होल्डिङ सेन्टर सुरु गर्दै ललितपुर महानगर



न्युज अफ नेपाल,ललितपुर ।

ललितपुर महानगरपालिकाले अन्तराष्ट्रिय उडान खुलेपछि नेपाल फर्कने वडाबासीलाई राख्नका लागि प्रत्येक वडामा होल्डिङ खोल्ने भएको छ ।विदेशबाट नेपाल फर्कनेहरु कोरोना भाइरसबाट संक्रमित हुनसक्ने तर्फ सावधानी अपनाउँदै महानगरले होल्डिङ सेन्टर खोल्न लागेको हो । कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरालाई औल्याउँदै सरकारले असार दोस्रो सातापछि मात्रै अन्तराष्ट्रिय उडान खोल्ने बताएको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले महानगरको प्रत्येक वडामा खोलिने यस्ता सेन्टरमा विदेशबाट फर्किएकाहरुलाई राखिने बताए । उक्त सेन्टरमा विदेशबाट आउनेहरु सिधैं उक्त सेन्टरमा तोकिएको अवधि बसेर आवश्यक परीक्षणहरु सकेपछि मात्रै घर जान पाउने छन् ।

सामाजिक विकास समितिका संयोजक तथा महानगर वडा नं २४ का अध्यक्ष दिनेश कार्कीले वडाहरुमा होल्डिङ सेन्टर राख्नका लागि त्यस्ता ठाउँहरुको पहिचान भइरहेको बताए ।

उनका अनुसार ती होल्डिङ सेन्टर सामुदायिक भवन, पाटी प्यालेस लगायतका ठाउँमा संचालन गरिनेछ । सामुदायिक भवन र पाटी प्यालेस नभएको ठाउँमा मात्रै विद्यालयलाई प्रयोग गरिने संयोजक कार्कीले जानकारी दिए ।

वडामा होल्डिङ सेन्टर पहिचानको लागि अध्यययन, वैदेशिक रोजगारी वा अन्य कारणले विदेश गएकाहरुको तथ्यांक समेत वडाहरुले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्