्यूँका त्यूँ नै रहिरह्यो ।

आफ्नो आवाज राज्यका विभिन्न तह र तप्कासम्म पुग्ने गरी सुनाउन नसक्ने त्यो वर्ग जहिल्यै पनि पाँच–पाँच वर्षमा आउने र लोकतन्त्रको गम्भीर आभूषण मानिने निर्वाचनमा मात्र प्रयोग हुने भकुण्डो भएर भकुण्डियो । सपना त धेरैले देखाए, तिनीहरूको रोग, भोक, शोक, अशिक्षा र पछौटेपनलाई हरण गर्न कोही ‘राजनीतिक कृष्ण’ को अभ्युदय भएन । गरिबीलाई दुहाइ दिएर सबैजसो राजनीतिक पार्टीहरू सत्तारोहण भए ।

हिजोका सत्तासीनहरू आज प्रतिपक्ष र आजका सत्तासीनहरू हिजोकै प्रतिपक्ष थिए । यसर्थमा दुवैले अख्तियार गरेको शैली भनेको काले–काले मिलेर खाऊँ भाले नै थियो । यस्तो वातावरणमा समाजका केही टाठाबाठाहरूले आफ्ना सन्तानलाई शहर र शहरोन्मुख बजारमा बसाइँ सारे ।शिक्षा, स्वास्थ्य र चेतनामा अब्बल बनाए । ती र तिनका सन्तति कोही–कोही पहिलो देश र कोही–कोही दोस्रो देशका पीआर र ग्रिनकार्ड होल्डर पनि बनेका छन् ।

बाँकी रह्यो भुइँमान्छेका सन्तानहरूको कुरा, ती तेस्रो भनिने मुलुकमा गएर,४०÷४५ डिग्रीको तापक्रममा रही खुन–पसिना एकठ्ठा गरेर, रेमिट्यान्स बटुलेर, घरपरिवार, जिल्ला र देशलाई माथि उठाउनपट्टि लागे । तिनीहरूकै रेमिट्यान्समा रहेर यहाँ हामी सबै टाठाबाठा र भ्रमजीवीले दाइँ ग¥यौं । श्रमजीवी ठगिएको ठगियै रहे, देशमा हुन् या परदेशमा । घरका लागि घरदेखि बाहिर बस्नेहरू नै घरबारविहीन भए ।

वर्तमान समयमा हामी नेपालीले बाँचेको समयलाई हेरी समाजमा भए÷गरेका घटना÷परिघटना र विविध विषयातिरेकहरूभने विश्व र दक्षिण एसियाका केही सिस्टम बसिसकेका मुलुकहरूका दाँजोमा आफूलाई फरक स्तर, शैली र चेतका हिसाबले मेन्टेन गरिरहेको अवस्था विद्यमान छ । यस्तोमा देश भएर पनि देशका कतिपय अवयवहरू झीनो तारमा झुन्डिरहेझैँ लाग्छन् ।

जो कुनै पनि बेला चुँडिन सक्छन् । कुनै कुराको टुङ्गो नभएको यो राज्यमा बेटुङ्गोको चाहिँ अतीव टुङ्गो छ । देखिएका राजनीतिक कल्चर विगत तीन दशकयताका घटनालाई सूक्ष्म ढङ्गले विश्लेषण गर्दा निराशासिवाय अरु केही हात लाग्दैन । मेरो देशका युवाहरूलाई अहिलेसम्म यहाँको सिस्टमले तिमी पढिलेखी सकेर यहीँको माटोमा सुवास छर्न सक्छौ भन्ने विश्वास नै दिलाउन सकेन । नाबालकहरू कहिले जवान भइएला र नागरिकताका साथै पासपोर्ट बनाएर विदेश हुत्तिन पाऊँला भनेरै सोचिरहेका हुन्छन् ।

बाँझा अथाह भूमि देशैभरि छन् तर भुइँमान्छेहरूका लागि दिगो कृषि विकासका कार्यहरू छैनन् । उत्पादित नेपाली कृषिउपजलाई गाउँठाउँबाट बजारसम्म बेरोकटोक ढुवानीमा अनेकौं गजबारहरू हालिन्छन् । उता भारतबाट सीधै विषादियुक्त तरकारी रातारात भित्रिन्छन् । हामी उहिल्यैदेखि गाउँका नासपातीलाई हेला गरेर विदेशी स्याउ पुज्न बानी परिसकेका मानिस हौं ।

अहिलेसम्मको परिणति हेर्दा ‘खोदा पहाड निक्ला चुहा’ भन्ने स्थिति स्पष्टसँग देखिएको क्षेत्र हो– शिक्षा । तैपनि हामी अझै शिक्षाका नाममा दुईथरी बाटो अपनाएर जनतालाई आश्वासनको ललिपप देखाउँदै समाजवादको आलाप अलापिरहेका छौं ।

हामीले हिजोको शिक्षालाई नामेट गर्नकै लागि शिक्षामा निजीकरणको बाँसुरी बजाएर राज्य संरक्षित शैक्षिक माफियाहरूको उन्नतिका लागि अनेकानेक ऐनकानुुनहरूको तर्जुमा गरेका छौं । तिनै शैक्षिक माफियाहरूको भित्रीरुपमा नाभी राजनीति हाँक्नेहरूसँग जोडिएको छ अनि आफ्ना केही झोले र हनुमाने कार्यकर्ताहरू उफारेर आफू अनुकूलका निर्णयहरू गराउन पछि पर्दैनौं ।

