जेठ २१ गतेदेखि हेटौँडा बजार खुल्ने



न्युज अफ नेपाल,हेटौंडा ।

लामो लकडाउनका कारण हेटौंडाका व्यबसायीले रोगले भन्दा भोकले मर्ने चिन्ता बढेको भन्दै व्यबसाय संचालन गर्ने बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार गरेको पत्रकार सम्मेलनमा विभिन्न वस्तुगत संघका प्रतिनिधिले कोरोना संक्रमणको जोखिम भन्दा भोकले मर्ने अबस्था आएको भन्दै व्यबसाय संचालन गर्ने जनाएका हुन् ।

उनीहरुले जेठ २१ गतेबाट सुरक्षाका उपाय अपनाएर पसल संचालन गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् । उनीहरुले सुरक्षा अपनाएर किनमेल गर्न आग्रह गरेका छन् । बैंक ब्याज, पसलभाडा, कर्मचारी पारिश्रमिक, मौज्दात सामानको म्याद गुज्रनेलगायत समस्याले मानसिक तनाव उत्पन्न भएको उनीहरुले जनाए ।

पत्रकार सम्मेलनमा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधब न्यौपानेले भन्नुभयो–लकडाउन लम्बिँदै जाँदा विपन्नवर्ग मात्र होइन, कुनै दिन राहत बाँड्नेहरु समेत राहत माग्ने अबस्थामा पुग्नेछन् । उहाँको प्रश्न छ–दैनिक ज्यालादारी काम गरेर हातमुख जोर्नेहरुको हालत के भएको होला ?

उनीहरुको दैनिकी कसरी चलिरहेको होला ? कोरोना भाइरससँगै लकडाउनले आर्थिकरुपमा सिर्जना गरेका जटिल समस्याबारे सरकारले ध्यान नदिएको उहाँको आरोप छ ।
‘व्यबसायीको पीडा थप जटिल बन्दै गएको छ भने आम सर्वसाधारण नागरिकले भोगिरहेको पीडा व्यबसायीले पनि भोगिरहेका छन् ।

साथमा बैंक ब्याज, पसलभाडा, कर्मचारी पारिश्रमिक, मौज्दात सामानको म्याद गुज्रने र सोमा हुने क्षतिलगायतले मानसिक तनाव उत्पन्न गरेको छ,’ उहाँले भन्नुभयो–अब पनि बैंक ब्याज र पसल भाडामा छुट नपाइने, पसलका मौज्दात सामानमा क्षति र म्याद गुज्रने अबस्थालाई सहेर बसिरहन सकिने अबस्था छैन ।

संघ उपाध्यक्ष रामप्रसाद न्यौपानेले विश्व नै कोरोनाको महामारीबाट आक्रान्त भएको बेला हाम्रो देश पनि यसबाट अछुतो रहन नसकेको भन्दै यो लकडाउनपश्चात् पनि कति समय लकडाउन थपिने यकिन नभएको गुनासो गर्नुभयो । ‘त्यसैले रोगले हैन, भोकले मर्ने स्थिति देखिएको छ,’ उहाँले भन्नुभयो ।

संघद्वारा जारी विज्ञप्तीमा अन्त्यहीन लकडाउन स्वीकार्दै बस्नुको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै जेष्ठ २१ गतेबाट विभिन्न वस्तुगत संघहरुको आफ्ना व्यबसायीलाई सुरक्षाका उपायहरु हरसम्भव अपनाएर व्यबसाय सुचारु गर्ने वातावरण मिलाइदिन सरकारसमक्ष अनुरोध गरिएको छ ।

उपभोक्तालाई सचेत रहँदै सुरक्षा अपनाएर किनमेलमा संलग्न हुन संघले अनुरोध गरेको छ । लकडाउनपछि स्थानीय बजार क्षेत्रमा कालोबजारी देखिएको आरोप छ । लकडाउन हुनुअघि दैनिक उपभोग्य बस्तुका साथै अन्य मालसामानको भाउ बृद्धि गरिएपछि समस्या परेको उपभोक्ताले बताएका छन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन पछिल्लोपटक जेठसम्म लम्ब्याएको छ ।

प्रतिक्रिया दिनुहोस्