रुकुम घटनाका दोषीलाई कारबाही नभए आन्दोलन चर्काइने



न्युज अफ नेपाल,कैलाली ।

कैलालीको बर्दगोरिया गाउँपालिकामा दलित एकता मञ्चले रुकुमको चौरजहारीमा भएको नवराज विकको हत्या प्रकरण घटनाका दोषीलाई कडा कारबाही गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेको छ ।यस गाउँपालिकामा रहेका दलित अगुवा, दलित समुदायका युवाहरुलगायतको उपस्थितिमा नारा जुलुससहित सामाजिक दूरी कायम गर्दै सो गाउँपालिकाको बौनिया बजार क्षेत्रमा व्यापक प्रदर्शन गरिएको हो ।

कार्यक्रममा बोल्दै दलित एकता मञ्चका अध्यक्ष पुस्कर सुनारले नेपालको संविधानमा जातीय विभेद गर्न नमिल्ने व्यवस्था गरिएको भएपनि व्यवहारमा संविधान लागू नगरिएकोप्रति आपत्ति जनाए । उनले संविधानमा भएको व्यवस्था व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा कैलाली जिल्ला सदस्य एवम् बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक सुनारले वर्तमान समयमा विश्वव्यापी कोरोना भाइरसको महामारी विरुद्ध संसारका मानिसहरु लडिरहेका बेला नेपालमा जातीय छुवाछुत विरुद्ध लड्नुपर्ने दुखद अवस्था रहेको बताए ।

उनले दलित समुदाय नेपालमा लामोसमयदेखी जातीय विभेद खेपिरहेको बताउँदै न्यायका लागि सम्पूर्ण दलित समुदाय एकजुट भएर बुलन्द आवाज उठाउनुपर्नेमा जोड दिए । नवराज विकको हत्यारालाई कारबाही नभए लकडाउन उल्लंघन गरेर प्रदर्शन् गरिने पनि उनले चेतावनी दिए ।

त्यस्तै बर्दगोरिया गाउपालिका कांग्रेस प्रतिनीधि एवं दलित अगुवा टेक बहादुर विकले दलित अगुवाहरुले विभिन्न पार्टीमा आस्था राखेका भएपनि दलित समुदायलाई न्याय दिलाउने कार्यमा एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।

युवा नेतृ बालकुमारी विकले रुकुम जिल्लामा दलित समुदायका नवराज विकको हत्यारालाई कडा कार्वाही नभए यसभन्दा सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिइन्।

प्रदर्शनमा सहभागीहरुले जातीय हत्या हिंसा बन्द गर, हत्यारालाई फँसी दे, कथित जातीय ब्राह्मणवाद मुर्दावाद, दलित एकता जिन्दावाद लगायतका नारा लगाएका थिए । यही जेठ १० गते रुकुमको चौरजहारीमा एक मल्ल थरकी गैह्रदलित केटीलाई विक थरको दलित केटाले प्रेम गरेर विहे गर्न खोजेको भन्दै कुटपिट गरी हत्या भएकोे थियो ।

प्रतिक्रिया दिनुहोस्