अब विश्वविद्यालयका शिक्षा नीति परिवर्तन हुनुपर्छ



आजका विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने कारखाना साबित भएका छन् । हरेक वर्ष लाखौँ युवाहरू उत्पादित भए पनि ती युवा कुन विषयमा दक्ष हुन्, प्रस्ट छैन । राज्यबाट सञ्चालित शिक्षा अव्यवस्थित, अव्यावहारिक तथा सर्टिफिकेट लिने र दिने मात्र भएको छ । यदि साँच्चिकै बेरोजगारको अन्त्य गर्ने हो भने तथा युवा पलायनलाई रोक्ने हो भने विशेष किसिमका विषय केन्द्रित विश्वविद्यालयहरूको व्यवस्था हुनुपर्दछ । यो नीति अबको शिक्षामा अनिवार्य छ, अपरिहार्य छ ।

उदाहरणको लागि नेपालजस्तो कृषिप्रधान देशमा खेतीयोग्य जमिन प्रशस्त भएको ठाउँमा पशुपालन तथा जडीबुटीमा समेत अत्यधिक सम्भावना बोकेको ठाउँमा कृषिसम्बन्धी पाठ्यक्रम नहुनु विडम्बना हो । त्यसैले कृषि विश्वविद्यालयअन्तर्गत देशैभरि कृषि क्याम्पसको जरुरत छ । नेपालमा अत्यन्तै उर्वर फाँटहरू छन्, जसबाट करिब ६ करोड मान्छेलाई खान पुग्दछ तर दुःखको कुरा

ती फाँटहरू बाँझा छन्, जसको कारण १ करोड मान्छेलाई पनि खान पुगेको छैन र हामी पूरै परनिर्भर बन्न बाध्य भएका छौं ।
त्यसै गरी नेपालमा करिब ४ हजार नदीनाला, महत्वपूर्ण जडीबुटी भएका जंगल तथा उत्तम किसिमका काठहरू भएका वन छन् । यिनको सुरक्षा र उत्पादन भएमा औषधि तथा काठ निर्यात गर्न सकिन्छ । त्यसैले जलस्रोत र वनलाई लिएर पनि विश्वविद्यालय हुन आवश्यक छ । नेपालको भौगोलिक बनावट र सम्भावना तथा आवश्यकतालाई हेर्ने हो भने कृषि, उद्योग तथा व्यापार, वन तथा जलस्रोत, विज्ञान तथा प्रविधि र स्वास्थ्य शिक्षामा विषय केन्द्रित विश्वविद्यालयहरू हुन जरुरत छ ।

विविध किसिमका फूल, फल, झारपात, रुख तथा बिरुवा भएको बगैंचा जति सुन्दर हुन्छ, त्यस्तै बहुआयामिक विषयहरू स्थापित गरेको शिक्षा व्यवस्था पनि त्यत्तिकै सुन्दर तथा व्यावहारिक हुन्छ । यस्तो सुन्दर बगैंचा आजको अपरिहार्य आवश्यकता हो ।
२१औं शताब्दी विज्ञानले चुनौती दिइरहेको समय हो । त्यसैले विज्ञान शिक्षा बहुमूल्य छ । दक्षताको शिक्षा र विज्ञान शिक्षालाई समायोजन गरेर लैजाँदा विद्यार्थीहरू दक्ष हुन सक्थे, प्रतिभावान् हुन सक्थे । जुन काम गर्थे, त्यसबाट केही उत्पादन दिन सक्थे ।

हरेक काममा उनीहरू सफल हुन सक्थे । त्यसबाट विकास र समृद्धिको एउटा खाका तयार हुन सक्थ्यो । तर आज यस्तो हुन सकेको छैन । किनकि यहाँ विज्ञानजस्तो टेक्नोलोजिकल र प्राक्टिकल विषय पनि घोकन्ते शैलीमा शिक्षण गरिन्छ । त्यसैले यसमा दक्षता छैन । अहिले पनि हामीले कतिपय क्षेत्रमा टेक्निकल व्यक्तिहरू जस्तै– डाक्टर र इन्जिनियर उत्पादन गरेका छौं तर उनीहरूले जुन तरिकाले कम गरिरहेका छन् त्यो मूलतः दक्षतामूलक छैन ।

