क्वारेन्टाइन ‘भेडिगोठ’



कोरोना संक्रमणका कारण मानव अस्तित्व नै चुनौतीमा परेको अवस्था छ । यस्तो अवस्थामा नेपालजस्तो विकासोन्मुख देशका जनताले विकसित मुलुक, युरोप, अमेरिकाजस्तो धेरै ठँलो अपेक्षा राखेका छैनन् । त्यसो भनेर सरकारले गर्नुपर्ने पँर्वतयारीबिनै कोरोना संक्रमित र सम्भावितलाई एकैथलोमा भेडिगोठमा थुनेझैं गरी राख्ने पनि होइन । यतिमात्र नभई राज्यकोषबाट हुने खर्चको लेखाजोखा र पारदर्शिता आम जनमानसको चासोको विषय बनेको छ । यतिबेला नेपालमा कोरोना संक्रमणका नाममा क्वारेन्टाइन, आइसोलेसन, ल्याब, औषधी उपकरण खरिद, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलाई भत्ता, राहत प्याकेजजस्ता नाममा कागज मात्र बनेको टिप्पणी सर्वत्र छ । क्वारेन्टाइनमा बसेका व्यक्ति संक्रमित होइनन् तर सम्भावित हुन् भन्ने कुराको बुझाइमा समेत सरकार आफै स्पष्ट नभएको देखिन्छ ।

पछिल्ला दिनमा क्वारेन्टाइनमा बसेका व्यक्ति बिरामी परेर छटपटाउँदा न त त्यहाँ कुनै स्वास्थ्यकर्मी थिए न कुनै एम्बुलेन्स नै जान माने । स्वास्थ्यकर्मी र एम्बुलेन्स समयमा पुगेन र सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको अकालमा ज्यान गयो । मृत्युपछि गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण देखियो । अर्का बाँकेका २५ वर्षीय युवाले पनि सरकारले तय गरेको क्वारेन्टाइनमा बसेकै बेला रातभरि झाडापखालाले छटपटाएर स्वास्थ्यकर्मी र एम्बुलेन्स नपाएकै कारण अकालमा ज्यान गुमाए ।

विश्व स्वास्थ्य संगठनका अनुसार क्वारेन्टाइनमा स्वास्थ्यकर्मीदेखि स्वास्थ्य सेवा र आवश्यकता पर्दा एम्बुलेन्स सेवासमेत सहजै प्राप्त हुनेगरी तय गर्नुपर्छ । सरकारले बनाएका क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत देखिन्छन् । यसको निगरानी गर्नुपर्ने निकाय स्वास्थ्य मन्त्रालयलाई अहिलेसम्म पीडादायी मानव मृत्युले छुन सकेको छैन । अब यसको निगरानी विश्व स्वास्थ्य संगठन या अन्तर्राष्ट्रिय स्वास्थ्य निकायले नै हेर्नुपर्ने हो कि ?

क्वारेन्टाइनमा बस्नु भनेको मृत्युको मुखमा पर्न नभई आफँ बाँचेर अरुलाई पनि बचाउनु हो । तर नेपाल सरकारको लापरबाहीका कारण अघिल्ला दुई घटनाबाहेक सप्तरीमा होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको पनि मृत्यु भएको छ ।

उनलाई आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला उनको मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । यसरी नै काठमाडौंको शंकरापुर नगरपालिका साँखुमा पनि एक २० वर्षीय युवतीको मृत्यु भएपछि स्वाब परीक्षणको लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईंले बताउनुभएको छ ।

कञ्चनपुरबाट आएको दिनदेखि १० दिनसम्म उनलाई इन्द्रेणीको स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा राखिएको थियो । उनको आरडीटी रिपोर्ट पनि नेगेटिभ आएपछि उनी आफन्तको घरमा गएकी थिइन् ।

क्षयरोगको समेत बिरामी रहेकी उनको स्वास्थ्य असामान्य हुँदै गएपछि साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल कलेजमा लगिएको थियो । उनको मंगलबार बिहान अस्पतालमै मृत्यु भयो ।

सरकारको कार्यशैलीको सुस्तता देख्दा क्वारेन्टिनको अस्तव्यस्तताको सामना गर्दा लकडाउनलाई निरन्तरता दिनुको उपादेयता पुष्टि हुँदैन । भेडिगोठ शैलीको क्वारेन्टिन चलाएर लकडाउन गर्नुभन्दा व्यवस्थित किसिमले खुकुलोपन अपनाउनु र उद्योग व्यवसायलाई क्रमशः खुलाउनु बुद्धिमानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्