सार्वजनिक स्वास्थ्यको अवस्था झन् कति दारुण खालको छ भन्ने सिनारियो नियाल्न वर्तमान समयको पेन्डामिक (महामारी) नै काफी छ । राजनीतिलाई साहित्यले कसरी मार्गदर्शन गर्छ भन्ने एउटा सानो प्रसङ्गमा भन्नुपर्दा प्रसिद्ध कवि भूपि शेरचनले करिब ५० वर्षअघि लेखेको ‘यो हल्लैहल्लाको देश हो’ र ‘हामी’ कविताले अझै हामी नेपालीलाई हल्लाइरहेका छन् । त्रिकालदर्शी कवि शेरचनका कवितांशहरू अझै घतलाग्दा दृष्टांशका रूपमा ज्यूँदो भएर यत्रतत्र प्रयोग भैरहनु राजनीतिलाई साहित्यले डो¥याउँछ भन्ने गतिलो उदाहरणसमेत हो ।

तर के हामी बाँचेको युगलाई लोकतन्त्र र नागरिक अधिकारका हिसाबले हेर्दा हाम्रो सैद्धान्तिक भाष्य र व्यवहारमा समानता वर्तिएको छ त ?यतिखेर यो प्रश्न सम्पूर्ण नेपाली जनजनका हृदयमा उठेको छ । राणाशासन कालमा हामी केवल रैती थियौं । पञ्चायतमा आइपुग्दा हामीजनता भयौं र अहिलेको गणतन्त्रात्मक शासन व्यवस्थामा आइपुग्दा भने नागरिक भएका छौं । यो पनि अहिले भाषणमा मात्र सीमित रहेको छ । व्यवहारमा लागू हुनका लागि कम्तीमा सबै नेपाली साक्षर र शिक्षित भैसक्नुपर्छ । आफ्नो हक, अधिकार र कर्तव्य राम्रोसँग बुझ्ने भैसक्नुपर्छ । यो भएको अहिले देखिन्न ।

अहिले हाम्रो अघिल्तिर भएको सिस्टमकै लागि पनि करिब आठ दशकदेखि अनवरत लडिरहेका रहेछौं । यो पुस्तौनी लडाइँमा हाम्रा जिजु, हजुरबा, बाहरू र हाम्रो समेतको अतुलनीय लगानी परेको छ भनेर हामी निशङ्कोच भन्न सक्छौं । जहानिया राणाशासन कालमा प्रजातन्त्रका लागि लडेर अमरत्व प्राप्त गर्ने ती महान् चार शहीदहरूले गरेको बलिदानदेखि यता सरसर्ती हेर्दा संविधानसभाबाट संविधान बनाई लागू गरेका मितिसम्मका कालखण्डलाई परिवर्तनको लडाइँसँग जोड्ने हो भने पनि आठ युग समय नै व्यतीत भैसक्यो ।

यहाँ करिब २० वर्षको समयलाई एक युग भनेर मान्ने काम भएको हो । पुर्खाहरूको मान्यतालाई सापट लिँदा १२ वर्षको एक जुग मानिएको छ । करिब एक दशकमा समाजका मूल्य–मान्यता र चाहनाहरू परिवर्तन हुने भएकाले पनि पुर्खाहरूको यो मान्यता ठीक जँच्दछ । यस मानेमा हामीले सात युग नै पार गरिसकेको अवस्था जो छ,यति आधुनिक भनिएको समयसम्म आइपुग्दा पनि हामी जनतानामक अमूर्त नामलाई भँजाएर यहाँ सबैले आफ्नो राजनीतिक रोटी नै सेकेको देखेका छौं ।

संसारमा प्रजातन्त्र अब्बल मानिएको व्यवस्था हो । अझ कसै–कसैले त एक कदम अघि बढेर प्रजातन्त्रका सन्दर्भमा ‘संसारका सबै व्यवस्थाको विकल्प छ तर प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र मात्र हो’ भनेर समेत भनेका छन् । तर अहिले समय फेरिएको छ । हरेक मान्यताहरूमा समय, विधि र प्रविधिले गर्दा उलटपुलटको स्थिति हाम्रा सामु विराजमान छ । पुरानो पुस्ता क्रमशः अस्ताउँदा क्रममा छन् भने समाजका हरेक क्षेत्रमा स्थापित मूल्य र मान्यताहरूमा नयाँ पुस्ता उदाउँदो स्थितिमा छन् ।

हिजोको समय आज छैन । आजको समय शायदभोलि नहोला । समय क्षणपल, सेकेन्ड,निमेष र घडीघन्टामै पनि आनकातान दिन दुगुना रात चौगुनाका दरले बदलिरहेको छ । यो समाज, राजनीति, धर्म, शिक्षा, व्यापार, कृषि, प्रशासन, न्याय सबैतिर कतै राम्रा कुराहरू र कतै नराम्राकुराहरूसमेत देख्न पाइन्छ । यस्तो स्थिति देख्नुपर्दा कहिले त आफूलाई आफ्नै देश र यहाँको सिस्टमप्रति नै विश्वास भएको लाग्दैन ।

न्यायका लागि लागिपर्दा अन्याय सहनुपरेको, एकपछि अर्को गर्दैै अनेक काण्ड र घटनाहरूले देशलाई छोपिराखेको, जनताको मानसिकताअनुसारका शैली अख्तियार गरी शासन सञ्चालन नभएको देख्दा निराशाका घनचक्करमा जनता नै फस्न पुगेका हुन् किजस्तो पनि लाग्छ । यस्तो अवस्थामा सचेत हृदयले प्रश्न गर्छ– के हामी अझै पनि सिस्टम नै नभएको अवस्थामा विचरण गर्दै त छैनौं ? अन्तरहृदयले समय–समयमा यक्षप्रश्न गर्छ तर गतिलो उत्तर कहिल्यै पाउँदैन ।

प्रतिक्रिया दिनुहोस्