बैंकिङ प्रणालीमा अधिक तरलता



नेपाल समाचारपत्र, काठमाडौं

बन्दाबन्दी रहेको चैत र वैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले ८३ अर्ब रुपियाँ निक्षेप संकलन भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार सो अवधिमा बैंक तथा वित्तीय संस्थाले २२ अर्ब रुपियाँ कर्जा लगानी गरेको अपरिष्कृत तथ्यांक छ । साथै सोही अवधिमा बैंकिङ प्रणालीमा सुविधाजनक तरलता रहेको समेत राष्ट्र बैंकले जनाएको छ । वैशाख महिनामा बैकिङ प्रणालीमा औसत ४९ अर्ब २ करोड रुपियाँभन्दा अधिक तरलता रहेको राष्ट्र बैंकको तेस्रो त्रैयमासिक मौद्रिक नीतिकोे समीक्षामा उल्लेख छ ।

चैत र वैशाखमा ३१ अर्ब ६९ करोड तरलता प्रवाह भएको छ । यसअन्तर्गत स्थायी तरलता सुविधामार्फत ३० अर्ब १३ करोड र ओभरनाइट रिपोमार्फत् १ अर्ब ५६ करोड खुद तरलता प्रवाह भएको छ ।

चैत र वैशाखको अवधिमा वाणिज्य बैंकहरुबीच रु. १५३ अर्ब २० करोड र वित्तीय संस्थाहरुबीच (वाणिज्य बैंकहरुबीच बाहेक) ८ अर्ब ३ करोड अन्तरबैंक कारोबार भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तरबैंक कारोबार दर चैतमा २.१३ प्रतिशत रहेकोमा वैशाखमा ४.०६ प्रतिशत कायम भएको छ ।

त्यस्तै चालु आर्थिक वर्षमा सरकारको १९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने योजना रहेकोमा जेठ ९ गतेसम्म ४५ अर्ब बराबरको ट्रेजरी बिल, सय अर्ब बराबरको विकास ऋणपत्र, १३ करोड ५० लाख बराबरको नागरिक बचतपत्र र ५० लाख २० हजार बराबरको बैदेशिक रोजगार बचतपत्रसमेत गरी कुल १४५ वैदेशिक रोजगार बचतपत्रसमेत गरी कुल १४५ अर्ब १४ करोड २० हजार आन्तरिक ऋण परिचालन भएको छ । चैत र वैशाखसम्मको अवधिमा करिब ७५ अर्ब ४८ करोड रुपियाँको विप्रेषण प्राप्त भएको अनुमान छ ।

गत वर्षको सोही अवधिमा १४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो । फागुन महिनामा ५ अर्ब १० करोड पर्यटन आय प्राप्त भएकोमा चैतमा १ अर्ब ६० रुपियाँ प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ६ करोड बिक्री गरी ३५० अर्ब ९ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब १६ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी कुल ३९३ अर्ब ७७ करोड बराबरको भारतीय रुपियाँ खरिद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्