नेपालमा विश्व धूमपानरहित दिवस भिडियो कन्फरेन्सबाटै मनाईयो



न्यूज अफ नेपाल,काठमाडौँ ।

कोरोना संक्रमणले विश्वव्यापी रुपमा महामारीको रुप लिएसँगै आइतबार विश्व धुम्रपान दिवस नेपालमा पनि भिडियो, इमेल मार्फत शुभकामना आदान प्रदान गर्दै मनाईयो । कोरोना संक्रमण,नसर्ने रोग र धूमपान तथा क्षयरोगको नियन्त्रणका लागि संघीय तथा प्रदेश सरकारलाई कसरी जवाफदेही र उत्तरदायी बनाउन सकिन्छ भन्ने विषयमा लकडाउनका कारण जुम सफ्टवेर (वेविनार) माध्यमद्धारा छलफल चलाईयो ।

भरतपुर महानगरपालिका मुख्य आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपाल, एक्सन नेपाल, दि युनियन, एपीक्याट, एपीक्याट पार्लियामेन्ट, एपीक्याट मिडिया ग्लोबल टिवि कोकस लगायतका संस्थाहरुको साझेदारीमा भएको थियो ।

छलफलमा कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले इटालीमा कोरोना संक्रमणका कारण मृत्यु हुने ९९ प्रतिशत व्यक्ति धुम्रपान सेवन गर्ने व्यक्तिहरु भएको विश्व स्वास्थ्य संगठनले गरेको एक अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको जानकारी गराउनुभयो ।

चन्दले सूर्ति तथा चुरोट उत्पादक कम्पनीले कानून विपरित फेसबुक मार्फत विज्ञापन गरेकोमा स्वास्थ्य मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गरेको छ भन्नुभयो ।

सोही अवसरमा पूर्व स्वास्थ्यमन्त्री एवं एपीक्याट पार्लियामेन्टका अध्यक्ष खगराज अधिकारी, प्रदेश नं १ का समाािजक विकास मन्त्री जीवन घिमिरे, कर्णालीका प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचन, दि युनियनका क्षेत्रीय निर्देशक डा तारासिंह बम, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोस भ्यान्डिलियर, ग्लोबल टिवी ककसका तुसार नायर, द युनियनको क्षयरोग विभाग प्रमुख डा ग्रानिया ब्रिगेडियन, एक्सन नेपालका आनन्द चन्द, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष कल्पना आचार्य, महासचिव रामप्रसाद न्यौपाने लगायतले कोभिड १९, नसर्ने रोग र धूमपान तथा क्षयरोग नियन्त्रणको विषयमा आ आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

पूर्व स्वास्थ्यमन्त्री अधिकारीले धूमपान तथा सूर्तिजन्य पदार्थसंग नसर्ने रोग अन्तरसम्वन्धित रहेको बताउनुभयो । कोभिड १९ को समेत यससंग सम्वन्धीत रहेको भन्दै सरकारले नियन्त्रणका लागि विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले बार्षिक २७ हजार बढीको ज्यान लैजाने सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरकारले यो बेला कानूनको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो प्रदेशले सूर्तिजन्य पदार्थ नियन्त्रणमा गरेका प्रयासहरुको चर्चा गर्नुभयो । उहाँले विद्यालयको शौचालयको अनुगमनबाट आफूले सूर्तिजन्य पदार्थको प्रयोग युवापुस्तामा कुन रुपमा भएको रहेछ भन्ने बुझेर नै कडाईका साथ कानून कार्यान्वनयको प्रयास गरेको बताउनुभयो । उहाँले कोभिड १९ को बारेमा प्रदेश सरकारले गरेको कदमबारे समेत जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललले महानगरले सूर्तिजन्य पदार्थ नियन्त्रण र पछिल्लो समय कोभिड १९ को उपचार रोकथाम र परीक्षणका लागि गरेका कार्यहरुको बारेमा जानकारी दिनुभयो ।त्यसैगरी स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सूर्ति नियन्त्रणका लागि सरकारले गरेको प्रयास र चालेका कदमबारे जानकारी दिनुभयो ।
दि युनियन एसिया प्यासेफिक क्षेत्रका क्षेत्रीय निर्देशक डा तारासिंह बमले नेपालमा सूर्तिजन्य पदार्थ नियन्त्रणमा चालेका केही प्रयासहरु राम्रा भएपनि धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

कानून कार्यान्वनय गर्ने बाटोमा सरकार फितलो भएको, कानून कार्यान्वयन गर्न अघि सर्नुपर्ने सरकार सूर्ति उद्योगीको इशारामा चलेको समेत आरोप लगाउनुभयो । डव्लुएचओका नेपाल प्रतिनिधि डा जोशले सूर्तिजन्य पदार्थको प्रयोगकर्तामा कोभिड १९ को संक्रमण हुने जोखिम बढी हुनसक्ने भन्दै यस्ता पदार्थको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचनले सूर्तिजन्य पदार्थ र क्षयरोगको अन्तरसम्वन्ध प्रस्तुत गर्दै यसको प्रयोगलाई नियन्त्रण गर्न केन्द्रले गरेका प्रयास रणनीतिका बारेमा जानकारी दिनुभयो ।

ग्लोबल टिवी ककसका तुसार नायर, द युनियनको क्षयरोग विभाग प्रमुख डा ग्रानिया ब्रिगेडियनले अन्तराष्ट्रिय अनुभव र गरिएका कामको जानकारी दिदै नेपालले त्यसबाट सिक्न सक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्