रोजर फेडेरर वर्षको सर्वाधिक कमाउने खेलाडी



वासिङ्टन, ऐजेन्सी ।

विश्व प्रसिद्ध फोर्ब्स म्यागाजिनले जारी गरेको यस वर्षको सर्वाधिक कमाउने खेलाडीको सूचीमा स्विस टेनिस स्टार रोजर फेडेररले शीर्ष स्थान ओगट्न सफल भएको छ। फेडेरर बर्ष २०२० मा विश्वको सबैभन्दा धेरै कमाउने खेलाडी बनेका हुन् ।

फोर्ब्सले सार्वजनिक गरेको बर्षको हाइएस्ट पेड एथ्लीट सूचीको शीर्ष स्थानमा रहेको फेडेररले यस बर्ष ८६ मिलियन पाउण्ड कमाई गरेको बताइएको छ । उनले सो रकम आफ्नो प्रायोजकबाट हात पारेका हुन् । उनीसँग १३ वटा विभिन्न ब्राण्डहरु प्रायोजकका रुपमा रहेका छन् । उनी हाल सक्रिय खेलाडीमा एक सय मिलियन डलर एकै बर्षमा प्रायोजकबाट कमाउने दोस्रो खेलाडी बनेका छन् । यसअघि यस्तो गर्ने गल्फ खेलाडी टाइगर उड्सले थिए ।

खेलकुदमा टेनिस खेलाडी कमाईको शिर्ष स्थानमा पुगेको यो पहिलो पटक हो । यसपटक उक्त सूचीको दोस्रो स्थानमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो छन् । उनले यस वर्ष ८५ मिलियन पाउण्ड कमाएका छन् । रोनाल्डोले प्रायोजक र इन्स्टाग्रामबाट राम्रै आम्दानी गरेका हुन् । तेस्रो स्थानमा बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसी छन् । उनले ८४ मिलियन पाउण्ड कमाई गरेको बताइएको छ । उनीसँग पनि विश्वविख्यात कम्पनीहरु प्रायोजकका रुपमा रहेका छन् । मेसीले एक सातामा दुई मिलियन पाउण्ड कमाउने गरेको बताईएको छ । त्यस्तै धेरै कमाउने शीर्ष १० खेलाडीको सूचीको चौथो स्थानमा ब्राजिलका फुटबलर नेयमार छन् । उनले यो बर्ष ७७ मिलियन पाउण्ड हात पारेको उल्लेख गरिएको छ । उनले इन्स्टाग्राम पोष्टबाट मात्र बर्षमा ३३ मिलियन पाउण्ड कमाएको बताईएको छ ।

त्यस्तै पाँचौ देखि दसौं स्थानसम्म क्रमशः बास्केटबल खेलाडीत्रय लिबोर्न जेम्सले ७१ मिलियन, स्टेफन कुरीले ६० मिलियन र केभिन डुरन्टले ५२ मिलियन पाउण्ड कमाएका छन् । गल्फका टाइगर उड्सले ५० मिलियन, अमेरिकन फुटबल खेलाडीद्वय किर्कवले कोसिन्सले ४९ मिलियन पाउण्ड र कारसोन वेन्ट्जले ४८ मिलियन पाउण्ड कमाई गरेको फोर्ब्समा उल्लेख गरिएको छ । खेलाडीहरुले मुख्यत: आफ्ना प्रायोजक, ब्यवसाय वा सेयरबाट आम्दानी गर्ने गर्छन् । त्यस्तै सोसियल मिडिया र फोटोग्राफी राईट्सबाट पनि आम्दानी बढाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्