मास्क,स्यानिटाइजर लगायतका सामान नि:शूल्क वितरण गर्न सर्वोच्चको आदेश



न्युज अफ नेपाल,काठमाडौं ।

सर्वोच्च अदालतले कोरोना भाइरस सरुवा रोग भएको हुँदा अत्यावश्यक सिटामोललगायतका औषधी, माक्स, गुणस्तरीय ह््याण्ड स्यानिटाइजर आवश्यक पर्ने ब्यक्तिहरुलाई निशूल्क उपलब्ध गराउन आइतबार सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशहरु प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले कानूनमा नै स्वास्थ्यका आधारभूत कुराहरु निशूल्क रुपमा उपलब्ध गराउनु पर्ने भनी उल्लेख भएको उल्लेख गर्दै त्यस्ता बस्तुहरु आवश्यक पर्ने ब्यक्तिहरुलाई निशूल्क उपलब्ध गराउनु पर्ने गरी अन्तरिम आदेश दिएको हो ।

संविधान तथा कानूनमा स्वास्थ्यका आधारभूत विषयहरु निशूल्क उपलब्ध गराउनु पर्ने गरी व्यवस्था भएको भए पनि सरकारले त्यसतर्फ कुनै प्रकृया अगाडि नबढाएको उल्लेख गर्दै अधिवक्ता डा. पुण्यप्रसाद खतिवडा र दीपक विक्रम मिश्रले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

सर्वोच्चको आदेशमा आधारभूत स्वास्थ्य सेवा संविधानमा नै मौलिक हकको रुपमा रही निशूल्क भएको र सरुवा रोगलाई आधारभूत स्वास्थ्य सेवा भित्र पारी
निशूल्क रहेको भन्ने कुरा जनस्वास्थ्य ऐन, २०७५ को दफा ३(४) (ग) मा पनि उल्लेख भएको उल्लेख गर्दै कोरोना भाइरस सरुवा रोग भएको हुँदा त्यस्ता बस्तुहरु आवश्यक पर्नेलाई निशूल्क उपलब्ध गराउन भनिएको छ ।

यो आदेश पछि निम्न आय भएका सर्वसाधारण लाभान्वित हुने कानूनविद्हरुको धारणा रहेको छ । रिट निवेदनको तर्फबाट वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेल र दिनेश त्रिपाठी तथा अधिवक्ताहरु विकास भट्टराई, विष्णु लुईंटेल, कीर्तिनाथ शर्मा, अनन्तराज लुईटेल, विशालकुमार उपाध्याय, सन्तोष भण्डारी, सुजन नेपाललगायतले र सरकारको तर्फबाट सहन्यायाधिवक्ता संजीवराज रेग्मीले बहस गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्