अन्य प्रकारका व्यक्ति र शिक्षित समुदायमा पनि दक्षताको अभाव छ । हामीले मूल्यांकन गर्ने हो भने, शिक्षाको नतिजा यस्तो भेट्छौं कि शिक्षाले पढेलेखेका जुन व्यक्ति उत्पादन गर्यो त्यो काम गर्न नसक्ने लंगडो प्रकारको भयो । त्यसैले उसले जे कम गर्छ त्यसमा दक्षता छैन । त्यो राज्यबाट वितरित खिचडी शिक्षाको नतिजा हो । जागिर नपाए पनि आफ्नै केही गरौं भन्ने पुरुषार्थपूर्ण जीवनदृष्टि छैन ।

जीवनदृष्टि नै नभएको कस्तो नागरिक तयार ग¥यौं हामीले ? आज सर्वत्र बहस बनिरहेको छ । हाम्रो देशमा पनि वैज्ञानिक उन्नति हुन सक्छ । विज्ञानका उन्नत प्रयोगशालाहरू हुन सक्छन् तर यो कुरा यहाँ अगाडि बढिरहेको छैन । विश्वमा विज्ञानले यत्रो उन्नति गरेको छ र त्यो परिवर्तनलाई हामीले समर्थन पनि गरेका छौ तर त्यसको प्रयोग गर्न सकेका छैनौं । हामी कहाँ एउटा सियो पनि बन्दैन, अरुले उत्पादन गरेका वस्तु हामी महँगो मूल्य तिरेर किनिरहेका छौं । हामी एउटा बृहत् सुन्दर बजार बनेका छौं विदेशी उत्पादनका ।

आजको शिक्षाको अवस्थाबारे अलिकति गम्भीर बहस गर्नुप¥यो, सोच्नुप¥यो, थोरै डराउनुप¥यो । अहिलेको शिक्षाले राजनीति, विकास र मानवताका क्षेत्रमा कहाली लाग्दो अवस्था निर्माण गर्दै छ । भ्रष्ट नागरिक उत्पादित गरिरहेको छ । हामीले उत्पादित नागरिकलाई उचित रोजगारी दिन सकिरहेका छैनौं । विज्ञान, प्रविधि र व्यवसाय पछाडि परेका छन् ।

यस्तै तरिकाले शिक्षा दिँदै जाने, यसरी नै विद्यालयहरूले पढाउने र यसरी नै कलेजहरू खोलिँदै जाने हो भने त्यहाँबाट उत्पादित जनशक्तिले कुनै काम पाउन सक्दैन । यदि नयाँ, कर्मशील, दक्ष, देशलाई कम लाग्ने नागरिक तथा आजको विश्वबजारमा बिक्न सक्ने नागरिक उत्पादन गर्न खोज्ने हो भने वर्तमान शिक्षामा व्यापक सुधार गरी त्यही अनुरूपको नीति निर्माण गर्नुपर्दछ ।

अबको शिक्षाले दक्ष नागरिक उत्पादित गरोस्, जसले कृषि समातेपछि कृषिमा सफलता प्राप्त गर्न सकोस्, उद्योग समातेपछि उद्योगमा सफलता प्राप्त गर्न सकोस्, व्यापार समातेपछि व्यापारमा सफलता हासिल गर्न सकोस् । उसले आफूलाई इच्छा लागेको जुन शिक्षा हासिल गर्दछ त्यसमा ऊ सफल बनोस् । यस्तो किसिमको नागरिक तयार नगरेसम्म देशको विकास हुन सक्दैन ।

अबको शिक्षामा सबैभन्दा पहिले पाठ्यक्रम सुधारको आवश्यकता छ । सानै कक्षाबाट विद्यार्थीलाई भार हुने अनावश्यक विषय हटाई तिनका स्थानमा विद्यार्थीले दक्षता हासिल गर्न सक्ने व्यावहारिक विषय राख्नुपर्दछ । निजी स्कुलहरूले तीन वर्ष नपुगेका बालबालिकालाई पुस्तकको भारी बोकाएर बालमस्तिष्कमा प्रहार गरिरहेका छन् । यो काम तत्काल रोक्न आवश्यक छ ।

आज जुन विकृति, विसंगति, भ्रष्टाचार, गरिबी, बेरोजगार तथा विकासमा गतिहीनता देखा परेका छन्, यसबाट छिटो देशलाई मुक्ति दिलाउने मूल आधार शिक्षा नै हो । यो कुरालाई जति छिटो बुझ्न र समाधान गर्न सकियो त्यति छिटो देशको काँचुली फेरिनेछ । देशले मागेको शिक्षा दिन सकियो भने सो शिक्षाको उपयोगबाट मुलुक समृद्धिको दिशातिर लम्कन लामो समय लाग्दैन । त्यसैले यसतर्फ ध्यान पु¥याउनै पर्छ ।
– खगेन्द्र थापा, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्